वियोगको असीम पीडा साँचेर छाती भरि
सदियौ देखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
वाफिएका आक्रोसका नीर विन्दु भित्र
निथु्रक्क रूझेका परेला मुन्तिर
अथाह कोलाहल हुनुपर्थ्यो वियोगको मध्यान्हमा
प्रतिशोध उम्लेर छातीका कडा भित्ताहरूबाट
शक्तिशाली विष्फोट उठ्नुपर्थ्यो रातका आघातहरूमा
क्षितिजको पल्लोछेउसम्म लामबद्ध उभिएका छन्
युद्धका सिपाहीहरू आफैलाई अड्याएर बन्दुकको मुखनेर
सदियौदेखि मान्छेहरू मौनधारण गर्ने गरेका छन् ।
मौनताको अनन्त साम्राज्यमा
मान्छेका मौनतावाट थाकेका पहाडहरू
बल गरेर चिच्याउँछन्
तर, आवाजहरू मान्छेका
नाङ्गा पाइतलामुनि किचिन्छ पल―पल
र मौनताको साम्राज्य अझ विस्तृत बन्छ।
आज केही मौनताहरू
मित्रताको हत्केलाहरूमा छन्
स्वागतका आँखाहरूमा छन्
केही मौनताहरू रगतका बगाइहरूमा छन्
विद्रोहका ढुकढुकीहरूमा छन्।
किनकि सदियौदेखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
असीम पीडाका अनुभूतिहरूमा।
(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)
No comments:
Post a Comment