Sunday, October 12, 2008

ठूलो मान्छेको रोग (लघुकथा)


'बाबा ! हाम्री मालिक्नी सा'बले हाम्री आमाले झैं भात पकाउनु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो काम गर्छन् कहीँ '
'बाबा ! मालिक्नी सा'बले तपाईलेझैं कारखानामा काम गर्नु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो मजदुरी गर्छन् त'
'बाबा ' मालिक्नी सा'बले हाम्रो दाइलेझैँ स्कूलमा पढाउनुहुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि त्यस्तो जाबो मास्टरी गर्न हुन्छ कहीँ '
'त्यसो भए रातो गाडी, ठूलो पाँचतल्ले घर र त्यत्तिका पैसा कसरी पाउनुहुन्छ त बाबा ?'
'उहाँ समाजसेवा गर्नुहुन्छ । अनि 'बिजनेश' गर्नुहुन्छ, ठूला-ठूला चीजको ।'
  
'हेलो !'
'हेलो ! सपनालाई पाउँ न ।'
'उहाँ बाहिर पाल्नुभा'छ । आधा घण्टा पछि पाल्नुहुन्छ । केही भन्नु पर्ने भए मर्जीहोस् । म यहाँको पाले ।'
'ए उही पुरानै ठाउँमा आउनु भन्नु, म त्यहीँ कालो गाडी पठाइदिन्छु ।'
  
मालिक्नीलाई अब कहिल्यै निको नहुने रोग लागेर हस्पिटलले पनि निकालिदियो भन्ने सुनियो ।
'बुवा ! मालिक्नी साहेबलाई कस्तो रोग लागेको ?'
'छोरी ! तिमीले बुझदिनौ, ठूलो मान्छेलाई ठूलो रोग लाग्छ क्या !'



(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

No comments: