Thursday, November 6, 2008

सम्बिधान (लघुकथा)



परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं गरिब विद्यार्थीहले निःशुल्क पढ्थे, सयौं गरिबहरु उपचार गरिन्थ्यो।
उनी अक्सर पैदल हिड्थे, बस चढ्थे बढीमा। उनले अलिकति सुविधा त्यागेर समाजमा समर्पित हुन उनका आफ्ना सहकर्मीहरुलाई समेत आग्रह गर्थे। उनको समाजसेवी संस्थाका कसैलाई पनि सुख सयलको जीवन नविताउन निर्देशन दिन्थे। स्वयं त्यागका प्रतिमूर्तिका अगाडि जो पनि नतमस्तक हुन्थे। यसरी उनको गरिबी विरुद्धको सशक्तिकरण अभियानले निकै ठूलो सफलताहरु पाएको थियो।
उनले बारम्बार आफ्ना कार्यकर्ताहरुलार्य भन्थे ट्याक्सीमा नचढ्नु, बसमा चढ्नु। ती महान ऋषिका कुरा काट्न कसैले पनि सक्ने कुरा थिएन। उनले आफ्ना अनुभवहरु उपदेश ढुङ्गामा खोपेर कार्यालयमा टाँसेका पनि थिए। उनका अनुयायीका लागी यो यो अकाट्य संविधान थियो। उनको अवसान पछि त्यस संस्थाका एक जना व्यक्ति प्रभुत्व बने। व्यक्तिगत सुखसयल छोडेर सामाजिक सेवामा जुट्ने मान्छे कार ट्याक्सी नचढ्नु भन्ने संस्थाका संस्थापक गुरुका उपदेश कसैले काट्ने कुरा भएन।
संस्थाका नयाँ प्रमुख अचेल बसमा मात्र यात्रा गर्छन। तर बस भने सुविधा सम्पन्न बेडरुम र “इन्टरटेनमेन्ट रुम” सहितको बिशेष खालको छ। त्यसमा संस्थाका नयाँ प्रमुख मात्र एक्लै चढ्ने त्यो बसलाई करौडौं पर्छ र दर्जनौ कारलाई पुग्ने ईन्धन त्यो बस एक्लैलाई चाहिन्छ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

No comments: