Saturday, October 15, 2011

सुनौलो चश्मा (लघुकथा)


अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि हाबाको गतिमा छिमेकी राजा कहाँ पनि पुग्यो।
–“मेरो देशको भविश्यको बारेमा मैले केही बर्ष सम्मको मात्र चित्र हेर्न पाएँ सबै हेर्नै पाइन, राजाका सिपाहीहरुले खोसेर लगे ।” उत्खनन गर्ने पुरातत्वविदले भने।
–“मैले मेरो आगामी दिन कस्ता होलान भन्ने कुराको जानकारी पाउँदा म निकै रोमान्चित भएँ आगतका दिनहरुको बारेमा ।” अर्का सहयोगी उत्खननकर्ताले बताए।
त्यो चश्माबाट लामो समय सम्म रहेको मेरो दीर्घरोगको समाधानको कसरी हुनसक्छ भन्ने कुराको बेली विस्तार थाहा पाएँ अर्को अनुसन्धाताले बतायो। तर त्यो चश्मा अहिले कसैले हेर्न नपाउने गरी लालपुर दरवारमा राखिएको थियो।
चश्माबाट अनौठो-अनौठो रोमान्चक दृश्य देखिएका अत्यन्त मनमोहक चर्चाहरु सार्वजनिक भएका थिए। मान्छेहरुमा निकै कैातुहलता ब्याप्त थियो चश्माका बारेमा । चश्मा खरिद गर्न ब्यापारीहरु राजाको दरवारमा लाबालश्कर लागेका खवर पनि सुनिन्थ्यो। भाडामा केही समय मात्र हेर्न भनेर निवेदन गर्नेको अर्को ठुलो लर्को दरवारमा थियो। सुनौलो चश्माका कारण सिङ्गै लालपुर अहिले अत्याधिक चर्चा र चासोको विषय भएको थियो। त्यसको मूल्य पनि निकै धेरै अनुमान गर्दै थिए विश्लेषकहरू ।
छिमेकी राजाले त्यो चश्मा कब्जा गर्न लालपुर राज्यमा आक्रमण गरे । भयानक युध्द भयो, हजारौ मान्छे हताहत भए, अरबैाको सम्पत्तीको नोक्सानी भयो। भयानक क्षति, विध्वंश र विनासको कहाली लाग्दो ताण्डब पछि छिमेकी राजाले जित हासिल गरेर चश्मा त कब्जा गरे तर उनको आँखाको हेर्ने शक्ति भने युध्दमा गुमीसकेको थियो।

कुसुम ज्ञवाली, २०६८ असोज

Saturday, September 3, 2011

प्रभु र प्रधानमन्त्री (लघुकथा)

सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म तिर आइरहेको देखेपछि म अलमलिएँ, कुनै चलचित्रको वा टिभी सिरिएलको सुटिङ होला भनेर मैले मनमनै गमेँ ।
- "ए केटा मलाइ चिनिनस् ? " साँढे तिरबाट आवाज आयो ।
- "अँ हँ चिनिन ." मैले सिधै जवाफ फर्काएँ ।
- "म भगवान शिव " । शिवजीले मुस्कुराउँदै भने ।
- "मैले कसरी पत्याउने ? घाँटिमा नक्कली होकी सक्कली हो सर्प र बाघको छाला बेरेको मान्छे पनि त हुन सक्छ "। मैले तर्क गर्दै ओँठ लेप्रेयार अपत्यार जाहेर गरेँ ।
- "लौ हेर, म एकै पल्टमा यो भत्काइदिन्छु ।" शिवले त्रिशुलको सामान्य प्रहार गर्दै सिहदरवारको गेट भताभुङ्ग हुनेगरी भत्काइदिए मेरै अगाडि ।
- "प्रभू ! मैले चिनिन बेलैमा माफी पाउँ ! " मैले हात जोरेर भनेँ ।
उनी चुपचाप मुस्कुराइ रहेँ ।
- "प्रभू ! मेरो गुनासो छ तपाइसंग ।" मैले असन्तोष जनाएँ ।
- "लौ भन् के गुनासो छ ।" शिवले मुस्कुराउँदै भने ।
- "त्यही सिहदरवारमा भा'को प्रधानमन्त्री पनि प्राविधिक म पनि प्राविधिक तर उसलाइ कति धेरै दिएको; प्रधानमन्त्री पनि उनैलाइ, महान तथा गौरवशाली पार्टीको उपाध्यक्ष पनि उनैलाइ, नयाँ पुस्ताको विश्वास पनि उनैलाइ, तर मलाइ भने गतिलो जागीर पनि नदिएको । यो त अन्याय भो'नी प्रभु ।" मैले गुनासो पोखेँ ।
- "हेर, प्रकृतिले सबैलाइ जसरी बराबरी दिन्छ त्यसै गरी हामी पनि बराबर दिन्छौ, कसैलाइ कम-बेसी गर्दैनौ । कुरा नबुझेर मात्र हो ।" शिवले संझाउन खोजे ।
- "कसरी मानूँ म ? " मैले अड्डी छोडिन ।
- "हेर केटा, मैले जापानलाइ त्यत्रो प्रगति र बैभव दिएँ तर साथमा भुकंप, सुनामी हेर । भारतलाइ त्यत्रो आर्थिक उन्नतिको अग्रसरता दिएँ साथमा भ्रष्टाचार पनि हेर । आइन्सटाइनलाइ त्यत्रो क्षमता दिएँ, उनको अनुहार हेर त कस्तो छ ? नारायण गोपाललाइ त्यति मिठो स्वर दिएँ साथमा दारूपानीको बानी पनि लगाइदिएँ । देवकोटालाइ श्रृजनशिलता र साथमा चुरोट दिएँ ।" शिवले ब्याख्या गरे ।
- "अनि हाम्रो प्रधानमन्त्रीलाइ सबै राम्रै राम्रो दिनुभएको छ त ।" मैले मेरो कुरो अगाडी सारेँ ।
- "हेर केटा तैले कुरो नबुझ्या मात्र हो, केही बढी दिएको छैन, ढापखाप मिलाएरै दिन्छु मैले, मैले तेरो प्रधानमन्त्रीलाइ धेरै क्षमता दिएको हो, जहिले पनि पहिलो हुने बनाएकै पनि हो, तर हेर्न त्यसलाइ कस्ता बटारिएका खुराफाती साथीहरू दिएको छु, हेरी राख न त्यो विचराले केही गर्न सक्दैन । ..."
शिव बोल्दाबोल्दै म झल्याँस जागेँ । झ्यालबाट मुर्दावादको चर्को आवाज आइरहेको थियो, उनै प्रधानमन्त्रीकै पार्टीका कार्यकर्ताहरू उनकै विरोधमा गरिएको नेपालबन्द सफल पार्न नारा लगाइरहेका थिए ।

कुसुम ज्ञवाली, भाद्र २०६८