Thursday, July 25, 2013

नर्थ सास्काच्यून रिभर




-    कुसुम ज्ञवाली


कडा परिश्रम पछि मजदुरीको
लखतरान परेर थाकेको
कुनै प्राज्ञ-प्रवासी जस्तै
लमतन्न सुतेको छ सहरको वीचमा
गहुँगोरो नर्थ सास्काच्युन रिभर

आफ्नै छाति कुल्ची हिडेपनि,
गंगाको जस्तो मान मनितो नपाए पनि,
न कुनै अमुक कामना छ,
न कुनै अदृश्य निहित चाहना छ
बस, हम्की रहन्छ चीसा मनहरूलाइ
नयाँ र पुराना कसैलाइ पनि
भेदभाव गर्दैन नर्थ सास्काचून रिभर

उत्तर र दक्षिणलार्इ
स्थापित र संघर्षरतहरूलाइ
घर हुने र डेरा बस्नेहरूलाइ
विभाजन गरेको रोप
खेपेको छ नर्थ सास्काच्यून रिभर

बगरमा भाडो बोकेर आउनेहरूलाइ मात्र
पानी दिन सक्छ नदी
कहिलै भाडो बोकेर नदी नधाउनेहरूको
डिस्क्रिमीनेसनको रोप
चुपचाप स्विकारेको छ
नर्थ सास्काचुन रिभर

बनाएर ससानो माटाको थुम्को
विशाल पहाडको अगाडी
गुट बन्दी गर्दैन कहिलै
नर्थ सास्काच्यून रिभर

न कसैको खुट्टा तान्छ,
न कसैको खोइरो खन्छ
बाढी उर्लेर उने भेलको विधिले
हानेका दुबै किनारा नहेरी
कुनै एउटा किनाराले
फुलाइ अन्याय गरेको
विना पूर्वाग्रह दोश खेप्छ
नर्थ सास्काचुन रिभर

राजनीति गर्दैन नदी
फट्याइ जान्दैन नदी
विधीको प्रकृया बाहेक
धावा बोल्दैन बगरहरूमा
जब जब दिक्क लाग्छ
बस्तीका फरेबहरू संग
नदीलाइ सहि सक्नु हुदैन
डुवाइ दिन्छ क्याग्गरीका गाउँहरू
नर्थ सास्काच्यून रिभर

कुनै मिथकीय कथाका
शिसुपाललाइ भन्दा बढी
क्षमा दिन सक्छ अपमानको
तर सधै सधै चुपचाप
हेपाइ र प्रहार किमार्थ सहदैन
नर्थ सास्काच्यून रिभर

किनकी चुपचाप बसेको
नदीका धार भित्र
लाखौ भोल्टको करेन्ट हुन्छ,
बुझ्नुपर्छ बेलैमा
हेरेर क्याल्गरिको डुवान
आफुलाइ सर्बज्ञानी ठान्ने मान्छेहरूहो
मुटुसम्म पुग्ने
चीसो झड्का दिन नपरोस
नर्थ सास्काच्युन रिभरले
-भानु जयन्ति २०७०
एडमन्टन क्यानडा
(नर्थ सास्काच्यून रिभर एडमन्टनको वीचवाट बग्छ ।)