Friday, October 10, 2008

शहीदले बिर्सेको गाउँ (लघुकथा)


भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ ।

'आमा, भित्र को हुनुहुन्छ ?'

'छोरा आइस्, बाबू !' बुढी आमा भित्रबाट बोलिन् । असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन् । नियालेर हेरिन् । बरर आँसु झारेर भनिन् -'म त छोरो आएछ भनेर झुक्किएँ !' 'बास पाइन्छ आमा ?'

'बास किन नपाउनु आफ्नै छोराजस्तो नानीलाई ।' छाप्रो नछाएको दुई वर्ष भयो । पानी चुहिन्छ, श्राप नदिए है यो बूढीलाई मर्ने बेलामा । नानी मसँग यही बासी मकैको रोटी छ । नमिठो छ कसरी निल्छौं ? तर अलिकति भए पनि खाऊ है नानी, साँझको पाउनो, यो बूढीलाई पापमा नपार है !' 'छोरो कहाँ गएको नि आमा ?' मैले कुरा झिकेँ । 'जुलुस उठ्ने बर्षमेरो लुरे पल्ला गाउँका मास्टर नानीसँग देश गएको फर्केन नानी ! मलाई बिस्र्यो । तिम्लाई देखेर मास्टर नानीको झझल्को आयो । मास्टर नानी पनि सहराँ ठूला मान्छे भा'का छन् रे । उनी दुब्ला पातला थिए, तिमी मोटा छौं । उनी देश जन्ता के के जातिका कुरा गर्थे । उनी शीर ठाडो पारेर हिँड्थे । तिमी टाउको झुकाएर कुरा गर्र्छौ । फरक यति हो । ' म चुपचाप सुनिरहेँ, बढी आमा भन्दै गइन् । 'भोलि त तिमी सहराँ जान्छौं । मेरो लुरेलाई भेटेर मेरो खबर भने है नानी ! मर्ने बेलामा एकपल्ट लुरेको मुख हेर्ने धोको छ । मेरो लुरेले सहराँ ठूलो मान पा'को छ रे ! राजाभन्दा पनि ठूलो मान ! थाहा छ नानी, शहीद भएको छ रे मेरो छोरा ! पोहोरसालबाट महिनाको आठ बीस रुप्पे पठाइदिन्छ प्रधानपञ्च नानीको हात । लुरेका बाबु मुग्लान भासिएपछि घरबारी साहुले बन्धक खायो । त्यो निखन्न महिनाको पाँच बीस रुप्पेंले पुग्छ त नानी ? आमाको मुख हेर्न एकपल्ट त घर र्फकन पर्छ नि ! म भने बाटो हेरेर आशामा बाँचेकी छु । छाप्राको दुःख लुरेले बिर्से जस्तो छ नानी, लुरेलाई सम्झाइ दिए है ! पैसा र मानको अभिमानले आमाको आँसुको अपमान गर्‍यो भने समयले नराम्रो दण्ड दिन्छ ।'

म बिहान झिसमिसेमा ओरालो लागेँ । असी बर्षो बूढा आँखाले आफ्ना अगाडीका मास्टर नानीलाई ठम्याउन सकेनन । कठै बूढी आमा कहाँ हिजोको भूमिगत मास्टर, कहाँको आजको ठूलो पार्टीको बिशिष्ठ नेता तथा सांसद ! मलाई शहीदकी आमाको वेदनाले र सहयात्री लुरेको सम्झनाले पोलिरहृयो, बिझाइरहृयो निरन्तर निरन्तर।



(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

2 comments:

Krishna Dev Rimal said...

Namaste kusum sir
I read all these sound creations.
I want to be your "chhimeki".
This is my home.
www.kdrimal.blogspot.com.
pls come.

COOLMAN said...

sir im from jec civil i also show the interest on the litreture la sir college ma bhetaula.