Friday, March 20, 2009

अमूर्त यौन (लघुकथा)


“यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि ग्लस पोतिएको ओठ टोक्दै आक्रोशित भइन।”
पल्लो क्याम्पसको त्यही केटाहरूको काम हो यो। यस्तो अश्लील मूर्ति ले'राएर हाम्रो क्याम्पस अगाडि राख्ने। निर्लज्जताको पनि सीमा हुन्छ। यस्तो अश्लील मूर्तिले हाम्रो र सिङ्गै कन्या क्याम्पसको अपमान गरेको छ। सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ। यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो। मिनिस्कटमाथि सारेर अर्की नैतृ कुर्लिन। यो ल्याउने र यहाँ राख्ने दोषी पत्ता लगाएर हाम्रो अपमान गर्नेलाई कार्यवाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिइने छैन। स्ववियु सभापति नेतृले अडान लिइन।
मूर्ति लिएर आउनै ठेला चालक बचाऊ गर्दै थियौ। ए हजुर मलाई किन हात हाल्नु हुन्छ ? म त गरिब मान्छे पाएको काम गर्ने हौ। मैले एक छाक खान ठेला तान्न पर्छ मेरो के दोष छ र ? बिचरो ठेला चालकमाथि आफ्नो घरको लोग्नेसँग रिस समेत पोख्दै थिए कन्या क्याम्पसका विद्यार्थी ।सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए। कन्या क्याम्पस अगाडिको चोकमा टाएर बालिरहेको थियो । गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका सधैं कन्या क्याम्पसकै सेरोफेरोमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए।

नीलो प्लेटको कालो चिप्लो गाडी बल्दो टायरको छेउमा रोकियो । इटालेली राजदूत गाडीबाट ओर्लिए पछि बल्ल थाहा भयो “आडम एण्ड ईभ” नामक, मेकल्याज्डोलोको प्रख्यात अमूर्त कला रहेछ । त्यो मूर्ति कन्या क्याम्पसको कला विभागलाई दिएको उपहार रहेछ।

रालो (लघुकथा)


मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा मर्न लागेको बुढो मुसाले पहिला एकपल्छ जालमा पर्दा जाल काटेर बिरालोलाइ बचाएको थियो। मुसाहरूले बृद्ध मुसाको बिरालोसँगको गोप्य साँठगाँठको कुरा पनि गर्थे। बिरालाले सुन्तलाको रुखमा चढेर पाकेको सुन्तला झारेको र बृद्ध मुसालाई ख्याएर पालेको हल्ला समेत गाइँगइँ मुसाहरूमा चल्यौ। उक्त जेष्ठ मुसाका अगाडि मुख फोर्न हच्किन्थे मुसाहरू।
विरालासँग वार्तामा बस्नै जिम्मा पनि बुढो मुसालाई दिए। तपाई हाम्रो जेष्ठ प्रतिनिधि, तपाइले यस्ता धेरै विराला देख्नु भो, तपाई त विरालाहरूलाई बायाँ गौजिमा हालेर हिँड्न सक्ने युगनेता मुसो ......... मुसाहरूले तारिफ गरेपछि बृद्ध मुसो वार्ताका लागि तयार भयो। बृद्ध मुसाले सोच्यो वास्तवमा वार्ता सफल भयो भने त बन्धुघातको जो लान्छना मलाई लागेको छ सो पनि मेटिने भयो। मर्ने बेलामा सबैको श्रद्धाको पात्र हुन पाइने फेरि विरालालाई पनि आफू चानचुन मुसो नभएको र बिरालो नै पनि आफ्ना अगाडि झुकेको देखाउन पाइने दोहोरो फाइदा देखेर बृद्ध मुसो वार्तामा गयो।
बिरालाले एक गाँस परे यही फटाहा बुढो मुसालाई पार्छ ठेल्दिऊँ वार्तामा। युवा मुसाहरुको मत मिल्यो। लामो वार्तापछि, बिरालो त घाँटीमा घण्टी बाँध्न सहमत सहमत भएको संयुक्त वक्तव्य पनि जेष्ठ मुसा र बिरालाले निकाली छाडे। जेष्ठ मुसाको शानै बेग्लै ।
बृद्ध मुसाको अभिनन्दन भयो। उहाँ जीवनभरी बन्धुघात गरे पनि अहिले रुपान्तरण भएर क्रान्तिकारी भएकोमा ठूलठूला अभिनन्दन भए। बिरालोले पनि बृद्ध मुसाको महानतामा आफूलाई गौरव लागेको वक्तव्य निकाल्यो।
टुँडिखेलमा हजारौं मुसाका अगाडि घोषणा सभामा बिरालो घाँटीमा घण्टी बाँधेर हाजिर भयो। तर विरालोको घाटीमा बाँधिएको घण्टीमा “रालो” नभएको कुरा भने बृद्ध मुसालाई मात्र थाहा थियो।