Wednesday, January 28, 2009

नारी आकर्षण (लघुकथा)


"होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्" होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए "छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ" । अाइन्दा "यस्तो हरकत" कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको "निकै मनोरञ्जक समाचार" बन्यो, बजारको यस समाचारलाइ "शालीन (?)" गृहिणीहरूले टिप्पणी गरे "अचेलका बच्चा उम्रिदै तिनपात !"। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ "अस्लील चलचित्रले बिगारेको" निस्कर्षमा पुगे । "केटी भने पछि केटाहरूको जातै यस्तो" क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । "पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको" ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने "क्रान्तिकारी" नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि "शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको" निस्कर्ष निकाल्यो ।

Tuesday, January 27, 2009

मैनबत्ती र केटी


मेरा हरेक कुमारी सपनाहरु
यसरीनै पग्लिरहन्छन्
जसरी पग्लिरहेछ यो मैनबत्ती
मेरा अल्पविकसित सपनाहरुमा
ह्वार्रह्वार्रती आगो लागेको देखेर
तपतप रोइरहेको छ यो मैनबत्ती
वा निकालेर बिद्रोहको अग्नीज्वाला
आफै गलिरहेछ मैनबत्ती
यही निर्क्योल गर्न पढिरहेकी छु
मेरा आदिम इतिहासका
अन्तिम पुराना पानाहरु

मलाई पोल्न मनलाग्छ
यी गतिहीन अक्षरहरु
मलाई खरानी पार्न मनलाग्छ
समयको बेगले पुराना सावित गरी सकेका
यी धर्मशास्त्र जस्ता पुराना पुस्तकहरु
व्ा बढा मास्टर सावका त्रासद धम्कीहरु
मलाई जबरजस्ती थुनिएको स्कुल
र लेख्न मनलाग्छ पग्लिदो मैनले
समयको निधारमा
किरिङ्मिरिङ एब्स्ट्रक्याक्ट भाग्यरेखाहरु

अब धेरै बाकि छैन
सकिन यो उधारो मैनबत्ती
निभेपछि एउटा समयको यो धिपधिपे ज्योति
निद्राबाट ब्यूझएको अभिनय गर्दै
अनिदोले पोलेको राता आँखाहरुमा
नबलालिमाको सौगात लिएर उठ्नेछु

खाडीको कठोर भेडीगोठबाट
उपहासको बहादुरी उभिने ढोकाबाट
मेरा माइतीहरुलाइ फर्काउन
यो विरानो समयको अन्धकार बस्तीबाट
म फेरी एकपल्ट
यो अन्तिम पत्र लेखिरहेकी छु
२० मङ्सिर २०६५

साँघुरो (लघुकथा)


त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा जुनैबेला पनि बारम्बार आइरहन्थ्यो, भुइँमा फ्यात्त बस्थ्यो र जान्थ्यो ।
उसकालागि सुत्न भनेर मैले महँगो मुल्य तिरेर गजबको पलङ किनेँ । उसैले सजिलोसंग बस्न सकोस भनेर मैले मुलायम सोफा किने। उसकै सजिलोको लागि कुर्ची र टेवलहरूको ब्यबस्था गरेँ ।
उ भान्सामा पनि जान्थ्यो, मन लागुन्जेल बस्थ्यो । उतिबेला भान्सा पनि उस्तै खालि-खाली थियो । उतिबेला म संग ग्यास चुलो वा किचेन -याक वा डाइनिङ टेवल केहि पनि थिएन । नरम बस्ने कुसनवाला कुर्ची वा त्यस्तै विलाशका कुनै सामग्री थिएनन् । मैले उसकै लागि डाइनिङ टेबल कुर्ची कुसन लगायतका सामग्री किनेँ ।
कोठामा सर सुबिधाका सामग्री थुप्रिदै जाँदा-जाँदा कोठा साँघुरो हुदै गयो । सामग्री दिनदिनै थपिँदै गए, एक पछि अर्को उसकालागि यहाँ सम्म कि अोभन, वासिङ मेसिन, फ्रीज र एसी सम्म पनि कोठामा भित्रीए । एक दिन कोठा यति सम्म साँघुरो भयो की उ स्वयम कोठामा अटाउन सकेन । उ मेरो जीवनको चीर सुख थियो। उसको वियोगको पिडामा म पुन अरू थप सामग्री कोठामा जोड्ने तैयारीमा छु ।

शालिकको मुखाकृति (लघुकथा)


–“....उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा गफिँदै थिए।

आगामी आन्दोलनको दिशा, देशका भबिश्य, अर्थतन्त्र, बिश्व कलासाहित्यको झुकाव, दर्शन र मानव बिकासको इतिहास सम्मका सबै बिषय भएका यथेष्ट बहश सकिए पछि गफ केन्द्रित भयो नेताको शालिकको मुखाकृतिको बारेमा।
यस अघि कहिलै हेेक्का नगरेका एक जना कला समिक्षक कमरेडले मुखाकृतिको बारेमा यसो सम्म भने –“यस शालिकको भावानुभुति साँच्चीकै अनौठो छ। मैले यसवारे एउटा लेखनै लेख्ने तयारीमा छु। म यसबारे “रिसर्च” गरिराछु।”
– “बास्तवमा उहाँको अनुहारमा गहिरो बेदना छ। उहाँले महासचिबवाट राजीनामा गरेको त्यो उहाँको अन्तिम महाधिबेशनमा भएको अन्तरघातको पीडा प्रतिबिम्वित भएको छ, यस शालिकमा।” एक जना राजनैतिक बिश्लेषक पत्रकार कमरेडले अमिलो मुखाकृति पार्दै भने। त्यतिबेलाको गुटबन्दिको एक झलक तत्क्षण सम्झना पनि भयो उनलाई।
– “पार्टिमा बढ्दै गएको बुर्जुवा प्रबृत्तिले दिबंगत कमरेडलाइ ज्यादै पिरोलेको थियो। जुनकुरो शालिकमा प्रष्टसँग प्रतिबिम्बित भएको छ।” पार्टीमा अलि “हार्डलाइनर”का रुपमा चिनिने कमरेडले टिप्पणी गर्दै सम्पूर्ण समस्याको जरो पत्ता लगाए झै गजक्क परे।
– “त्यसो होइन कामरेड, यस शालिकमा त उहाँको उपप्रधानमन्त्री हुँदाखेरीको सुखद अनुभुति पो प्रतिबिम्वित छ।” अर्का “मनमा पाप नभएका” मानिने कमरेडले ठट्यौली पारामा भने।
– “पहिले यो शालिकको मुखाकृति हँसिलो थियो। पार्टिले चुनाबमा हारे पछि कमरेडको भड्किएको आत्माको कारण शालिकको अनुहारमा गहिरो पीडा देखिन थालिएको छ।” गलामा मुगा र “स्टोन”का माला लगाएका केन्द्रियस्तरका नेताले निधारमा गहीरा रेखाहरु पार्दै जिकिर गरे।

उक्त शालिक बनाउँदा भारतबाट आएका एकजना कलाकारको खेतालो भएर काम गरेको डकर्मी पनि आज त्यही उपस्थित थियो। कसिलो सङ्ग हात धेरैले मिलाए पनि उसलाइ कसैले चिनेनन्। उसले बिभिन्न कमरेडका शालिकको मुखाकृतिका बारेमा कुरा सुनेर मनमनै भन्यो – “मुला देशीले पैसा नदिए पछि झ्वाँक चलेर मैले विगारी द्या'थेँ। कुरै बर्ता नेताका।” ऊ मनमनै हाँस्यो।