Saturday, December 5, 2009

नयाँ हजूर - ५

हजारौ सेनाका बटालिएनहरु
अर्ध शैनिक मिलिसियाहरु
लाखौ सकेट बमहरु
यल.यम.जी.हरु, जी.पी.यम.जीहरु
वा ए.के. फोर्टी सेभेनहरु
बोकेका पेशेवर लठैतहरुले
कसरी स्थापित गर्लान
निहत्था जनताको नागरिक सर्बोच्चता

बन्द गरेर नागरिकका स्वतन्त्र सडकहरु
रोकेर नागरिक यात्राका यातायातहरु
कब्जा गरेर विरोधी नागरिकका घरजग्गाहरु
नाकावन्दी गरेर निहत्था नागरिकका बस्तीहरु
थुनेर शालीन विप्लवी आवाजहरु
ए नयाँ हजूर,
कसरी कायम गर्छौ
निहत्था जनताको नागरिक सर्बोच्चता

कायम भएन भने
नयाँ हजूरले भने जस्तो नागरिक सर्बोच्चता
फेरि काटिनेछन् निहत्था मुक्तीनाथ अधिकारीका हातहरु
जलाईनेछन अरु केही थान काजोल खातुनहरु
खुकुरीले रेटिने छन केही नागरिक प्रतिनीधी यदू गौतमहरु
गठन गरेर केही प्राइभेट अदालत
फाँसी दिइनेछ दूर्गमका पत्रकार बिरेन्द्र शाहहरुलाई
केही लोकतन्त्रका शालीन आवाजहरुलाई
उडाइनेछ एम्वुसमा पारेर केही यात्रुसहितका बसहरु
लुटिनेछन केही नागरिकको स्वामित्वका बैकहरु
भाँचिनेछन् केही नारा लगाउने हातहरु
ठोकीनेछ गोली थप केही नारायण पोखरेलहरुलाई
भत्काइने छन् केही मन नपरेका अनुहारहरु
अनि घोषणा हुनेछ नागरिक सर्वोच्चता

स्थापित भएपछि
नयाँ हजूरको नागरिक सर्बोच्चता
हामीलाई मुस्कील पर्नेछ
नागरिक सर्बोच्चतालाई चिन्न
कुनै बेला त्यो सवाकरोडको सेतो पजेरो जस्तो देखिनेछ
कुनै बेला त्यो सवालाखको पलंग जस्तो देखिनेछ
कनै बेला त्यो बैठकै नबसेर लिइएको भत्ता जस्तो देखिनेछ
कुनै बेला त्यो बलपूर्वक कब्जा गरिएको ठेक्का जस्तो देखिनेछ
कुनै बेला त्यो जुँगे सुप्रीम कमा48डरको आक्रोस जस्तो देखिनेछ

ए नयाँ हजूर,
कसरी भोग्ने होला त्यो त्रासद
बिना लोकतन्त्रको नागरिक सर्बोच्चता

Wednesday, July 29, 2009

मदिरा निशेध (लघुकथा)


"भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त " सन्तरामको मदिराको गहीरो तलतल बोल्यो।
"क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, बेच्नै पाइन्न रक्सी भन्चन् काम्रेटहुरु . पार्नेलाइ नी, खानेलाइ नी र्कावाइ गर्ने भन्चन्।" पीपल बोटे कालीले लामो त्रासको श्वास फेरेर भनी।
"कसैको लुटेर खाको हैन। मेरा बाउको सम्पत्ती खाएँ त खाए भन्न पनि नपाउनू ।" भरखर लाहुरबाट आएको तेर्छापाटे कुँवरमाइलाले मनको तितो पोखे।
"बाउबाजेको चलन परंपरा पनि मान्न नपाउने कस्ता जमाना, बैशाख पूर्नेमा पनि जाँड खान नपाउनू। यस्तो त श्री तीन सरखारका पालामा पनि जानिया'थेन।" काइँला जिम्माल बाजेका बृद्ध भाई कर्णबहादुरले ससानो आवाज पारेर जंगीए।

कामरेडहरुको एकहुल हतियार सहित आएर त्यो लालपुर गाउँलाई आधार इलाका घोषणा गरेको पनि आज एकहप्ता बितिसकेको छ। प्लाटुन कमाण्डर पातालले आफ्नो आगमनको औचित्य पुष्टी गर्दै अक्सर यसो भन्ने गर्छन, ..."गाऊका जनताका मुक्तीकालागी साँस्कृतिक क्रान्ति हुन जरुरी हुन्छ। त्यसैले हामी समाजमा ब्याप्त गलत परंपराको अन्त गर्ने घोषणा गरेका छौ। अब जाँड रक्सीको अन्त भयो यो गाउँमा। पुराना सबै खाले अन्धबिश्वास र परंपरा सबै तोडिई सकेको छ। गाँऊ मुक्त भैसकेको छ।"
"क्रान्तिकारी छलांग भनेको यहि हो। केन्द्रीय सत्ता पनि कब्जा भैसकेकाले अब नेपाली क्रान्तिलाई अमेरिकाले पनि रोक्न नसक्ने" दावी पनि पातालले गरे।

गृहिणी र जनसाधारण सबैले गाँऊमा जाँडरक्सीको ब्याबहार बन्द भएकोमा खुसी ब्यक्त गरे। गाँऊमा क्रान्तिकारी कमरेडको पार्टी कमिटी बने, कामरेडहरुको यफ.यम.ले भने पछि पदाधिकारीले पनि थाहा पाए। कसैले अनौठो मानेनन्।
केही श्रीमतिहरु रक्सी खाएर कुटिनबाट जोगीए यस हप्ता, बच्चाहरुको स्कुलको फीस बाबु चाहीले भट्टीमा उडाएको कुनै गुनासो आएन। गाँउमा कामरेडहरुको यो कदमको भब्य स्वागत भयो। कुरा सहरसम्म पनि फैलियो। पाँचतारेमा वाइन पिउँदै समाजशास्त्रीले समेत यस कदमलाइ तारिफ गरे। यसलाई क्रान्तिकारीको पार्टीले ठुलो उपलब्धीको रुपमा पनि लियो।

त्यस गाउँको पुछारमा रक्सी पारेको सुराकी कमरेडको समुहसम्म पुग्न समयलाग्ने कुरै थिएन, पुग्यो। कमरेडहरु गाऊबाट हिड्ने दिन समेत यस्तो अबज्ञाको समाचार सुन्न पर्दा आक्रोशित हुदै पुच्छारे दमिनीको आगनमा हतियार सहित जम्मा भए।
"हामीले भन्दा भन्दै हाम्रो आदेशको अबज्ञा गर्ने, जाओ साथीहरु हो घरको खान तलास लेओ।" पातालको आदेश पाउनासाथ ५, ७ जना शैनिक पोषाकका युवाहरु भित्र छिरेर निमेश भरमा जाँड बनाउने ठुलो घैँटो, तमौरा, डालो, सोली, पैनी, हन्डी र तयारी दुई जर्कीन रक्सी समेत बाहिर पिडीमा निकालियो।
"ठोक्दिम, हामीले भने पछी नमान्ने? " पातालले इन्सास बन्दुकको नाल कन्चटमा तेर्साएर दमिनीलाई हकारे। बच्चाहरू डराएर दमिनीका वरिपरी झुम्मिए ।
"हिजो सम्साँझै चार, पाँच जना आ'र रक्सी नपारे मार्चम\ भने। त्यसो भने'सी जेन जोगाउन रक्सी पारेँकी हम, माराज। जेनको मयाँ लाउनी र'च, क्या'र्नी त नी। लोग्ने काँ'छन् काँ अत्तो पत्तो नभ'को एक्ली आइमाइ, केटा'टी साना छन्।'' दमिनी बोल्दा बोल्दै रोकीइ र गहभरीका आँसु बरबरती झारेर रुन थाली। दमिनीको ठुलो छोराले पोहर साल ऋण असुल्न आएको जिम्मालका लठैतले नै आमालाइ कुट्न आएको सम्झेर रून थाल्यो ।
"अझ बाहना पर्छेस् ?" पातालले क्रुद्ध हुदै भने। पातालले "यी रक्सी पार्ने भाँडा फुटाल्दे" भन्ने बित्तीकै घैँटो, हन्डी, आरी लगाएतका माटाका भाँडा आखै अगाडी धुलोपिठो भएको देखेर दमिनी कोकोहोलो हालेर रुन थाली। ससाना चारोटा बच्चाहरु पनि आमा रोएको देखेर चिच्याइ चिच्याइ रुँदा वातावरण अत्यन्त पिडादायी बन्यो।
"अब पनि रक्सी पारीस् भने यै झुप्रामा जिउँदै जलाइ दिन्छौ" भनेर धक्याउँदै तयारी रक्सीका दूइ जर्कीन बोकेर कमरेडहरु उकालो लागे।

Friday, March 20, 2009

अमूर्त यौन (लघुकथा)


“यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि ग्लस पोतिएको ओठ टोक्दै आक्रोशित भइन।”
पल्लो क्याम्पसको त्यही केटाहरूको काम हो यो। यस्तो अश्लील मूर्ति ले'राएर हाम्रो क्याम्पस अगाडि राख्ने। निर्लज्जताको पनि सीमा हुन्छ। यस्तो अश्लील मूर्तिले हाम्रो र सिङ्गै कन्या क्याम्पसको अपमान गरेको छ। सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ। यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो। मिनिस्कटमाथि सारेर अर्की नैतृ कुर्लिन। यो ल्याउने र यहाँ राख्ने दोषी पत्ता लगाएर हाम्रो अपमान गर्नेलाई कार्यवाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिइने छैन। स्ववियु सभापति नेतृले अडान लिइन।
मूर्ति लिएर आउनै ठेला चालक बचाऊ गर्दै थियौ। ए हजुर मलाई किन हात हाल्नु हुन्छ ? म त गरिब मान्छे पाएको काम गर्ने हौ। मैले एक छाक खान ठेला तान्न पर्छ मेरो के दोष छ र ? बिचरो ठेला चालकमाथि आफ्नो घरको लोग्नेसँग रिस समेत पोख्दै थिए कन्या क्याम्पसका विद्यार्थी ।सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए। कन्या क्याम्पस अगाडिको चोकमा टाएर बालिरहेको थियो । गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका सधैं कन्या क्याम्पसकै सेरोफेरोमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए।

नीलो प्लेटको कालो चिप्लो गाडी बल्दो टायरको छेउमा रोकियो । इटालेली राजदूत गाडीबाट ओर्लिए पछि बल्ल थाहा भयो “आडम एण्ड ईभ” नामक, मेकल्याज्डोलोको प्रख्यात अमूर्त कला रहेछ । त्यो मूर्ति कन्या क्याम्पसको कला विभागलाई दिएको उपहार रहेछ।

रालो (लघुकथा)


मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा मर्न लागेको बुढो मुसाले पहिला एकपल्छ जालमा पर्दा जाल काटेर बिरालोलाइ बचाएको थियो। मुसाहरूले बृद्ध मुसाको बिरालोसँगको गोप्य साँठगाँठको कुरा पनि गर्थे। बिरालाले सुन्तलाको रुखमा चढेर पाकेको सुन्तला झारेको र बृद्ध मुसालाई ख्याएर पालेको हल्ला समेत गाइँगइँ मुसाहरूमा चल्यौ। उक्त जेष्ठ मुसाका अगाडि मुख फोर्न हच्किन्थे मुसाहरू।
विरालासँग वार्तामा बस्नै जिम्मा पनि बुढो मुसालाई दिए। तपाई हाम्रो जेष्ठ प्रतिनिधि, तपाइले यस्ता धेरै विराला देख्नु भो, तपाई त विरालाहरूलाई बायाँ गौजिमा हालेर हिँड्न सक्ने युगनेता मुसो ......... मुसाहरूले तारिफ गरेपछि बृद्ध मुसो वार्ताका लागि तयार भयो। बृद्ध मुसाले सोच्यो वास्तवमा वार्ता सफल भयो भने त बन्धुघातको जो लान्छना मलाई लागेको छ सो पनि मेटिने भयो। मर्ने बेलामा सबैको श्रद्धाको पात्र हुन पाइने फेरि विरालालाई पनि आफू चानचुन मुसो नभएको र बिरालो नै पनि आफ्ना अगाडि झुकेको देखाउन पाइने दोहोरो फाइदा देखेर बृद्ध मुसो वार्तामा गयो।
बिरालाले एक गाँस परे यही फटाहा बुढो मुसालाई पार्छ ठेल्दिऊँ वार्तामा। युवा मुसाहरुको मत मिल्यो। लामो वार्तापछि, बिरालो त घाँटीमा घण्टी बाँध्न सहमत सहमत भएको संयुक्त वक्तव्य पनि जेष्ठ मुसा र बिरालाले निकाली छाडे। जेष्ठ मुसाको शानै बेग्लै ।
बृद्ध मुसाको अभिनन्दन भयो। उहाँ जीवनभरी बन्धुघात गरे पनि अहिले रुपान्तरण भएर क्रान्तिकारी भएकोमा ठूलठूला अभिनन्दन भए। बिरालोले पनि बृद्ध मुसाको महानतामा आफूलाई गौरव लागेको वक्तव्य निकाल्यो।
टुँडिखेलमा हजारौं मुसाका अगाडि घोषणा सभामा बिरालो घाँटीमा घण्टी बाँधेर हाजिर भयो। तर विरालोको घाटीमा बाँधिएको घण्टीमा “रालो” नभएको कुरा भने बृद्ध मुसालाई मात्र थाहा थियो।

Monday, February 16, 2009

हो, म बाहुन हुँ (कविता)


हो
म एक्काइसौ सताद्वीको बाहुन हुँ
जनै फालेर बिष्णु अवतारका दोवाटे टपरीमा
च्यातेर बिभेदका कर्मकाण्डहरू
अस्वीकार गर्दै कसैको भजन किर्तनका नीत्यकर्म
म अश्रुग्यासले रोइरहेको सडकको वीचमा छु
अगालो मारेर मेरै बालीघरे कामीदाईसंग
म चुच्चो नाके अनुहारको मान्छे
जनजाती आन्दोलनमा नारा घन्काउने
नयाँ यूगको आवाज हूँ
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

कुनै महाराजको काट्टो खान अस्वीकार गर्ने
कपाल नखौरने कुनै तानाशाहको मृत्यूमा
पशुपतिको ब्रह्मनालमा पनि
धर्म निरपेक्षको मस्तुल उठाउने
आफ्नै लागि आफै पञ्चेबाजा बजाउने
युगनायकका मूर्ति बनाउने
नयाँ समयको कालीगड हूँ
इतिहासमा पहिरो जान पूर्व मोफसलका बस्तीमा
कमलपित्तका विरूद्ध हाकहाल्ने
झसमिसेको म कटवाल हुँ
सिलाएर रंगिचंगी हिऊँ र
धानमा बहेली खेल्ने बतासको
थाङ्राभोटा तुन्ने दमाइ हुँ म
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

नलगाए पनि जनै
रित्ता घाँटीमा झुण्डिए पछि बाहुनबाद
छुवाछुत गरे पछि आफ्नै दाजुभाइ सँग
ए नयाँ युगका कथित मान्छे
तिमी खाट्टी पुराना बाहुन हौ
पुराना युगका खण्डहर
तर म धेरै फरक छु तिमीभन्दा
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

Wednesday, February 11, 2009

कार्यवाही सिफारिस (लघुकथा)


एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी गरेको विदेशी ठग ज्योतिषलाई पुलिसले गिरफ्तार गरेपछिको प्रतिकृया दिदैं थिए सोही राष्ट्रिय दैनिकको पत्रकार महोदय।

वास्तवमा भन्ने हो भने, लोकतन्त्र भनेको यही हो। प्रेसले इस्यू सार्वजनकि गर्ने वित्तिकै सरकारले जनताको सरोकारको विषयमा गम्भीरतापूर्वक छानविन थालेको छ। देशमा देशमा जनताको शासन हुनुको एउटा उदाहरण हो। समाचार आउने वित्तिकै कार्यवाही बढाई सकेको छ गृह मन्त्रलयले। देश र जनताको हितमा हाम्रो पार्टी कटिवद्ध छ ......। सोही मञ्चमा सत्तारुढ नेताले।

हाम्रो अथक प्रयास र निरन्तर शसक्तिकरण गर्ने अभियानको सफलताले गर्दा आज यस्ता ठग व्यक्ति पुलिसको हिरासतमा वस्न वाध्य भएका छन्। गैरसकारी संस्थाका कार्यक्रम निर्देशकलैे आफ्नो एन.जि.ओ.को लोगो देखिने गरी भिडियो खिच्न खटाइएका क्यामरा भ्यानतिर फर्केर कुर्ले। प्रतिपक्षमा रहेको एउटा सानो पार्टीको पुराना नेताले सत्तासीन दलहरुलाई यस्ता जनताको सारोकारका विषयमा गम्भिर भएर काम गरेमा आफ्नो दलले रचनात्मक सहयोग गर्ने बचन दिए। टिभिमा सो रिपोर्टिङ्ग जारी नै थियो।

अर्कोतर्फ भव्य महलमा डिएस्पी सा'बले भने टेलिभिजनमा देखिएको यी दृश्य हेर रेडलेवलको रात्री चुस्को लिदैं थिए। श्रीमतीले रोष्टेड चिकेन थप्दै भनिन, किन हो। आज त निकै खुसी देखिस्या छ नि। आन्दोलनमा गोली चलाएकालाई कार्यवाही गर्ने भन्ने रायमाझीले हल्ला चलाएर टेन्सन भा'थ्यो। आज आनन्द भा'छ। डिएस्पी साबले भने! श्रीमती पक्क परेर मुखमा हेरी मात्र रहिन। हेर बुढी त्यो ज्योतिसिकोमा जाऊ भोली के होला सोधौ भन्थिस नि! आज मैले केटाहरुलाई पठाएर यही हनुमानढोका ल्याउन पठाएर मेरा हात देखाए। कारवाही हुने ग्रह दशा नै छैन रे। म त बल्ल ढुक्क भए। डिएस्सपीले टेलिभिजनतर्फ हेर्दै थपे यस्ता स्वांठ त नेता छन्। हनुमानढोका बोलाउने बित्तिकै कार्यवाही हुन्छ भन्ठान्छन् मुर्खहरु। यस्ता नेता भएपछि पनि हामीलाई कार्यवाही हुन्छ? डिएस्पीले अर्को पेग थपे।

Wednesday, January 28, 2009

नारी आकर्षण (लघुकथा)


"होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्" होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए "छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ" । अाइन्दा "यस्तो हरकत" कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको "निकै मनोरञ्जक समाचार" बन्यो, बजारको यस समाचारलाइ "शालीन (?)" गृहिणीहरूले टिप्पणी गरे "अचेलका बच्चा उम्रिदै तिनपात !"। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ "अस्लील चलचित्रले बिगारेको" निस्कर्षमा पुगे । "केटी भने पछि केटाहरूको जातै यस्तो" क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । "पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको" ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने "क्रान्तिकारी" नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि "शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको" निस्कर्ष निकाल्यो ।

Tuesday, January 27, 2009

मैनबत्ती र केटी


मेरा हरेक कुमारी सपनाहरु
यसरीनै पग्लिरहन्छन्
जसरी पग्लिरहेछ यो मैनबत्ती
मेरा अल्पविकसित सपनाहरुमा
ह्वार्रह्वार्रती आगो लागेको देखेर
तपतप रोइरहेको छ यो मैनबत्ती
वा निकालेर बिद्रोहको अग्नीज्वाला
आफै गलिरहेछ मैनबत्ती
यही निर्क्योल गर्न पढिरहेकी छु
मेरा आदिम इतिहासका
अन्तिम पुराना पानाहरु

मलाई पोल्न मनलाग्छ
यी गतिहीन अक्षरहरु
मलाई खरानी पार्न मनलाग्छ
समयको बेगले पुराना सावित गरी सकेका
यी धर्मशास्त्र जस्ता पुराना पुस्तकहरु
व्ा बढा मास्टर सावका त्रासद धम्कीहरु
मलाई जबरजस्ती थुनिएको स्कुल
र लेख्न मनलाग्छ पग्लिदो मैनले
समयको निधारमा
किरिङ्मिरिङ एब्स्ट्रक्याक्ट भाग्यरेखाहरु

अब धेरै बाकि छैन
सकिन यो उधारो मैनबत्ती
निभेपछि एउटा समयको यो धिपधिपे ज्योति
निद्राबाट ब्यूझएको अभिनय गर्दै
अनिदोले पोलेको राता आँखाहरुमा
नबलालिमाको सौगात लिएर उठ्नेछु

खाडीको कठोर भेडीगोठबाट
उपहासको बहादुरी उभिने ढोकाबाट
मेरा माइतीहरुलाइ फर्काउन
यो विरानो समयको अन्धकार बस्तीबाट
म फेरी एकपल्ट
यो अन्तिम पत्र लेखिरहेकी छु
२० मङ्सिर २०६५

साँघुरो (लघुकथा)


त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा जुनैबेला पनि बारम्बार आइरहन्थ्यो, भुइँमा फ्यात्त बस्थ्यो र जान्थ्यो ।
उसकालागि सुत्न भनेर मैले महँगो मुल्य तिरेर गजबको पलङ किनेँ । उसैले सजिलोसंग बस्न सकोस भनेर मैले मुलायम सोफा किने। उसकै सजिलोको लागि कुर्ची र टेवलहरूको ब्यबस्था गरेँ ।
उ भान्सामा पनि जान्थ्यो, मन लागुन्जेल बस्थ्यो । उतिबेला भान्सा पनि उस्तै खालि-खाली थियो । उतिबेला म संग ग्यास चुलो वा किचेन -याक वा डाइनिङ टेवल केहि पनि थिएन । नरम बस्ने कुसनवाला कुर्ची वा त्यस्तै विलाशका कुनै सामग्री थिएनन् । मैले उसकै लागि डाइनिङ टेबल कुर्ची कुसन लगायतका सामग्री किनेँ ।
कोठामा सर सुबिधाका सामग्री थुप्रिदै जाँदा-जाँदा कोठा साँघुरो हुदै गयो । सामग्री दिनदिनै थपिँदै गए, एक पछि अर्को उसकालागि यहाँ सम्म कि अोभन, वासिङ मेसिन, फ्रीज र एसी सम्म पनि कोठामा भित्रीए । एक दिन कोठा यति सम्म साँघुरो भयो की उ स्वयम कोठामा अटाउन सकेन । उ मेरो जीवनको चीर सुख थियो। उसको वियोगको पिडामा म पुन अरू थप सामग्री कोठामा जोड्ने तैयारीमा छु ।

शालिकको मुखाकृति (लघुकथा)


–“....उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा गफिँदै थिए।

आगामी आन्दोलनको दिशा, देशका भबिश्य, अर्थतन्त्र, बिश्व कलासाहित्यको झुकाव, दर्शन र मानव बिकासको इतिहास सम्मका सबै बिषय भएका यथेष्ट बहश सकिए पछि गफ केन्द्रित भयो नेताको शालिकको मुखाकृतिको बारेमा।
यस अघि कहिलै हेेक्का नगरेका एक जना कला समिक्षक कमरेडले मुखाकृतिको बारेमा यसो सम्म भने –“यस शालिकको भावानुभुति साँच्चीकै अनौठो छ। मैले यसवारे एउटा लेखनै लेख्ने तयारीमा छु। म यसबारे “रिसर्च” गरिराछु।”
– “बास्तवमा उहाँको अनुहारमा गहिरो बेदना छ। उहाँले महासचिबवाट राजीनामा गरेको त्यो उहाँको अन्तिम महाधिबेशनमा भएको अन्तरघातको पीडा प्रतिबिम्वित भएको छ, यस शालिकमा।” एक जना राजनैतिक बिश्लेषक पत्रकार कमरेडले अमिलो मुखाकृति पार्दै भने। त्यतिबेलाको गुटबन्दिको एक झलक तत्क्षण सम्झना पनि भयो उनलाई।
– “पार्टिमा बढ्दै गएको बुर्जुवा प्रबृत्तिले दिबंगत कमरेडलाइ ज्यादै पिरोलेको थियो। जुनकुरो शालिकमा प्रष्टसँग प्रतिबिम्बित भएको छ।” पार्टीमा अलि “हार्डलाइनर”का रुपमा चिनिने कमरेडले टिप्पणी गर्दै सम्पूर्ण समस्याको जरो पत्ता लगाए झै गजक्क परे।
– “त्यसो होइन कामरेड, यस शालिकमा त उहाँको उपप्रधानमन्त्री हुँदाखेरीको सुखद अनुभुति पो प्रतिबिम्वित छ।” अर्का “मनमा पाप नभएका” मानिने कमरेडले ठट्यौली पारामा भने।
– “पहिले यो शालिकको मुखाकृति हँसिलो थियो। पार्टिले चुनाबमा हारे पछि कमरेडको भड्किएको आत्माको कारण शालिकको अनुहारमा गहिरो पीडा देखिन थालिएको छ।” गलामा मुगा र “स्टोन”का माला लगाएका केन्द्रियस्तरका नेताले निधारमा गहीरा रेखाहरु पार्दै जिकिर गरे।

उक्त शालिक बनाउँदा भारतबाट आएका एकजना कलाकारको खेतालो भएर काम गरेको डकर्मी पनि आज त्यही उपस्थित थियो। कसिलो सङ्ग हात धेरैले मिलाए पनि उसलाइ कसैले चिनेनन्। उसले बिभिन्न कमरेडका शालिकको मुखाकृतिका बारेमा कुरा सुनेर मनमनै भन्यो – “मुला देशीले पैसा नदिए पछि झ्वाँक चलेर मैले विगारी द्या'थेँ। कुरै बर्ता नेताका।” ऊ मनमनै हाँस्यो।