Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Saturday, October 15, 2011

सुनौलो चश्मा (लघुकथा)


अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि हाबाको गतिमा छिमेकी राजा कहाँ पनि पुग्यो।
–“मेरो देशको भविश्यको बारेमा मैले केही बर्ष सम्मको मात्र चित्र हेर्न पाएँ सबै हेर्नै पाइन, राजाका सिपाहीहरुले खोसेर लगे ।” उत्खनन गर्ने पुरातत्वविदले भने।
–“मैले मेरो आगामी दिन कस्ता होलान भन्ने कुराको जानकारी पाउँदा म निकै रोमान्चित भएँ आगतका दिनहरुको बारेमा ।” अर्का सहयोगी उत्खननकर्ताले बताए।
त्यो चश्माबाट लामो समय सम्म रहेको मेरो दीर्घरोगको समाधानको कसरी हुनसक्छ भन्ने कुराको बेली विस्तार थाहा पाएँ अर्को अनुसन्धाताले बतायो। तर त्यो चश्मा अहिले कसैले हेर्न नपाउने गरी लालपुर दरवारमा राखिएको थियो।
चश्माबाट अनौठो-अनौठो रोमान्चक दृश्य देखिएका अत्यन्त मनमोहक चर्चाहरु सार्वजनिक भएका थिए। मान्छेहरुमा निकै कैातुहलता ब्याप्त थियो चश्माका बारेमा । चश्मा खरिद गर्न ब्यापारीहरु राजाको दरवारमा लाबालश्कर लागेका खवर पनि सुनिन्थ्यो। भाडामा केही समय मात्र हेर्न भनेर निवेदन गर्नेको अर्को ठुलो लर्को दरवारमा थियो। सुनौलो चश्माका कारण सिङ्गै लालपुर अहिले अत्याधिक चर्चा र चासोको विषय भएको थियो। त्यसको मूल्य पनि निकै धेरै अनुमान गर्दै थिए विश्लेषकहरू ।
छिमेकी राजाले त्यो चश्मा कब्जा गर्न लालपुर राज्यमा आक्रमण गरे । भयानक युध्द भयो, हजारौ मान्छे हताहत भए, अरबैाको सम्पत्तीको नोक्सानी भयो। भयानक क्षति, विध्वंश र विनासको कहाली लाग्दो ताण्डब पछि छिमेकी राजाले जित हासिल गरेर चश्मा त कब्जा गरे तर उनको आँखाको हेर्ने शक्ति भने युध्दमा गुमीसकेको थियो।

कुसुम ज्ञवाली, २०६८ असोज

Saturday, September 3, 2011

प्रभु र प्रधानमन्त्री (लघुकथा)

सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म तिर आइरहेको देखेपछि म अलमलिएँ, कुनै चलचित्रको वा टिभी सिरिएलको सुटिङ होला भनेर मैले मनमनै गमेँ ।
- "ए केटा मलाइ चिनिनस् ? " साँढे तिरबाट आवाज आयो ।
- "अँ हँ चिनिन ." मैले सिधै जवाफ फर्काएँ ।
- "म भगवान शिव " । शिवजीले मुस्कुराउँदै भने ।
- "मैले कसरी पत्याउने ? घाँटिमा नक्कली होकी सक्कली हो सर्प र बाघको छाला बेरेको मान्छे पनि त हुन सक्छ "। मैले तर्क गर्दै ओँठ लेप्रेयार अपत्यार जाहेर गरेँ ।
- "लौ हेर, म एकै पल्टमा यो भत्काइदिन्छु ।" शिवले त्रिशुलको सामान्य प्रहार गर्दै सिहदरवारको गेट भताभुङ्ग हुनेगरी भत्काइदिए मेरै अगाडि ।
- "प्रभू ! मैले चिनिन बेलैमा माफी पाउँ ! " मैले हात जोरेर भनेँ ।
उनी चुपचाप मुस्कुराइ रहेँ ।
- "प्रभू ! मेरो गुनासो छ तपाइसंग ।" मैले असन्तोष जनाएँ ।
- "लौ भन् के गुनासो छ ।" शिवले मुस्कुराउँदै भने ।
- "त्यही सिहदरवारमा भा'को प्रधानमन्त्री पनि प्राविधिक म पनि प्राविधिक तर उसलाइ कति धेरै दिएको; प्रधानमन्त्री पनि उनैलाइ, महान तथा गौरवशाली पार्टीको उपाध्यक्ष पनि उनैलाइ, नयाँ पुस्ताको विश्वास पनि उनैलाइ, तर मलाइ भने गतिलो जागीर पनि नदिएको । यो त अन्याय भो'नी प्रभु ।" मैले गुनासो पोखेँ ।
- "हेर, प्रकृतिले सबैलाइ जसरी बराबरी दिन्छ त्यसै गरी हामी पनि बराबर दिन्छौ, कसैलाइ कम-बेसी गर्दैनौ । कुरा नबुझेर मात्र हो ।" शिवले संझाउन खोजे ।
- "कसरी मानूँ म ? " मैले अड्डी छोडिन ।
- "हेर केटा, मैले जापानलाइ त्यत्रो प्रगति र बैभव दिएँ तर साथमा भुकंप, सुनामी हेर । भारतलाइ त्यत्रो आर्थिक उन्नतिको अग्रसरता दिएँ साथमा भ्रष्टाचार पनि हेर । आइन्सटाइनलाइ त्यत्रो क्षमता दिएँ, उनको अनुहार हेर त कस्तो छ ? नारायण गोपाललाइ त्यति मिठो स्वर दिएँ साथमा दारूपानीको बानी पनि लगाइदिएँ । देवकोटालाइ श्रृजनशिलता र साथमा चुरोट दिएँ ।" शिवले ब्याख्या गरे ।
- "अनि हाम्रो प्रधानमन्त्रीलाइ सबै राम्रै राम्रो दिनुभएको छ त ।" मैले मेरो कुरो अगाडी सारेँ ।
- "हेर केटा तैले कुरो नबुझ्या मात्र हो, केही बढी दिएको छैन, ढापखाप मिलाएरै दिन्छु मैले, मैले तेरो प्रधानमन्त्रीलाइ धेरै क्षमता दिएको हो, जहिले पनि पहिलो हुने बनाएकै पनि हो, तर हेर्न त्यसलाइ कस्ता बटारिएका खुराफाती साथीहरू दिएको छु, हेरी राख न त्यो विचराले केही गर्न सक्दैन । ..."
शिव बोल्दाबोल्दै म झल्याँस जागेँ । झ्यालबाट मुर्दावादको चर्को आवाज आइरहेको थियो, उनै प्रधानमन्त्रीकै पार्टीका कार्यकर्ताहरू उनकै विरोधमा गरिएको नेपालबन्द सफल पार्न नारा लगाइरहेका थिए ।

कुसुम ज्ञवाली, भाद्र २०६८

Wednesday, July 29, 2009

मदिरा निशेध (लघुकथा)


"भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त " सन्तरामको मदिराको गहीरो तलतल बोल्यो।
"क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, बेच्नै पाइन्न रक्सी भन्चन् काम्रेटहुरु . पार्नेलाइ नी, खानेलाइ नी र्कावाइ गर्ने भन्चन्।" पीपल बोटे कालीले लामो त्रासको श्वास फेरेर भनी।
"कसैको लुटेर खाको हैन। मेरा बाउको सम्पत्ती खाएँ त खाए भन्न पनि नपाउनू ।" भरखर लाहुरबाट आएको तेर्छापाटे कुँवरमाइलाले मनको तितो पोखे।
"बाउबाजेको चलन परंपरा पनि मान्न नपाउने कस्ता जमाना, बैशाख पूर्नेमा पनि जाँड खान नपाउनू। यस्तो त श्री तीन सरखारका पालामा पनि जानिया'थेन।" काइँला जिम्माल बाजेका बृद्ध भाई कर्णबहादुरले ससानो आवाज पारेर जंगीए।

कामरेडहरुको एकहुल हतियार सहित आएर त्यो लालपुर गाउँलाई आधार इलाका घोषणा गरेको पनि आज एकहप्ता बितिसकेको छ। प्लाटुन कमाण्डर पातालले आफ्नो आगमनको औचित्य पुष्टी गर्दै अक्सर यसो भन्ने गर्छन, ..."गाऊका जनताका मुक्तीकालागी साँस्कृतिक क्रान्ति हुन जरुरी हुन्छ। त्यसैले हामी समाजमा ब्याप्त गलत परंपराको अन्त गर्ने घोषणा गरेका छौ। अब जाँड रक्सीको अन्त भयो यो गाउँमा। पुराना सबै खाले अन्धबिश्वास र परंपरा सबै तोडिई सकेको छ। गाँऊ मुक्त भैसकेको छ।"
"क्रान्तिकारी छलांग भनेको यहि हो। केन्द्रीय सत्ता पनि कब्जा भैसकेकाले अब नेपाली क्रान्तिलाई अमेरिकाले पनि रोक्न नसक्ने" दावी पनि पातालले गरे।

गृहिणी र जनसाधारण सबैले गाँऊमा जाँडरक्सीको ब्याबहार बन्द भएकोमा खुसी ब्यक्त गरे। गाँऊमा क्रान्तिकारी कमरेडको पार्टी कमिटी बने, कामरेडहरुको यफ.यम.ले भने पछि पदाधिकारीले पनि थाहा पाए। कसैले अनौठो मानेनन्।
केही श्रीमतिहरु रक्सी खाएर कुटिनबाट जोगीए यस हप्ता, बच्चाहरुको स्कुलको फीस बाबु चाहीले भट्टीमा उडाएको कुनै गुनासो आएन। गाँउमा कामरेडहरुको यो कदमको भब्य स्वागत भयो। कुरा सहरसम्म पनि फैलियो। पाँचतारेमा वाइन पिउँदै समाजशास्त्रीले समेत यस कदमलाइ तारिफ गरे। यसलाई क्रान्तिकारीको पार्टीले ठुलो उपलब्धीको रुपमा पनि लियो।

त्यस गाउँको पुछारमा रक्सी पारेको सुराकी कमरेडको समुहसम्म पुग्न समयलाग्ने कुरै थिएन, पुग्यो। कमरेडहरु गाऊबाट हिड्ने दिन समेत यस्तो अबज्ञाको समाचार सुन्न पर्दा आक्रोशित हुदै पुच्छारे दमिनीको आगनमा हतियार सहित जम्मा भए।
"हामीले भन्दा भन्दै हाम्रो आदेशको अबज्ञा गर्ने, जाओ साथीहरु हो घरको खान तलास लेओ।" पातालको आदेश पाउनासाथ ५, ७ जना शैनिक पोषाकका युवाहरु भित्र छिरेर निमेश भरमा जाँड बनाउने ठुलो घैँटो, तमौरा, डालो, सोली, पैनी, हन्डी र तयारी दुई जर्कीन रक्सी समेत बाहिर पिडीमा निकालियो।
"ठोक्दिम, हामीले भने पछी नमान्ने? " पातालले इन्सास बन्दुकको नाल कन्चटमा तेर्साएर दमिनीलाई हकारे। बच्चाहरू डराएर दमिनीका वरिपरी झुम्मिए ।
"हिजो सम्साँझै चार, पाँच जना आ'र रक्सी नपारे मार्चम\ भने। त्यसो भने'सी जेन जोगाउन रक्सी पारेँकी हम, माराज। जेनको मयाँ लाउनी र'च, क्या'र्नी त नी। लोग्ने काँ'छन् काँ अत्तो पत्तो नभ'को एक्ली आइमाइ, केटा'टी साना छन्।'' दमिनी बोल्दा बोल्दै रोकीइ र गहभरीका आँसु बरबरती झारेर रुन थाली। दमिनीको ठुलो छोराले पोहर साल ऋण असुल्न आएको जिम्मालका लठैतले नै आमालाइ कुट्न आएको सम्झेर रून थाल्यो ।
"अझ बाहना पर्छेस् ?" पातालले क्रुद्ध हुदै भने। पातालले "यी रक्सी पार्ने भाँडा फुटाल्दे" भन्ने बित्तीकै घैँटो, हन्डी, आरी लगाएतका माटाका भाँडा आखै अगाडी धुलोपिठो भएको देखेर दमिनी कोकोहोलो हालेर रुन थाली। ससाना चारोटा बच्चाहरु पनि आमा रोएको देखेर चिच्याइ चिच्याइ रुँदा वातावरण अत्यन्त पिडादायी बन्यो।
"अब पनि रक्सी पारीस् भने यै झुप्रामा जिउँदै जलाइ दिन्छौ" भनेर धक्याउँदै तयारी रक्सीका दूइ जर्कीन बोकेर कमरेडहरु उकालो लागे।

Friday, March 20, 2009

अमूर्त यौन (लघुकथा)


“यो त अति भयो, कहिले जिब्रो पड्काउँदै पिछा गर्ने, कहिलै भित्तामा चाहिने लेखेर टाँस्ने अब त हुँदाहुँदा यस्तो सम्म पनि गर्न लाज नमान्ने। यस्ता कुरा सहेर एक बसिँदैन, दुई बसिँदैन, तीन बसिदैँन कन्या क्याम्पसकी युवा नेतृ लिपिष्टिक माथि ग्लस पोतिएको ओठ टोक्दै आक्रोशित भइन।”
पल्लो क्याम्पसको त्यही केटाहरूको काम हो यो। यस्तो अश्लील मूर्ति ले'राएर हाम्रो क्याम्पस अगाडि राख्ने। निर्लज्जताको पनि सीमा हुन्छ। यस्तो अश्लील मूर्तिले हाम्रो र सिङ्गै कन्या क्याम्पसको अपमान गरेको छ। सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ। यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो। मिनिस्कटमाथि सारेर अर्की नैतृ कुर्लिन। यो ल्याउने र यहाँ राख्ने दोषी पत्ता लगाएर हाम्रो अपमान गर्नेलाई कार्यवाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिइने छैन। स्ववियु सभापति नेतृले अडान लिइन।
मूर्ति लिएर आउनै ठेला चालक बचाऊ गर्दै थियौ। ए हजुर मलाई किन हात हाल्नु हुन्छ ? म त गरिब मान्छे पाएको काम गर्ने हौ। मैले एक छाक खान ठेला तान्न पर्छ मेरो के दोष छ र ? बिचरो ठेला चालकमाथि आफ्नो घरको लोग्नेसँग रिस समेत पोख्दै थिए कन्या क्याम्पसका विद्यार्थी ।सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए। कन्या क्याम्पस अगाडिको चोकमा टाएर बालिरहेको थियो । गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका सधैं कन्या क्याम्पसकै सेरोफेरोमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए।

नीलो प्लेटको कालो चिप्लो गाडी बल्दो टायरको छेउमा रोकियो । इटालेली राजदूत गाडीबाट ओर्लिए पछि बल्ल थाहा भयो “आडम एण्ड ईभ” नामक, मेकल्याज्डोलोको प्रख्यात अमूर्त कला रहेछ । त्यो मूर्ति कन्या क्याम्पसको कला विभागलाई दिएको उपहार रहेछ।

रालो (लघुकथा)


मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर पनि बाँचेका मुसाहरूले विरालाको घाटीमा घण्टी झुन्ड्याउनै पर्ने माग राखे। एउटा मर्न लागेको बुढो मुसाले पहिला एकपल्छ जालमा पर्दा जाल काटेर बिरालोलाइ बचाएको थियो। मुसाहरूले बृद्ध मुसाको बिरालोसँगको गोप्य साँठगाँठको कुरा पनि गर्थे। बिरालाले सुन्तलाको रुखमा चढेर पाकेको सुन्तला झारेको र बृद्ध मुसालाई ख्याएर पालेको हल्ला समेत गाइँगइँ मुसाहरूमा चल्यौ। उक्त जेष्ठ मुसाका अगाडि मुख फोर्न हच्किन्थे मुसाहरू।
विरालासँग वार्तामा बस्नै जिम्मा पनि बुढो मुसालाई दिए। तपाई हाम्रो जेष्ठ प्रतिनिधि, तपाइले यस्ता धेरै विराला देख्नु भो, तपाई त विरालाहरूलाई बायाँ गौजिमा हालेर हिँड्न सक्ने युगनेता मुसो ......... मुसाहरूले तारिफ गरेपछि बृद्ध मुसो वार्ताका लागि तयार भयो। बृद्ध मुसाले सोच्यो वास्तवमा वार्ता सफल भयो भने त बन्धुघातको जो लान्छना मलाई लागेको छ सो पनि मेटिने भयो। मर्ने बेलामा सबैको श्रद्धाको पात्र हुन पाइने फेरि विरालालाई पनि आफू चानचुन मुसो नभएको र बिरालो नै पनि आफ्ना अगाडि झुकेको देखाउन पाइने दोहोरो फाइदा देखेर बृद्ध मुसो वार्तामा गयो।
बिरालाले एक गाँस परे यही फटाहा बुढो मुसालाई पार्छ ठेल्दिऊँ वार्तामा। युवा मुसाहरुको मत मिल्यो। लामो वार्तापछि, बिरालो त घाँटीमा घण्टी बाँध्न सहमत सहमत भएको संयुक्त वक्तव्य पनि जेष्ठ मुसा र बिरालाले निकाली छाडे। जेष्ठ मुसाको शानै बेग्लै ।
बृद्ध मुसाको अभिनन्दन भयो। उहाँ जीवनभरी बन्धुघात गरे पनि अहिले रुपान्तरण भएर क्रान्तिकारी भएकोमा ठूलठूला अभिनन्दन भए। बिरालोले पनि बृद्ध मुसाको महानतामा आफूलाई गौरव लागेको वक्तव्य निकाल्यो।
टुँडिखेलमा हजारौं मुसाका अगाडि घोषणा सभामा बिरालो घाँटीमा घण्टी बाँधेर हाजिर भयो। तर विरालोको घाटीमा बाँधिएको घण्टीमा “रालो” नभएको कुरा भने बृद्ध मुसालाई मात्र थाहा थियो।

Wednesday, February 11, 2009

कार्यवाही सिफारिस (लघुकथा)


एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ। पत्रकारले आफ्नो मतराखे। राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीकासाथ समाधानको नाममा ठगी गरेको विदेशी ठग ज्योतिषलाई पुलिसले गिरफ्तार गरेपछिको प्रतिकृया दिदैं थिए सोही राष्ट्रिय दैनिकको पत्रकार महोदय।

वास्तवमा भन्ने हो भने, लोकतन्त्र भनेको यही हो। प्रेसले इस्यू सार्वजनकि गर्ने वित्तिकै सरकारले जनताको सरोकारको विषयमा गम्भीरतापूर्वक छानविन थालेको छ। देशमा देशमा जनताको शासन हुनुको एउटा उदाहरण हो। समाचार आउने वित्तिकै कार्यवाही बढाई सकेको छ गृह मन्त्रलयले। देश र जनताको हितमा हाम्रो पार्टी कटिवद्ध छ ......। सोही मञ्चमा सत्तारुढ नेताले।

हाम्रो अथक प्रयास र निरन्तर शसक्तिकरण गर्ने अभियानको सफलताले गर्दा आज यस्ता ठग व्यक्ति पुलिसको हिरासतमा वस्न वाध्य भएका छन्। गैरसकारी संस्थाका कार्यक्रम निर्देशकलैे आफ्नो एन.जि.ओ.को लोगो देखिने गरी भिडियो खिच्न खटाइएका क्यामरा भ्यानतिर फर्केर कुर्ले। प्रतिपक्षमा रहेको एउटा सानो पार्टीको पुराना नेताले सत्तासीन दलहरुलाई यस्ता जनताको सारोकारका विषयमा गम्भिर भएर काम गरेमा आफ्नो दलले रचनात्मक सहयोग गर्ने बचन दिए। टिभिमा सो रिपोर्टिङ्ग जारी नै थियो।

अर्कोतर्फ भव्य महलमा डिएस्पी सा'बले भने टेलिभिजनमा देखिएको यी दृश्य हेर रेडलेवलको रात्री चुस्को लिदैं थिए। श्रीमतीले रोष्टेड चिकेन थप्दै भनिन, किन हो। आज त निकै खुसी देखिस्या छ नि। आन्दोलनमा गोली चलाएकालाई कार्यवाही गर्ने भन्ने रायमाझीले हल्ला चलाएर टेन्सन भा'थ्यो। आज आनन्द भा'छ। डिएस्पी साबले भने! श्रीमती पक्क परेर मुखमा हेरी मात्र रहिन। हेर बुढी त्यो ज्योतिसिकोमा जाऊ भोली के होला सोधौ भन्थिस नि! आज मैले केटाहरुलाई पठाएर यही हनुमानढोका ल्याउन पठाएर मेरा हात देखाए। कारवाही हुने ग्रह दशा नै छैन रे। म त बल्ल ढुक्क भए। डिएस्सपीले टेलिभिजनतर्फ हेर्दै थपे यस्ता स्वांठ त नेता छन्। हनुमानढोका बोलाउने बित्तिकै कार्यवाही हुन्छ भन्ठान्छन् मुर्खहरु। यस्ता नेता भएपछि पनि हामीलाई कार्यवाही हुन्छ? डिएस्पीले अर्को पेग थपे।

Wednesday, January 28, 2009

नारी आकर्षण (लघुकथा)


"होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्" होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए "छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ" । अाइन्दा "यस्तो हरकत" कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको "निकै मनोरञ्जक समाचार" बन्यो, बजारको यस समाचारलाइ "शालीन (?)" गृहिणीहरूले टिप्पणी गरे "अचेलका बच्चा उम्रिदै तिनपात !"। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ "अस्लील चलचित्रले बिगारेको" निस्कर्षमा पुगे । "केटी भने पछि केटाहरूको जातै यस्तो" क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । "पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको" ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने "क्रान्तिकारी" नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि "शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको" निस्कर्ष निकाल्यो ।

Tuesday, January 27, 2009

साँघुरो (लघुकथा)


त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा जुनैबेला पनि बारम्बार आइरहन्थ्यो, भुइँमा फ्यात्त बस्थ्यो र जान्थ्यो ।
उसकालागि सुत्न भनेर मैले महँगो मुल्य तिरेर गजबको पलङ किनेँ । उसैले सजिलोसंग बस्न सकोस भनेर मैले मुलायम सोफा किने। उसकै सजिलोको लागि कुर्ची र टेवलहरूको ब्यबस्था गरेँ ।
उ भान्सामा पनि जान्थ्यो, मन लागुन्जेल बस्थ्यो । उतिबेला भान्सा पनि उस्तै खालि-खाली थियो । उतिबेला म संग ग्यास चुलो वा किचेन -याक वा डाइनिङ टेवल केहि पनि थिएन । नरम बस्ने कुसनवाला कुर्ची वा त्यस्तै विलाशका कुनै सामग्री थिएनन् । मैले उसकै लागि डाइनिङ टेबल कुर्ची कुसन लगायतका सामग्री किनेँ ।
कोठामा सर सुबिधाका सामग्री थुप्रिदै जाँदा-जाँदा कोठा साँघुरो हुदै गयो । सामग्री दिनदिनै थपिँदै गए, एक पछि अर्को उसकालागि यहाँ सम्म कि अोभन, वासिङ मेसिन, फ्रीज र एसी सम्म पनि कोठामा भित्रीए । एक दिन कोठा यति सम्म साँघुरो भयो की उ स्वयम कोठामा अटाउन सकेन । उ मेरो जीवनको चीर सुख थियो। उसको वियोगको पिडामा म पुन अरू थप सामग्री कोठामा जोड्ने तैयारीमा छु ।

शालिकको मुखाकृति (लघुकथा)


–“....उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा गफिँदै थिए।

आगामी आन्दोलनको दिशा, देशका भबिश्य, अर्थतन्त्र, बिश्व कलासाहित्यको झुकाव, दर्शन र मानव बिकासको इतिहास सम्मका सबै बिषय भएका यथेष्ट बहश सकिए पछि गफ केन्द्रित भयो नेताको शालिकको मुखाकृतिको बारेमा।
यस अघि कहिलै हेेक्का नगरेका एक जना कला समिक्षक कमरेडले मुखाकृतिको बारेमा यसो सम्म भने –“यस शालिकको भावानुभुति साँच्चीकै अनौठो छ। मैले यसवारे एउटा लेखनै लेख्ने तयारीमा छु। म यसबारे “रिसर्च” गरिराछु।”
– “बास्तवमा उहाँको अनुहारमा गहिरो बेदना छ। उहाँले महासचिबवाट राजीनामा गरेको त्यो उहाँको अन्तिम महाधिबेशनमा भएको अन्तरघातको पीडा प्रतिबिम्वित भएको छ, यस शालिकमा।” एक जना राजनैतिक बिश्लेषक पत्रकार कमरेडले अमिलो मुखाकृति पार्दै भने। त्यतिबेलाको गुटबन्दिको एक झलक तत्क्षण सम्झना पनि भयो उनलाई।
– “पार्टिमा बढ्दै गएको बुर्जुवा प्रबृत्तिले दिबंगत कमरेडलाइ ज्यादै पिरोलेको थियो। जुनकुरो शालिकमा प्रष्टसँग प्रतिबिम्बित भएको छ।” पार्टीमा अलि “हार्डलाइनर”का रुपमा चिनिने कमरेडले टिप्पणी गर्दै सम्पूर्ण समस्याको जरो पत्ता लगाए झै गजक्क परे।
– “त्यसो होइन कामरेड, यस शालिकमा त उहाँको उपप्रधानमन्त्री हुँदाखेरीको सुखद अनुभुति पो प्रतिबिम्वित छ।” अर्का “मनमा पाप नभएका” मानिने कमरेडले ठट्यौली पारामा भने।
– “पहिले यो शालिकको मुखाकृति हँसिलो थियो। पार्टिले चुनाबमा हारे पछि कमरेडको भड्किएको आत्माको कारण शालिकको अनुहारमा गहिरो पीडा देखिन थालिएको छ।” गलामा मुगा र “स्टोन”का माला लगाएका केन्द्रियस्तरका नेताले निधारमा गहीरा रेखाहरु पार्दै जिकिर गरे।

उक्त शालिक बनाउँदा भारतबाट आएका एकजना कलाकारको खेतालो भएर काम गरेको डकर्मी पनि आज त्यही उपस्थित थियो। कसिलो सङ्ग हात धेरैले मिलाए पनि उसलाइ कसैले चिनेनन्। उसले बिभिन्न कमरेडका शालिकको मुखाकृतिका बारेमा कुरा सुनेर मनमनै भन्यो – “मुला देशीले पैसा नदिए पछि झ्वाँक चलेर मैले विगारी द्या'थेँ। कुरै बर्ता नेताका।” ऊ मनमनै हाँस्यो।

Saturday, December 27, 2008

नभाँचिने लौरो (लघुकथा)


"हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ .......... ।" सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । "लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन पनि हो । यो राजनैतिक कुरामात्र होइन । हामीले सरकार सञ्चालन गर्दा हामी एउटा पार्टीको प्रतिनिधिको रुपमा मात्र आफूलाई हेर्नु हुँदैन । आफू मन्त्रालयमा रहँदा हामी सिङ्गै देशको प्रतिनिधि हो भन्ने संझनु पर्छ । हामीले बिचार, आस्था, लिङ्ग जात, भाषा सम्प्रदाय कसैलाई पक्षपात गर्नु हुँदैन । विशाल हृदय वनाउनु पर्छ ....... ।" कमरेडको भाषणाले सबै गम्भिर भए । " जोसँग व्यवसायिक क्षमता छ त्यसलाई जिम्मा दिनुर्पर्छ ।" कमरेडले भनेका कुरामा प्रशिक्षणमा आएका कसैले विरोध गरेनन ।
www
"ए हजुर त्यो गोविन्देले बनाएको पारी गाउँको कुलो दुई महिनामा भताभुङ्ग भयो । भरत कमरेडले ठेक्का लिएर बनाएको माथ्लो गाउँको कुलो १० वर्षभयो एक ठाउँमा पहिरो गा'छैन । कामको गुणस्तर हेर्नु पर्दैन हजुर ! सबै पार्टीलाई समेट्न, अर्को पार्टीको मान्छेलाई पनि समान अवसर दिन्छौं भन्ने सन्देश दिने नाममा त्यस्ता ठग ठेकेदारलाई काम दिन उपयुक्त होला त ? ठगलाई कालोसूचीमा हालेर पो कारबाही गर्नु पर्ने होइन त हजुर ।" कान्छी श्रीमतीले कमरेडको भनाई र गराईको बीचको भिन्नतालाई विरोध गरिन ।
www
"हेर कान्छी आफ्नै पार्टीका इमान्दार कार्यकर्तालाई काम दिनुहुन्न । तीनलाई काम दिंदा कमिशन माग्यो भने मात्र पनि पार्टी कुरा उठ्छ । अनि राजनीति डामाडोल हुँदैन ? अर्को पार्टीलाई ठगनै भए पनि काम दिंदा कमिशन पनि दिन्छ । पार्टीमा कुरा पनि उठ्दैन । पत्रकारले छापे भने "पार्टीको इमेज बिगार्न अर्को पार्टीले षडयन्त्र गरेको भन्यो बच्यो । साँप पनि मर्ने लौरो पनि नभाँचिने ! बुझिस । कान्छी !" कमरेडको अनुहारमा कुटिल मुस्कान देखा पर्‍यो ।

शान्ति छाएको गाऊँ (लघुकथा)


शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।

"कत्राकत्रा व्यारेक एक्लै उडाई दिन सक्थे रे ती कमाण्डरले " एकजनाले भिडमा भन्दै थियो । " कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले" अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हेर्न मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।

"बसम काम्रेटहरु !" गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -"हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डूमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।" ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।
-"कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो" एउटा फुच्चे क्यामेरामेनले भन्यो ।
-"आमा गाउँमा कस्तो छ ? शान्ति भा'छ हैन त ?" कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।
-"असाध्यै आनन्द भा'छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।" बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।
-"हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा" कमाण्डर नेताले थपे ।
"हो बाबु अब त आनन्दै भा'छ नि । अलि कमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा'छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा'छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।" बूढीआमा फेरि उसै गरी निस्सङ्कोच मुस्कुराइन ।

Friday, November 7, 2008

अन्धविद्रोह (लघुकथा)


ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो। उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो। उसले गरुड पुराण र भागवत पुराण सुन्यो। अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्‍यो, देवी, महाकाली, सरस्वती, सीता, राधा, लक्ष्मी आदि आदि।

उसको उमेरसँगै रुचीहरु फेरिए। उसले भानुभक्त पढ्यो, लेखनाथ पढ्यो, देवकोटा पढ्यो, भूपी पढ्यो र पारीतात पढ्यो। उसले आमा पढ्यो र युवाहरुको गीता पनि पढ्यो। उसको कलाले नौलो मोड लियो। उसका चित्रकलामा पुन देवीका आकृति देखापरे तर मुहारमा भने आमाको छवि थियो। सयौं सरस्वतीका चित्रहरु पुन कोर्‍यो। ती चित्रमा दिदीका छविहरु उतार्‍यो। उसले कोरेका राधा र सीताका चित्रहरुमा उसका प्रेमीका आकृति लेख्यो। उसका चित्रहरुमा नौलो आयाम थपियो। ख्याति चुलिदै गयो। उसले मान सम्मानहरु पनि पाउँदै गयो। उसका कलाहरुले ठूलो मूल्य पाउन थाल्यो।

उसलाई डि.भि.पर्‍यो। उसले इसाई धर्म मान्ने निर्णय गर्‍यो। सम्पूर्ण हिन्दु पुस्तकहरु जलायो र वाइवल पढ्न थाल्यो। क्रमश आफ्ना कलाकृतिहरु पनि नष्ट गर्दै गयो। जलाउँदै गयो देवीका सरस्वती र दुर्गाका तस्वीरहरु। उसले दिदीको छवि भएका सरस्वतीका तस्वीर जलायो। प्रेयशीका छवि भएका सीताका तस्वीरहरु पनि जलायो।

आज हवाइजहाज चढ्ने दिन। उसले आमाका छवि भएका सरस्वतीका तस्वीरहरुका बाँकी अन्तिम पत्रहरु जलाउँदैछ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

अर्को अवतार (लघुकथा)


धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ। युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ। वादल लागेको थिएन तैपनि सपोर्ट फोर्स लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा। सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ “लङ रेञ्ज” बाट “क्लिएर” गरी डाडाँको मन्दिरमा ठूलो विस्फोटन गरेर कब्जा जमाए कमरेडहरुले।
“भत्काइदिउँ यो मन्दिर पनि! ” भाइस कमाण्डरले उनका कमाण्डरलाई सोधे। “चीनमा पनि यस्ता मन्दिरहरु भत्काइएका थिए, भत्काए हुन्छ, कमरेड।" राजनैतिक व्युरोका कमिसारले भने। आदेश पाउने वित्तीकै कामरेडहरुले मन्दिर भित्रको मूर्ति उखेलेर टुक्राटुक्रा पारी भिरबाट लडाइ दिए। “यहाँ हाम्रा सुप्रिम कमाण्डरको शालिक राख्नु पर्छ यहाँ।” छापामार महिलाले प्रस्ताव राखिन।
कुरा सबैलाई मनासिव लाग्यो। एकहप्ता भित्र कमरेडहरु बाटो लाग्दासम्म उनीहरुले त्यहाँ सर्वोच्च नेताको शालिक स्थापना गरिसकेका थिए।

मन्दिर महिना दिन सम्म बन्द रह्यो। क्रमशः मान्छेको आवत जावत मन्दिरमा बढ्दै गयो। बिस्फोटक पदार्थहरु त्यता देखा नपरे पनि मन्दिरको ढोका बन्दनै थियो अर्को महिना पनि।
बैशाख पूर्णिमामा सधैं झै मेला लाग्यो। पूजाको ठेक्का पाएका तल्ला गाउँका पूजेरी बाजेले मूर्ति फेरिएको थाहा त पाए तर बोल्न भने सकेनन। पूजा यथावत चल्यो। निरीह पशु त्यसैगरी रेटिए। भाकल गरियो। कुखुरा र बोकाहरु काटिए। रूद्री चण्डी पाठ गरियो। अचेल त्यही कमरेडको जुँगा भएको मूर्तिले धानेको छ यावत सम्पूर्ण अन्धविश्वासका श्रृङ्खलाहरू।


(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

थोत्रो घर (लघुकथा)


"हजारौ सहयोद्धाहरुको बलिदान पनि यो महानक्रान्ति भएको हो । हामीले विश्वलाई देखाइ दिनेछौं । तिनी विदेशीहरुको सहयोग नभएपनि हामीले हाम्रो मुलुकको भाग्य र भविष्य निर्माण एक्लै गर्न सक्षम छौं ।" ........ मेरा प्रिय सहयोद्धा साथीहरु हो ! हामीले कब्जा गरेको सामान्तको यो घरमा अब हाईस्कूल खोल्ने छौं ।" ....... लालसेनाका कमाण्डरको भाषण ठूलो तालिका साथ समाप्त भयो । घरधनी भागेर बेल्जिएम गएको थियो ।
"यी कोठाहरु भत्काएर ठूलो हल बनाउनु पर्छ, क्षेत्रीय स्तरका प्रशिक्षणहरु समेत गर्न सकिने गरी" भु.पु. छापामारले प्रस्ताव राखे ।

"त्यसो नगर्दा वेश हुन्छ कमरेड, बच्चाहरुको स्कूल भएकाले र धेरै वटा कक्षाकोठा चाहिने हुनाले यी स-साना कोठा ठिकै छ" जनसरकारका योजनाकारले विमती जनाए ।
"यी विलासी सोफा टेवुल भत्काएर टेवुल बनाउनु पर्छ, यी सबै सामान्तवादका चिन्हहरु हुन" जनमिलिसीया प्रमूखले प्रस्ताव राखे ।

"अफिसका लागि यी सोफा काम लाग्छ, बनाउने बजेट छैन यसैलाई रुपान्तरण गरी प्रयोग गर्नु राम्रो हून्छ ।" जनशिक्षा विभागका प्रमुखले सल्लाह दिए ।
"यो घरको ढोका दक्षिण फर्केको छ यसलाई उत्तरतर्फ फर्काउनु पर्छ" प्लाटुन कमाण्डरले सुझाव राखे ।
"यो अलि जाडो ठाउँ हो । दक्षिण मोहडा हुँदा घाम बढी लाग्छ त्यसैले बच्चाहरुको स्वास्थ्य चिसोवाट वचाउनका लागि यसलाई परिवर्तन नगरौं । वास्तुशास्त्रको अर्थमा हेर्दा पनि यो ठिकै छ ।" वास्तुविद कमरेडले विमति जाहेर गरे ।

अघिदेखि छलफल सुनेर बसेका गाजस प्रमुखलाई चित्तै बुझेन र भने- "यस पुरानो सामन्तको घरमा केही पनि परिवर्तन नगर्ने भए क्रान्तिको के अर्थ भो ? हामी कसरी क्रान्तिकारी भयौं ? क्रान्ति भनेको त परिवर्तन हो नी, यति चाडैं विर्सिदिने ?"

सबैजना गम्भिर भए । युद्धको विभिषिका उनीहरुका मानस पटलमा सिडीको चक्का झै घुम्यो ।
"यसका भित्तामा पहेंलो माटोले लिपेको छ । यसको सट्टामा रातो माटोले लिपौं । रातोमाटोको रंगले हाम्रो झण्डा र सहिदको रगतको सम्मान गर्नेछ रुपान्तरण भनेको यही हो" । योजनाविदको कुरा सबैले माने । भित्रका कुनै चिज परिवर्तन नगरी बाहिर रातो माटोले लिपियो मात्र आवरण परिवर्तन गरि नयाँ क्रान्तीका लागि स्वीकार्य भयो त्यही थोत्रो घर ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

कार्यकर्ता (लघुकथा)


चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।

हतासले मान्छेहरु आत्महत्या गर्लान भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ। यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो। सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने। उसले सबैलाई पछि लगाएर उकालो लाग्यो। बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन। तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो।

उकालिदैं जाँदा घण्टौ वितेपनि कुनै बाटो भेटिएको थिएन नेता आफैं त्रस्त भएको थियो। नेताले एउटा धमिलो छायाँ देख्यो। ऊ छायाँतर्फ बढ्दा थाहा पायो त्यो छायाँ मान्छेको रहेछ। त्यो मान्छेले नेतालाई म पथप्रदर्शनमा सहयोग गर्छु भन्यो। मलाई बाटो थाहा छ भनेर डोहोर्‍याउँदै लग्यो पनि। लैजाँदा लैजाँदा क्रमश अध्यारो कम हुँदै गयो। अलिअलि उज्यालो हुन लागेपछि नेताले देख्यो डोहोर्‍याउने मान्छे त अन्धो रहेछ।

अन्धोले नेतालाई डाहोर्‍याएको रहेछ भन्ने थाहा पाएपछि नेता बनेको व्यक्तिको यथार्थ पक्ष उजागर हुने डरले नेता स्वयमले पनि आफ्नो आँखा बन्द गरेर अन्धो बनेको नक्कल गर्न थाल्यो। पछि लागेका मान्छेहरुले आँखा बन्द किन गर्ने भनेर प्रश्न गरे नेताले उज्यालोतर्फ जान त्यसै गर्नु पर्छ भनेर तर्क गर्‍यो। उसका पछि लागेर उज्यालो नजिक आईपुगेका सन्दर्भमा मान्छेहरुले नेताको विश्वास पनि गरे, अनि आफ्ना सद्दे आँखा बन्द गरेर नेताको हात समातेर डोर्‍याईदै पछि पछि लागिरहे।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Thursday, November 6, 2008

सम्बिधान (लघुकथा)



परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं गरिब विद्यार्थीहले निःशुल्क पढ्थे, सयौं गरिबहरु उपचार गरिन्थ्यो।
उनी अक्सर पैदल हिड्थे, बस चढ्थे बढीमा। उनले अलिकति सुविधा त्यागेर समाजमा समर्पित हुन उनका आफ्ना सहकर्मीहरुलाई समेत आग्रह गर्थे। उनको समाजसेवी संस्थाका कसैलाई पनि सुख सयलको जीवन नविताउन निर्देशन दिन्थे। स्वयं त्यागका प्रतिमूर्तिका अगाडि जो पनि नतमस्तक हुन्थे। यसरी उनको गरिबी विरुद्धको सशक्तिकरण अभियानले निकै ठूलो सफलताहरु पाएको थियो।
उनले बारम्बार आफ्ना कार्यकर्ताहरुलार्य भन्थे ट्याक्सीमा नचढ्नु, बसमा चढ्नु। ती महान ऋषिका कुरा काट्न कसैले पनि सक्ने कुरा थिएन। उनले आफ्ना अनुभवहरु उपदेश ढुङ्गामा खोपेर कार्यालयमा टाँसेका पनि थिए। उनका अनुयायीका लागी यो यो अकाट्य संविधान थियो। उनको अवसान पछि त्यस संस्थाका एक जना व्यक्ति प्रभुत्व बने। व्यक्तिगत सुखसयल छोडेर सामाजिक सेवामा जुट्ने मान्छे कार ट्याक्सी नचढ्नु भन्ने संस्थाका संस्थापक गुरुका उपदेश कसैले काट्ने कुरा भएन।
संस्थाका नयाँ प्रमुख अचेल बसमा मात्र यात्रा गर्छन। तर बस भने सुविधा सम्पन्न बेडरुम र “इन्टरटेनमेन्ट रुम” सहितको बिशेष खालको छ। त्यसमा संस्थाका नयाँ प्रमुख मात्र एक्लै चढ्ने त्यो बसलाई करौडौं पर्छ र दर्जनौ कारलाई पुग्ने ईन्धन त्यो बस एक्लैलाई चाहिन्छ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Thursday, October 30, 2008

शान्ति छाएको गाऊँ (लघुकथा)


शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।
www
"कत्राकत्रा व्यारेक एक्लै उर्डाई दिन सक्थे रे ती कमाण्डरले "एकजनाले भिडमा भन्दै थियो । कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले" अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हर्ेन मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।
www
"बसम काम्रेटहरु !" गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -"हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डुंमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।" ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।
-"कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो" एउटा फुच्चे क्यामेरामेनले भन्यो ।
-"आमा गाउँमा कस्तो छ ? शान्ति भा'छ हैन त ?" कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।
-"असाध्यै आनन्द भा'छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।" बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।
-"हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा" कमाण्डर नेताले थपे ।
"हो बाबु अब त आनन्दै भा'छ नि । अलिकमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा'छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा'छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।" बूढीआमा फेरि उसै गरी मुस्कुराइन ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

गणतन्त्रको संस्कृति (लघुकथा)


लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।
www
लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -"मैले पनि अब त्यस भू.पु.राजालाई "तँ" भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु " ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र "बिन्ति" चढायो । प्रवेश गर्न "अनुमति निगाहा" भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । "ए बले किन आईस यहाँ" । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -"मौसुफको पाऊमा दर्शन गर्न महाराज !" बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Sunday, October 12, 2008

भगवान (लघुकथा)


सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो - पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ?
भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो ।
गजल रेस्टुरेन्टमा '........... पिछे क्या हे' भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । 'किन लजाको सन्ते ?' हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्‍यो 'म बिखर्ची भएँ राजा ! बिहानदेखि केही खान पाएकै छैन '
'तैँले बियर पनि खान पाइनस - हिक्क ! हिक्क !!'
'एक गाँस पनि खान पाइनँ हजुर !'
'ला, खा ! भोड्का खा' उसले पचास रुपैयाँको नोट निकालेर दियो । सन्तेले निष्कर्ष निकाल्यो - 'मन्दिरमा भन्दा भगवान् त बरु भट्टीमा पो हुँदा रहेछन् आजकल । ए भगवान पनि यता सरेछन् अचेल '

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

ठूलो मान्छेको रोग (लघुकथा)


'बाबा ! हाम्री मालिक्नी सा'बले हाम्री आमाले झैं भात पकाउनु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो काम गर्छन् कहीँ '
'बाबा ! मालिक्नी सा'बले तपाईलेझैं कारखानामा काम गर्नु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो मजदुरी गर्छन् त'
'बाबा ' मालिक्नी सा'बले हाम्रो दाइलेझैँ स्कूलमा पढाउनुहुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि त्यस्तो जाबो मास्टरी गर्न हुन्छ कहीँ '
'त्यसो भए रातो गाडी, ठूलो पाँचतल्ले घर र त्यत्तिका पैसा कसरी पाउनुहुन्छ त बाबा ?'
'उहाँ समाजसेवा गर्नुहुन्छ । अनि 'बिजनेश' गर्नुहुन्छ, ठूला-ठूला चीजको ।'
  
'हेलो !'
'हेलो ! सपनालाई पाउँ न ।'
'उहाँ बाहिर पाल्नुभा'छ । आधा घण्टा पछि पाल्नुहुन्छ । केही भन्नु पर्ने भए मर्जीहोस् । म यहाँको पाले ।'
'ए उही पुरानै ठाउँमा आउनु भन्नु, म त्यहीँ कालो गाडी पठाइदिन्छु ।'
  
मालिक्नीलाई अब कहिल्यै निको नहुने रोग लागेर हस्पिटलले पनि निकालिदियो भन्ने सुनियो ।
'बुवा ! मालिक्नी साहेबलाई कस्तो रोग लागेको ?'
'छोरी ! तिमीले बुझदिनौ, ठूलो मान्छेलाई ठूलो रोग लाग्छ क्या !'



(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)