Saturday, December 27, 2008

नभाँचिने लौरो (लघुकथा)


"हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ .......... ।" सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । "लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन पनि हो । यो राजनैतिक कुरामात्र होइन । हामीले सरकार सञ्चालन गर्दा हामी एउटा पार्टीको प्रतिनिधिको रुपमा मात्र आफूलाई हेर्नु हुँदैन । आफू मन्त्रालयमा रहँदा हामी सिङ्गै देशको प्रतिनिधि हो भन्ने संझनु पर्छ । हामीले बिचार, आस्था, लिङ्ग जात, भाषा सम्प्रदाय कसैलाई पक्षपात गर्नु हुँदैन । विशाल हृदय वनाउनु पर्छ ....... ।" कमरेडको भाषणाले सबै गम्भिर भए । " जोसँग व्यवसायिक क्षमता छ त्यसलाई जिम्मा दिनुर्पर्छ ।" कमरेडले भनेका कुरामा प्रशिक्षणमा आएका कसैले विरोध गरेनन ।
www
"ए हजुर त्यो गोविन्देले बनाएको पारी गाउँको कुलो दुई महिनामा भताभुङ्ग भयो । भरत कमरेडले ठेक्का लिएर बनाएको माथ्लो गाउँको कुलो १० वर्षभयो एक ठाउँमा पहिरो गा'छैन । कामको गुणस्तर हेर्नु पर्दैन हजुर ! सबै पार्टीलाई समेट्न, अर्को पार्टीको मान्छेलाई पनि समान अवसर दिन्छौं भन्ने सन्देश दिने नाममा त्यस्ता ठग ठेकेदारलाई काम दिन उपयुक्त होला त ? ठगलाई कालोसूचीमा हालेर पो कारबाही गर्नु पर्ने होइन त हजुर ।" कान्छी श्रीमतीले कमरेडको भनाई र गराईको बीचको भिन्नतालाई विरोध गरिन ।
www
"हेर कान्छी आफ्नै पार्टीका इमान्दार कार्यकर्तालाई काम दिनुहुन्न । तीनलाई काम दिंदा कमिशन माग्यो भने मात्र पनि पार्टी कुरा उठ्छ । अनि राजनीति डामाडोल हुँदैन ? अर्को पार्टीलाई ठगनै भए पनि काम दिंदा कमिशन पनि दिन्छ । पार्टीमा कुरा पनि उठ्दैन । पत्रकारले छापे भने "पार्टीको इमेज बिगार्न अर्को पार्टीले षडयन्त्र गरेको भन्यो बच्यो । साँप पनि मर्ने लौरो पनि नभाँचिने ! बुझिस । कान्छी !" कमरेडको अनुहारमा कुटिल मुस्कान देखा पर्‍यो ।

शान्ति छाएको गाऊँ (लघुकथा)


शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।

"कत्राकत्रा व्यारेक एक्लै उडाई दिन सक्थे रे ती कमाण्डरले " एकजनाले भिडमा भन्दै थियो । " कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले" अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हेर्न मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।

"बसम काम्रेटहरु !" गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -"हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डूमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।" ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।
-"कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो" एउटा फुच्चे क्यामेरामेनले भन्यो ।
-"आमा गाउँमा कस्तो छ ? शान्ति भा'छ हैन त ?" कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।
-"असाध्यै आनन्द भा'छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।" बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।
-"हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा" कमाण्डर नेताले थपे ।
"हो बाबु अब त आनन्दै भा'छ नि । अलि कमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा'छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा'छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।" बूढीआमा फेरि उसै गरी निस्सङ्कोच मुस्कुराइन ।

Friday, December 19, 2008

गजल


भोकभोकै बस्नुपर्छ, एक्लै सबै खान्छु भन्दा
उल्टैलाग्छ आफैंलाई, अरुलाई हान्छु भन्दा

निर्दोशलाई बाँध्न खौज्दा, आफ्नै खुट्टो नेलमा पर्छ
आफ्नै जमिन धस्किनेछ, सबको खुट्टो तान्छु भन्दा

पराजय निश्चित छ, वैर गर्यौ सबै सित
भासिनेछौं तिमी आफैं, एक्लै पहाड थाम्छु भन्दा

अति गरे खति हुन्छ, भन्थे बुढापाकाहरु
समयले खोस्छ सधै, एक्लै सबै लान्छु भन्दा

बन्दुकले जित्ने हैन, मन जित्ने ठूलो मान्छे
आफ्नो सीमा तोक आजै, जनताले मान्छु भन्दा

Monday, November 17, 2008

समवेदनाका सन्देशहरू (कविता)


हरेक विहान झसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू

म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन संझन्छु
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु
समवेदनाको सास्कृतिक उत्सवमा
नीरोको नेपाली बासुरिहरू
शंखको कर्कश एकोहोरो आवाजहरू
मृत्युवेदनाका शतिप्रथाकालिन
एकोहोरो पञ्चेवाजाहरू
पुन पुन सुन्न उद्यत हुन्छु

किनकि हरेक विहान राजमार्गमा
लस्कर लागेका यात्रीहरू नेर
ससस्त्र वुद्धका मूर्तीहरू देखेर
हतार हतार न्यायालय पुग्दा
साक्षीको कठघरामा असरल्ल जल्न वाँकी हन्छन्
गीताका अन्तिम पानाहरू

हरेक बिहान
हेरेर आफ्नै समवेदना सन्देश
म चुपचाप उभिएकी छु
जिजीविषाका याचनातीत
एकजोर आखाहरू बोकेर


(यो मेरो नयाँ रचना हो ।प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Friday, November 7, 2008

हो, मैले तिमीलाई नै भोट दिएँ (कविता)


हो,
मैले तिमीलाई नै भोट दिएँ
तिमीलाई खुवाउँदा खुवाउँदै
घरमा अन्नको गेडो बाँकी थिएन
ऋण नतिरे साहुले घर छोड्न भन्यो,
छोराले पठाएको पैसा नदिए
तिमीले घर छोड्न भन्यौ,
मर्न काल आएन
जन्मेको माटो छोड्न सकिन
यसपल्ट मेरो अहो भाग्य
अब कहिलै केहि नमाग्ने सर्तमा
तिमीले जावो एउटा भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मेरो बास जोगाउनका लागि
मसँग तिमीलाई दिन बाँकि
अरू केहि थिएन
●●●
मेरो लुरेका बाबुलाई तिमीले लगेका हौ
मैले मेरा खसमको हाल खबर मागिन
मैले मेरा देवताको लाश वा श्वास मागिन
तिमीले बैकवाटै लुटेको
मेरो मंगलसूत्र सम्म पनि मागिन
तिमीले टाट्नाको खसी माग्यौ
तिमीले कुखुराको भाले माग्यौ
मेरो बस्ने झुप्रो पनि माग्यौ
मसँग भएका यावत चीज माग्यौ
हामीले नाईनास्ति गर्न कहिले पो पायौ र
भए पनि नभए पनि टक्रयायौ
यसपल्ट मेरो अहो भाग्य
अब कहिलै केहि नमाग्ने सर्तमा
तिमीले जावो एउटा पैसै नपर्ने भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
मेरो गास जोगाउनका लागि
मसँग तिमीलाई दिन
अरू केहि बाँकि थिएन
●●●
बृद्धभत्ता ल्याई दिने डाँडाघरेको पनि
कसले खुट्टा भाँचिदियो रे
भोट माग्न यसपल्ट कोहि गाँऊ छिरेन
यो चैतेदशैंको लागि अक्षताका लागि
चामल पनि थिएन
धन्य टिका थापिमाग्न आएनछौ
मलाई त आशिर्वाद र श्रापमा भेद थिएन
यसपल्ट मेरो अहोभाग्य
अब कहिलै केहि मागेर नपिरोल्ने सर्तमा
तिमीले जावो पैसै नपर्ने एउटा भोट माग्यौ
हो,
मैले तिमीलाई नै भोट दिएँ
ज्यान जोगाउनका लागि
मसँग तिमीलाई दिन
अरू केहि बाँकि थिएन
●●●


(यो मेरो नयाँ रचना हो ।प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

सद्दाम र हामीहरू (कविता)


सद्दाम!
हामी फाँसी दिदैनथ्यौं तिमीलाई
दर्जनौ मान्छेको हत्या गर्ने
नरभक्षी शासकलाई पनि हामी
ससम्मान दरवारमा बस्न दिएर पाल्छौं
उसैका सेवामा टक्र्याउँछौ
करोडौंमान्छेका रगत र पसीना
दुजेल नभए दोरम्बा-सुखानी छन् हामीसँग
तेलका कुवा नभए पानीका छहरा छन् हामीसँग
वाज उड्ने समुद्री किनारा नभए
वीर छाति माथीको टिङ्गकरमा
विदेशी सैनिकका बंकरहरु छन् हामीसँग

तिमीले सत्तामा टिक्न यहाँ
चुनावको नाटक सम्म पनि गर्नु पर्दैनथ्यो
मान्छे मार्नका लागि विदेशी हतियार बोकेर बाजहरु
आफै तिमी कहाँ आउँथे
उनीहरुनै तिमीहरुलाई
आम नरसंहारको तालिम दिन्थे
पशु जस्ता खैराहरु वदमासहरू
अधिकारवादका नाटक मञ्चन गर्न उतैबाट आउथे
उनीहरुले खाने हरियो घाँस पनि उतैबाट आउथ्यो
ती घाँस खाने खसीले
विरोध जस्तै देखिने गरी समर्थन गर्थे
तर,
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम!
●●●
हामीले एउटा आयोग बनाउथ्यौ
कार्यवाहीका गुड्डी हाक्थ्यौ क्रान्तिकारी भाषण गर्थ्यौ
अनि तिम्रो अग्लो दरवारका अगाडी
हाम्रो त्यो लिलिपुट आयोग
मुसाको आवाजमा वेस्सरी डुक्रन्थ्यो
तिमी मस्त निद्रामा घुरेको आवाज सुन्दा डराएर
हाम्रो आयोगले तिमीलाई सिफारिस गरेको सजायँको दफा
रातारात हटाउँथ्यो आफ्नै प्रतिवेदनबाट
तिमीलाई “डामेको साँढे” जस्तै सडकमा निस्पि्कक्री छोड्थ्यौ
अनि 'साँढे छोड्नु हाम्रो संस्कृति हो' भन्दै
हामी निर्लज्ज सडकमा वकालत गर्दथ्यौ
तिमीलाई केही कार्यवाही हुँदैनथ्यो सद्दाम !
●●●
वाजहरुको आफ्नो राष्ट्र हुदैन
उनीहरूलाई मन पर्दैन राष्ट्रवाद
कुल्चेर कुनैपनि मानवताका सीमाहरू
वाजले जिउँदो मान्छेलाई
लाश घोषणा गर्छ र लूछ्छ
तिमीले जेसुकै अपराध गरे पनि
राष्ट्रवादी हुनु हुँदैनथ्यो वाजका अगाडि !
आफ्नै शरीरको मासु खान खोजे पनि
तीनै हिंस्रक फटाहा वाजले
तिमीले धपाउनु हुदैनथ्यो रे उसलाई
बरु सट्टामा तिमीले अरु सयौं शरिरको
मासु खान छुट पाउथ्यौ

सद्दाम!
अब तिमी कहिल्यै नेपालमा नजन्म
किनकी तिमीलाई हतियार दिने
नरसंहारको विभत्स योजना दिने
अखण्ड सहयोग दिने
तिम्रा अत्याचारलाई मान्यता दिने
तिम्रा तानाशाहीलाई सहारा दिने
नयाँ क्रान्तिका नाममा निहत्थाका हातखुट्टा भाँच्न दिने
अमानवताको सट्टामा
हामी लोकतान्त्रिक गणतन्त्र ल्याएकाछौं

त्यसपछि
न तिमी जन्मिनेछौ हाम्रो धर्तिमा
न तिमीलाई जन्माउनेहरू जन्मिनेछ हाम्रो धर्तिमा
मात्र नयाँ यूगीन बुद्धहरु जन्मिनेछन्
हाम्रो प्यारो धर्तिमा

(यो मेरो नयाँ रचना हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

शौचालय – २ (कविता)


लुछेर वस्तीका हजारौं
कुमारी युवतिका कोमल अंगहरू
बटुलेपछि धार्नीका धार्नी अवैध सून
बनाउँछन् बादशाहहरूले सुनैसुनका शौचालय
अनि पार्टी कार्यालय जस्ता घरका मालिकहरू
निस्कन्छन् हरेक दिन पूजा गर्न त्यो शौचालय
सकेपछि त्यो प्राचीन शौचालयको नवीन पूजा
हठात फोहोर गर्न छिर्छन मान्छेहरू
स्कुल वा सार्वजनिक इनार तिर
●●●
माफ गर्नोस् किसान दाई
हामीले ल्याएको व्यानरमा
कुनै पार्टीको मात्र नारा लेखिएको छैन
निहत्था श्रष्टाहरूको यो जुलुस
कुनै 'बन्द' का लागि पनि होइन
हामी खोल्नका लागि हिडेका हौं
युगौं देखिका अवरूद्ध निकासहरू
हामी त सफा गर्न हिंडेका हौं
हरेक शक्ति केन्द्रलाई संक्रमित गर्ने
सताद्धीयौ देखिका दुर्गन्धित शौचालयहरू!

(यो मेरो नयाँ रचना हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

मौरी (कविता)


हो सताब्दीयौँ देखि निरन्तर
मौरीको घारमा रहन्छे रानी
तर पनि त्यहाँ हुदैन कुनै प्रकारको राजतन्त्र

आफ्नै सन्तानलाई दुध चुसाउन मौरीले
धाई राख्दैनन् घारमा
खानैले खाई मात्रै रहने
काम गर्नेले गरिमात्र रहने गरी
बोक्रे सम्झौतामा मेलमिलाप गर्दैनन् मौरीहरू
गुटगत नीलो स्वार्थले घारहरूमा कहिलै विभाजन हुदैन
घारमा नयाँ रानी विदेशी चलखेलबाट पनि बनाईदैन

साहू बाले हिजो मौरी पढाउँथे हामीलाई
सिकाउँथे विद्रोहहीन श्रमका कथा
सेरेमोनियल बाजेले आज पनि
अगाडि राखेर मौरीको रानी
निर्लज्ज सिकाउँदैछन् श्रीपेचसंग राष्ट्रियताका कुरा
अपूर्ण कथा हालेर कर्मीमौरीको
वकालत गर्छन मृत शान्तीको
ए बाजे, घरैमा मौरी पाल्ने किसानहरूका अगाडि
अब सम्भब छैन झूठ बोल्न

मौरीहरू स्वतन्त्र घुम्छन साझा फूलवारीहरूमा
मौरीहरूले डर मान्दैनन् जमिनदारका धनी पूर्जाहरूसंग
कुनै कानूनले रोक्न सक्दैन जङ्गलमा बस्ने आदिबासी जस्तै
स्वतन्त्र विचरण गर्न मौरीहरूलाई
भिन्न भिन्न जातका मौरीहरूमा पनि
जातीय पहिचानको द्वन्द्व छैन
सबै मौरीहरूले स्वछन्द गतिमान हुन गुनगुनाउँछन्
एउटै अन्तराष्ट्रिय गीत
सृजनाका अभियानमा सहजै प्राणआहुति गर्छन
दासताका अर्चना लेख्न सक्दैनन् मौरीहरू
हो सताब्दीयौँ देखि निरन्तर
मौरीको घारमा रहन्छे रानी
तर पनि त्यहाँ हुदैन कुनै प्रकारको राजतन्त्र

(यो मेरो नयाँ रचना हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

अन्धविद्रोह (लघुकथा)


ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो। उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो। उसले गरुड पुराण र भागवत पुराण सुन्यो। अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्‍यो, देवी, महाकाली, सरस्वती, सीता, राधा, लक्ष्मी आदि आदि।

उसको उमेरसँगै रुचीहरु फेरिए। उसले भानुभक्त पढ्यो, लेखनाथ पढ्यो, देवकोटा पढ्यो, भूपी पढ्यो र पारीतात पढ्यो। उसले आमा पढ्यो र युवाहरुको गीता पनि पढ्यो। उसको कलाले नौलो मोड लियो। उसका चित्रकलामा पुन देवीका आकृति देखापरे तर मुहारमा भने आमाको छवि थियो। सयौं सरस्वतीका चित्रहरु पुन कोर्‍यो। ती चित्रमा दिदीका छविहरु उतार्‍यो। उसले कोरेका राधा र सीताका चित्रहरुमा उसका प्रेमीका आकृति लेख्यो। उसका चित्रहरुमा नौलो आयाम थपियो। ख्याति चुलिदै गयो। उसले मान सम्मानहरु पनि पाउँदै गयो। उसका कलाहरुले ठूलो मूल्य पाउन थाल्यो।

उसलाई डि.भि.पर्‍यो। उसले इसाई धर्म मान्ने निर्णय गर्‍यो। सम्पूर्ण हिन्दु पुस्तकहरु जलायो र वाइवल पढ्न थाल्यो। क्रमश आफ्ना कलाकृतिहरु पनि नष्ट गर्दै गयो। जलाउँदै गयो देवीका सरस्वती र दुर्गाका तस्वीरहरु। उसले दिदीको छवि भएका सरस्वतीका तस्वीर जलायो। प्रेयशीका छवि भएका सीताका तस्वीरहरु पनि जलायो।

आज हवाइजहाज चढ्ने दिन। उसले आमाका छवि भएका सरस्वतीका तस्वीरहरुका बाँकी अन्तिम पत्रहरु जलाउँदैछ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

अर्को अवतार (लघुकथा)


धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ। युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ। वादल लागेको थिएन तैपनि सपोर्ट फोर्स लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा। सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ “लङ रेञ्ज” बाट “क्लिएर” गरी डाडाँको मन्दिरमा ठूलो विस्फोटन गरेर कब्जा जमाए कमरेडहरुले।
“भत्काइदिउँ यो मन्दिर पनि! ” भाइस कमाण्डरले उनका कमाण्डरलाई सोधे। “चीनमा पनि यस्ता मन्दिरहरु भत्काइएका थिए, भत्काए हुन्छ, कमरेड।" राजनैतिक व्युरोका कमिसारले भने। आदेश पाउने वित्तीकै कामरेडहरुले मन्दिर भित्रको मूर्ति उखेलेर टुक्राटुक्रा पारी भिरबाट लडाइ दिए। “यहाँ हाम्रा सुप्रिम कमाण्डरको शालिक राख्नु पर्छ यहाँ।” छापामार महिलाले प्रस्ताव राखिन।
कुरा सबैलाई मनासिव लाग्यो। एकहप्ता भित्र कमरेडहरु बाटो लाग्दासम्म उनीहरुले त्यहाँ सर्वोच्च नेताको शालिक स्थापना गरिसकेका थिए।

मन्दिर महिना दिन सम्म बन्द रह्यो। क्रमशः मान्छेको आवत जावत मन्दिरमा बढ्दै गयो। बिस्फोटक पदार्थहरु त्यता देखा नपरे पनि मन्दिरको ढोका बन्दनै थियो अर्को महिना पनि।
बैशाख पूर्णिमामा सधैं झै मेला लाग्यो। पूजाको ठेक्का पाएका तल्ला गाउँका पूजेरी बाजेले मूर्ति फेरिएको थाहा त पाए तर बोल्न भने सकेनन। पूजा यथावत चल्यो। निरीह पशु त्यसैगरी रेटिए। भाकल गरियो। कुखुरा र बोकाहरु काटिए। रूद्री चण्डी पाठ गरियो। अचेल त्यही कमरेडको जुँगा भएको मूर्तिले धानेको छ यावत सम्पूर्ण अन्धविश्वासका श्रृङ्खलाहरू।


(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

मौनधारण (कविता)


वियोगको असीम पीडा साँचेर छाती भरि
सदियौ देखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
वाफिएका आक्रोसका नीर विन्दु भित्र
निथु्रक्क रूझेका परेला मुन्तिर
अथाह कोलाहल हुनुपर्थ्यो वियोगको मध्यान्हमा
प्रतिशोध उम्लेर छातीका कडा भित्ताहरूबाट
शक्तिशाली विष्फोट उठ्नुपर्थ्यो रातका आघातहरूमा
क्षितिजको पल्लोछेउसम्म लामबद्ध उभिएका छन्
युद्धका सिपाहीहरू आफैलाई अड्याएर बन्दुकको मुखनेर
सदियौदेखि मान्छेहरू मौनधारण गर्ने गरेका छन् ।

मौनताको अनन्त साम्राज्यमा
मान्छेका मौनतावाट थाकेका पहाडहरू
बल गरेर चिच्याउँछन्
तर, आवाजहरू मान्छेका
नाङ्गा पाइतलामुनि किचिन्छ पल―पल
र मौनताको साम्राज्य अझ विस्तृत बन्छ।

आज केही मौनताहरू
मित्रताको हत्केलाहरूमा छन्
स्वागतका आँखाहरूमा छन्
केही मौनताहरू रगतका बगाइहरूमा छन्
विद्रोहका ढुकढुकीहरूमा छन्।
किनकि सदियौदेखि मान्छेहरू
मौनधारण गर्ने गरेका छन्
असीम पीडाका अनुभूतिहरूमा।

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

मोतिको प्याला र जुठो मदिरा (कविता)


साँझ,
नीलो मोतिको प्यालाका कम्मरमा
आवद्ध हुन्छन् सुनका सिक्रीहरू
छातिमा सजिएका हुन्छन हिराका कलात्मक टुक्राहरू
भरिएको हुन्छ त्यसैमा बेजोड स्वादिलो स्थानीय मदिरा
यसरी समुस्कान स्वागतमा उभिन्छे
एउटी छल्किन तयार प्याला
हरेक प्यासीसाँझका आवेगहरूनेर !

विहान,
तिर्थयात्रीको पदचापले ब्यूँझँदा झसमिसेमा
वरिपरि असरल्ल हुन्छन्
वेवारिस जुठा मोतिका प्यालाहरू
म स्वयं उठाउन सक्तिन
जुठा मोतिका प्यालाहरूमा बाँकी
सस्तो स्थानीय मदिराको स्वादिलो थेग्रो
हठात्, छोडेर ती अनमोल प्यालाहरू नै
पावन जलको नाममा
अलिकति कालो बागमती प्यूछु
पवित्र भनिएको सस्तो काँचको प्यालामा

बोकेर कलसमा पवित्र जल
फर्कदै गर्दा घाटहरूबाट
अलमलिएर रोकिन्छु दोबाटोमा
मदिराको मादक गन्धसँगै
पछ्याएर मुस्कानको इसारा
मैले हरेक पल्ट विराउँछु
मन्दिर जाने बाटो
अनि रोज्छु मद्शालाको नीलो गोरेटो

दिउँसो,
ज्यासलमा बसेर घोटिरहदाँ सधैं झैं कसीमा
कुनै लजालु प्रेमीको पानपाते स्वर्णहार
मलाई कदाचित याद हुन्छ
साँझको एकप्याला मुस्कान
एक अंगालो थकान
स्वादिलो मदिराको थेग्रो
नीलो मोतिका बेवारिस जुठा प्यालाहरू
(भाद्र १५, २०६१)

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

पानी (कविता)


नचल्ने घोषणा गर्दैमा बराजुले
पानी अचल हुन सक्तैन
बादलका कोमल गुल्थाहरूले पनि
पानी बनेर सहजै भत्काउँछन्
प्रतिवन्धका चट्टानी कानूनहरू

लाग्दो हो बराजूलाई देखेर अग्ला बाँधहरू
आदेशहरूले अविछिन्न थुन्न सकिन्छ पानीलाई
पातले छाँगाबाट हाम फाल्दा लाग्दो हो वराजुलाई
एकै चिहानमा गाड्न सकिन्छ सहजै पानीलाई
बोकेर पनि छातिमा आगो
शान्त र ठन्डा भएरै बग्छ पानी
निस्कँदा अविराम संघर्षयात्रामा खोला-खोल्साहरूमा पानी
ठट्टा गर्छ असारका ब्यस्त रोपाहारहरूसँग

अराजक मानिदैन पानीले नमान्दा पनि कुनै
शक्तिका अकाट्य सिमानाहरू
समुन्द्रको शालीन गाम्भीर्य नाप्न सकिएको
मानक गहिराइ हो
पानी थुन्न खोज्दाखोज्दै पहिरोका लामा हातहरूले
पहिरोमै बगेका छन् कैयौं घमन्डी पहाडहरू
भासीएको सेतीको पानीसंग मान्छेले नभेटेको
लज्जाको गहनता हुन्छ
पूराणले रङ्ग घोल्दैमा पानीमा
पानी कहिल्यै रङ्गिएन उन्मादले

हराउँछन् पढ्न नभ्याउँदै पानीमा लेखिएका
सिमानाका आकारहरू
तिनै अक्षरहरूका लागि
भयानक युद्ध लडे मान्छेहरूले
युद्ध समाप्तीको टेवुलमा
नभेट्दा पानीमा कुनै आकृति
पानी कहिलै दोशी मानिन सक्तैन

बराजु ! तिमीले पढ्न सकेनौ भनेर
संघर्षका गतिशील पानीयात्रा
गतिहिन बन्न सक्तैन पानी
बुझ्न नसकेपछि ओजोनका प्वालहरू
ग्रहण पखाल्न सक्तैन पानीले
पानी परिभाषित हुदैन
पूराना जंगली गीतहरूले

नवजात शिशुलाई नुहाई दिंदा
पानीमा अलिकति आमा बग्छे
खसीरहँदा नशामा स्फटिक स्लाइनको प्रवाह
पानीमा अलिकति प्रेयसी बग्छे
भञ्ज्याङ्गमा प्यास मेटाउँदा भरियाको
पानीमा अलिकति जीवन बग्छ

त्यसैले
छिमेकीले देख्ने गरी मलाई पानीको इतिहास लेख्न देऊ
झुप्राको वस्ती नडुब्ने गरी मैदानमा
मलाई पानीको आत्मावृत्तान्त लेख्न देऊ
सपनाहरूको राजधानी हो पानी
मलाई गहिरो आस्थाले सलाम गर्न देऊ।

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

नयाँ हजूर - १


धोएर जल खानका लागि त
महाराजहरूकै खुट्टा प्रसस्तै थिए
मलाई किन चाहियो अब
नयाँ हजूरका नयाँ खुट्टाहरू
बिहानै चाकडीमा लाईन लाग्न त
ठुला ठुला दरबारहरू छदैथिए
मलाई किन चाहियो हरेक दिन हातमल्दै घुम्नकै लागि
नयाँ हजूरको भरखरै बनाएको राजधानीको अग्लो घर

मेरा मुखमा कोच्नका लागि त प्रयाप्तै थिए
पुराना मालिकहरूले तयार पारेका
थोत्रा कानुनका एकथुप्रो पुस्तकहरू
ए, नयाँ हजूर मलाई किन चाहियो
नानीहरूको आलो रगत कट्कटीएको
तिम्रो प्राइभेट अदालतको फैसलाको मिसिल

मैले तानेर थाकेको छु
महाराजका दूर्गन्धित बग्गीहरू
ओ, नयाँ हजूर मलाई किमार्थ रहर छैन
फेरि तिम्रो डोले बन्न
भजन गाउनका लागि त
पुराना महाराजहरूले प्रसस्तै
स्वतन्त्रता निगाहा बक्सिएकै थियो
गाउनकै लागि त मलाई किन चाहियो
नयाँ हजूरको नाममा
रिमिक्स गरिएका पुराना भजनहरू

निहत्था करङ् भाँच्नकै लागि त
पुराना हजूरहरूले संगठित गरेकै थिए
निर्मम कठबाँस र अमानवीय बर्दीहरू
ए, नयाँ हजूर मलाई थप किन चाहियो
शालीन इतिहासबाट आयातित
नयाँ हजूरका अभद्र भाटा र अन्धा बन्दुकहरू
बन्धक बनाउन त हाम्रा कुमारीसपनाहरू
पुराना मालिकहरूका बिदेशी खाताहरू प्रसस्तै थिए
ए नयाँ हजूर मलाई चाहिएन
जबरजस्ति लुटेका कलिला सपनाहरू
मलाई साच्चीकै मुक्ति चाहियो
सम्पूर्ण मुक्ति चाहियो
नयाँ हजूरको नयाँ नङ्ग्रा र पन्जाहरूबाट

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

झार र झारहरू (कविता)


डम्म फैलिएका छन् सदियौं देखि
फूलबारीमा थरिथरिका झारहरू
तुलसी उखेलिने डरले
हिन्दुहरू झार नउखेल्न भन्छन्
जीवहत्याको डरले
वौद्धहरू झार नउखेलौ भन्छन्
कुरान साक्षी राखेर
मुस्लिम मरूभूमिमा झार बचाऔं भन्छन्
चिहानमा रोपेका विरूवा उखेलिने डरले
इसाई झार नउखेल्न भन्छन्
यसरी नउखेलिदा झारहरू बर्षौसम्म
अचेल झारहरू जुलुस गरी रहेछन्
फूलहरू विस्थापित फूलबारीमा

कहिलै माली बन्न नसकेका बन्दुकहरूले
फुल जसरी फूलेका झारहरू देखाएर
फूलबारीमा आरक्षण मागेका छन्
पेशेवर खैरा सिकारीहरू
देखाएर वातावरणका कुरा
झार जोगाउन उपदेश दिइरहेकाछन्
एक हुल छद्म खेलाडीहरू
खेलका लागि मैदानमा झार हुनैपर्छ भन्छन्
अर्को कुनाबाट चर्न निस्केका एकहुल ध्वंसक पशुहरू
उठाउँदै गाँसको गम्भीर प्रश्न
मैदानमा झार रहनै पर्छ भन्छन्
झार उखेल्ने वर्कत हराएको
एउटा बृद्ध आलंकारिक किसान
भोका सन्ततीको अग्रपङ्तीमा
झारै झारले ढाकेका बाँझो खेतनेर
पुर्ख्यौली मौजाबाट लखेटिएको जमिनदार जस्तै
अलमल्ल उभिएको छ

झारका व्यवसायीहरू हडपेर किसानका मञ्चहरू
देखाउँदै फूलजस्तै देखिने झारहरू
आँखा थुनेर चर्को स्वरले भनिरहेछन्
कहिले अन्त हँदैन झारहरूको
– खेतमा बारीमा वा बाटोमा
– मन्दिरमा घरमा वा अफिसमा
– टावरमा पुलमा वा बाँधमा

के हामी चुपचाप हेरिरहन सक्छौं?
हाम्रै शरीरमा उम्रेका
ऐंजेरू जस्ता यी विशालु
थरिथरिका झारहरू।

थोत्रो घर (लघुकथा)


"हजारौ सहयोद्धाहरुको बलिदान पनि यो महानक्रान्ति भएको हो । हामीले विश्वलाई देखाइ दिनेछौं । तिनी विदेशीहरुको सहयोग नभएपनि हामीले हाम्रो मुलुकको भाग्य र भविष्य निर्माण एक्लै गर्न सक्षम छौं ।" ........ मेरा प्रिय सहयोद्धा साथीहरु हो ! हामीले कब्जा गरेको सामान्तको यो घरमा अब हाईस्कूल खोल्ने छौं ।" ....... लालसेनाका कमाण्डरको भाषण ठूलो तालिका साथ समाप्त भयो । घरधनी भागेर बेल्जिएम गएको थियो ।
"यी कोठाहरु भत्काएर ठूलो हल बनाउनु पर्छ, क्षेत्रीय स्तरका प्रशिक्षणहरु समेत गर्न सकिने गरी" भु.पु. छापामारले प्रस्ताव राखे ।

"त्यसो नगर्दा वेश हुन्छ कमरेड, बच्चाहरुको स्कूल भएकाले र धेरै वटा कक्षाकोठा चाहिने हुनाले यी स-साना कोठा ठिकै छ" जनसरकारका योजनाकारले विमती जनाए ।
"यी विलासी सोफा टेवुल भत्काएर टेवुल बनाउनु पर्छ, यी सबै सामान्तवादका चिन्हहरु हुन" जनमिलिसीया प्रमूखले प्रस्ताव राखे ।

"अफिसका लागि यी सोफा काम लाग्छ, बनाउने बजेट छैन यसैलाई रुपान्तरण गरी प्रयोग गर्नु राम्रो हून्छ ।" जनशिक्षा विभागका प्रमुखले सल्लाह दिए ।
"यो घरको ढोका दक्षिण फर्केको छ यसलाई उत्तरतर्फ फर्काउनु पर्छ" प्लाटुन कमाण्डरले सुझाव राखे ।
"यो अलि जाडो ठाउँ हो । दक्षिण मोहडा हुँदा घाम बढी लाग्छ त्यसैले बच्चाहरुको स्वास्थ्य चिसोवाट वचाउनका लागि यसलाई परिवर्तन नगरौं । वास्तुशास्त्रको अर्थमा हेर्दा पनि यो ठिकै छ ।" वास्तुविद कमरेडले विमति जाहेर गरे ।

अघिदेखि छलफल सुनेर बसेका गाजस प्रमुखलाई चित्तै बुझेन र भने- "यस पुरानो सामन्तको घरमा केही पनि परिवर्तन नगर्ने भए क्रान्तिको के अर्थ भो ? हामी कसरी क्रान्तिकारी भयौं ? क्रान्ति भनेको त परिवर्तन हो नी, यति चाडैं विर्सिदिने ?"

सबैजना गम्भिर भए । युद्धको विभिषिका उनीहरुका मानस पटलमा सिडीको चक्का झै घुम्यो ।
"यसका भित्तामा पहेंलो माटोले लिपेको छ । यसको सट्टामा रातो माटोले लिपौं । रातोमाटोको रंगले हाम्रो झण्डा र सहिदको रगतको सम्मान गर्नेछ रुपान्तरण भनेको यही हो" । योजनाविदको कुरा सबैले माने । भित्रका कुनै चिज परिवर्तन नगरी बाहिर रातो माटोले लिपियो मात्र आवरण परिवर्तन गरि नयाँ क्रान्तीका लागि स्वीकार्य भयो त्यही थोत्रो घर ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

कार्यकर्ता (लघुकथा)


चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।

हतासले मान्छेहरु आत्महत्या गर्लान भन्ने डर बढिरहेकै बेला एकजना अधवैंसेले भाषण गर्दै भन्यो- तपाईहरुले चिन्तै लिन पर्दैन उज्यालो पुग्ने बाटोको जानकारी मसँग छ। यसको निर्धक्कसँग बोलेको अभिव्यक्तिमा सबैलाई आशा जाग्यो। सबैले उसलाई साथ दिएर अगाडी बढ्ने कुरामा सहमति जनाए मान्छेहरुले उसलाई नेता माने। उसले सबैलाई पछि लगाएर उकालो लाग्यो। बिचरा नेतासँग पनि उकालो लागेपछि साच्चै कुन ठाउँमा पुगिन्छ भन्ने जानकारी थिएन। तैपनि सबै मान्छेमा हौसला बढेको र आशावादी भएको देखेर ऊ आफै आफै पनि उत्साहित भयो।

उकालिदैं जाँदा घण्टौ वितेपनि कुनै बाटो भेटिएको थिएन नेता आफैं त्रस्त भएको थियो। नेताले एउटा धमिलो छायाँ देख्यो। ऊ छायाँतर्फ बढ्दा थाहा पायो त्यो छायाँ मान्छेको रहेछ। त्यो मान्छेले नेतालाई म पथप्रदर्शनमा सहयोग गर्छु भन्यो। मलाई बाटो थाहा छ भनेर डोहोर्‍याउँदै लग्यो पनि। लैजाँदा लैजाँदा क्रमश अध्यारो कम हुँदै गयो। अलिअलि उज्यालो हुन लागेपछि नेताले देख्यो डोहोर्‍याउने मान्छे त अन्धो रहेछ।

अन्धोले नेतालाई डाहोर्‍याएको रहेछ भन्ने थाहा पाएपछि नेता बनेको व्यक्तिको यथार्थ पक्ष उजागर हुने डरले नेता स्वयमले पनि आफ्नो आँखा बन्द गरेर अन्धो बनेको नक्कल गर्न थाल्यो। पछि लागेका मान्छेहरुले आँखा बन्द किन गर्ने भनेर प्रश्न गरे नेताले उज्यालोतर्फ जान त्यसै गर्नु पर्छ भनेर तर्क गर्‍यो। उसका पछि लागेर उज्यालो नजिक आईपुगेका सन्दर्भमा मान्छेहरुले नेताको विश्वास पनि गरे, अनि आफ्ना सद्दे आँखा बन्द गरेर नेताको हात समातेर डोर्‍याईदै पछि पछि लागिरहे।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

जंगल र मान्छेहरू (कविता)


छोरी,
जंगलमा कहिलै हँदैन लोकतन्त्र
जंगलमा कहिलै हँदैन चुनाव
चुनावको नाटक मात्र पनि हँदैन
जंगली नेतृत्वलाई कहिलै चाहिदैन
जन अनुमोदनको पुष्पहार
वंशजको नाताले हरेक हिंश्रक डमरू
लडेर आफन्तकै बीचमा खुनीयूद्ध
सत्ताधारी बन्छ जंगलको
अनि निर्लज्ज कुरा गर्छ अबिछिन्न लोकतन्त्रको !

उभिएर २१ औं शताब्दीको संघारमा
जंगलले पढ्ने गरेकोछ अचेल
अठारौं शताब्दीको दास–बिद्रोहको कथा
लुइसोह्रौंको अन्तिम भाषण र उसको आक्रोस
जंगबहादुरको वेलायत यात्रा र कोतपर्व
जारका रूसी महलहरू र सद्धामका रिपब्लिकन गार्डहरू

फेरिएको पनि छ अचेल जंगल
बेदनाका निरीह गीतमात्र गाउँदैन जंगल
फुच्चे खरायोहरू पनि कवाज खेल्छन
हिंश्रक सिंहको ओडार मुन्तिर
बरू मारिन्छन् दौडदा-दौडदै
बोकेर स्वाभिमानको चम्कीलो आकास
एक-एक गाँस जुठोपुरोमा
आत्मा समर्पण गरिदैन जंगलमा अचेल
तर्साएर वा किनेर जनावरहरूलाई जंगलमा निकाल्न सकिदैन
प्रायोजित बासी अनुहारहरूको घिनलाग्दो जुलुस
हिंश्रक सिंहका कलाहीन नाटकहरूलाई
बेचेर स्वाभिमानका मानकहरू
सभक्ति क्रान्तिकारी कृतज्ञता चढाउँदैनन् जंगलहरू

छोरी,
के तिमी जंगली जनावर जति स्वाभिमानी बन्न सक्यौं?
के तिमी फूच्चे सेतो खरायो जति संघर्षशिल बन्न सक्यो?
यतिहँदा त जंगलमा टिक्न सक्दैन लोकतन्त्र
अनि कसरी टिक्ला छोरी
संघर्षहीन फटाहा मान्छेको बस्तीमा
मेरो प्यारो लोकतन्त्र! तिम्रो प्यारो गणतन्त्र!!

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

गति केन्द्र र अस्तित्व (कविता)


नीचोरेर त्रस्त चिसा पसीनाहरू
रातको रखवारी गर्दै
चिसो जून घुम्छ निरन्तर
पृथ्वीको केन्द्र समातेर नियमित बक्ररेखामा
पृथ्वी पनि घुम्छ सूर्यको केन्द्र समातेर
अनन्त अस्तित्वको लागि परिभाषित बक्ररेखामै
जलाएर करोडौं हेलियम कणहरू छातीमा
सूर्य पनि निरन्तर घुम्छ नियमित बक्ररेखामै
निश्चित केन्द्र विन्दु समात्दै विशाल जिम्मेवारी बोकेर
अस्तित्व-सूत्रहरूका लागि
आकास गंगा पनि घुम्छ निरन्तर
अस्तित्वकै लागि घुम्नुपर्छ सबैले
कुनै न कुनै केन्द्र विन्दूमा
सबैलाई चाहिन्छ एउटा 'ग्यालेक्टिक सेन्टर'

अन्यथा,
टुक्रिएका प्रेमकथाको मिथक जस्तै
उल्कापिण्डहरू खसेर हराएको आकाशमा
हराउने गर्दछन अनियमित गतिहरू
केन्द्र विन्दुहिन घुमाइहरू

त्यसैले, सोध्न सक्छ पृथ्वीले
ए मान्छे ! खै तिम्रो केन्द्र विन्दू ?
खै नियमित यात्राको बक्ररेखा ?
खै तिम्रो सूत्रबद्ध गति ?

यदि छैन भने समुचित जवाफ यी, समय प्रश्नको
नानीहरूले तिम्रो पनि इतिहास पढ्नु पर्नेछ,
खस्दै गरेको उल्काको धरातलमा
एउटा निरर्थक उर्जाहीन फिलिङ्गोको कथा !

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

इलाम र काठमाडौं (कविता)


एकगासकै लागिमात्र त्यागेर स्वाभिमान
काठमाडौंसँग दयाको हात पसार्दैन इलाम
निसास्सीदो कन्यामको कुहिरोले
जबरजस्ती मुख छपक्क छोप्दा पनि कहिलै
अत्यासले काठमाडौंको उपनिवेश स्विकार गर्दैन इलाम
हरेक मिरमिरेमा आँखाभरी रातो घाम सजाउने बेला
आतंकको नयाँ समाचार सुन्न त्रस्त काठमाडौं मिच्दै हुन्छ
अश्रुग्यासले पोलेका आतंकित आँखाहरू !

ढाकेर रामनामीको पहेंलो पछ्यौराले फोहरका घिनलाग्दा
संक्रामणका थुप्राहरूलाई चढाएर टेलिभिजनका
तरंग टावरहरूमा काठमाडौं
इलामको विरूद्धमा चिच्याइरहेको वेला
अम्रिसोघारीमा इलाम कूचो बनाउने तयारीमा निमग्न हुन्छ
कूचोमा बारूद हँदैन गोली र अपमान हँदैन
हँदैनन् डरलाग्दा निर्मम बुटहरू
तर फोहोरहरूलाई पर्याप्त आतंक हुन्छ

काठमाडौं बिष्णुमतीको घिनलाग्दो पानीलाई
पुराणको थोत्रो अवतारी कथाको आधारमा
अपूर्व जल भनेर शान्ति स्वस्ती गरिरहेको बेला
त्यही दुर्गन्धित पानीले
मान्छेका शरीरमा निस्केका एलर्जिका फोकाहरूलाई
माईखोलाको कञ्चन पानीले सफा गर्ने तयारी गर्छ इलाम !
समयले गाडेका इतिहासका चिहानवाट
झकेर दूर्गन्धित लासहरू
सडेका अरूचीपूर्ण ती अनुहारलाई
जब पूजा गर्न आदेश दिन्छ, काठमाडौं!
त्यतिबेला इलाम फिक्कलमा अर्को लिगलिगे
दौडको तयारीमा जुटिरहेको हुन्छ
अर्को नव यूगनायक चुन्ने तयारीमा हुन्छ

मध्यरातमा
कुनै विक्षिप्त चालकले हाँकेको बिशिष्ट बाहनले
कुल्चीरहँदा मदल, डम्फु र सारङ्गीहरू
गबुवा भरी दूध बोकेर मोफसलबाट
शालैज्यूको भाकामा वियोगान्त गीतहरू
गाइरहेको हुन्छ इलाम
सदरमा आफ्नै प्रियतम हराएको
ती वेदनाका आवाजहरूबाट
अताल्लीएर काठमाडौं उभ्याउँछ इलामको छातिमा
हेलिकोप्टरबाट ओसारेर आतंकको निरीह छायाँ

त्यतिवेला इलाम टिप्दै बटुली रहेको हुन्छ
कलिला चियाका मुनाहरूसँग
जनजाती आस्थाको अनाम इतिहास
रोपिरहेको हुन्छ ईलाम चियावगानको पवित्र माटोमा
रत्नकुमार वान्तवाको सहादतको महान कथा

गोलाखर्क इलाम, २०६२ भाद्र २६

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Thursday, November 6, 2008

सम्बिधान (लघुकथा)



परिवार थिएनन, छोराछोरी थिएनन, नीजि आफ्नो भन्ने केही थिएन उनको। सामाजिक परिवर्तन र चेतनाका लागि उनले आफ्नो सिङ्गो जीवन अर्पेका थिए। जीवनभरको परिश्रम र समर्पणलाई उनका साथी संगी सहयात्रीले सघाएर सहयोग गरेको रकमको अक्षयकोश चल्थ्यो, त्यसबाट आज सयौं गरिब विद्यार्थीहले निःशुल्क पढ्थे, सयौं गरिबहरु उपचार गरिन्थ्यो।
उनी अक्सर पैदल हिड्थे, बस चढ्थे बढीमा। उनले अलिकति सुविधा त्यागेर समाजमा समर्पित हुन उनका आफ्ना सहकर्मीहरुलाई समेत आग्रह गर्थे। उनको समाजसेवी संस्थाका कसैलाई पनि सुख सयलको जीवन नविताउन निर्देशन दिन्थे। स्वयं त्यागका प्रतिमूर्तिका अगाडि जो पनि नतमस्तक हुन्थे। यसरी उनको गरिबी विरुद्धको सशक्तिकरण अभियानले निकै ठूलो सफलताहरु पाएको थियो।
उनले बारम्बार आफ्ना कार्यकर्ताहरुलार्य भन्थे ट्याक्सीमा नचढ्नु, बसमा चढ्नु। ती महान ऋषिका कुरा काट्न कसैले पनि सक्ने कुरा थिएन। उनले आफ्ना अनुभवहरु उपदेश ढुङ्गामा खोपेर कार्यालयमा टाँसेका पनि थिए। उनका अनुयायीका लागी यो यो अकाट्य संविधान थियो। उनको अवसान पछि त्यस संस्थाका एक जना व्यक्ति प्रभुत्व बने। व्यक्तिगत सुखसयल छोडेर सामाजिक सेवामा जुट्ने मान्छे कार ट्याक्सी नचढ्नु भन्ने संस्थाका संस्थापक गुरुका उपदेश कसैले काट्ने कुरा भएन।
संस्थाका नयाँ प्रमुख अचेल बसमा मात्र यात्रा गर्छन। तर बस भने सुविधा सम्पन्न बेडरुम र “इन्टरटेनमेन्ट रुम” सहितको बिशेष खालको छ। त्यसमा संस्थाका नयाँ प्रमुख मात्र एक्लै चढ्ने त्यो बसलाई करौडौं पर्छ र दर्जनौ कारलाई पुग्ने ईन्धन त्यो बस एक्लैलाई चाहिन्छ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Saturday, November 1, 2008

सपनाहरू (कविता)


मुहान थुनिए पनि पानीको
नालापानीमा बाँकी थियो
प्यास मेटाउने एउटा सपना
सुगौलीमा थिचिँदा पनि छातिहरू
बाँकी थियो
टिष्टा र काँगडा जोड्ने एउटा सपना
कोतको त्राशद नरसंहारले पनि
हत्या गर्न सकेन सपनाहरूको
झुण्ड्याइँदा पनि वीर शहिदहरूलाई
फाँसी लागेन सपनाहरूको

इतिहास नपढेकाहरूले सपनाहरूलाई
अराजकताको आरोप लगाउँछन्
नियम र विधान माथि विद्रोहको आरोप लगाउँछन्
असम्भव र उडन्ते भनेर गिल्ला गर्छन्
तर,
सपनाहरूको संयमता
दिशाहीन क्रुर बुख्याँचाहरु भन्दा
वा संयमित भनिएका मान्छेहरूभन्दा
धेरै धेरै उच्च हुन्छ

सपनाहरुले कहिल्यै पर्खदैनन् समयलाई
समयले बाँधेको सपनाहरुलाई त
फुकाई दिएको थियो रे उहिल्यै स्पार्टार्कसले
त्यसपछि पनि निकैपल्ट समयको भ्रम दिएर
चल्न छाडेको थोत्रा एनालग घडीहरुले
सपनाहरुलाई बन्दी बनाउने घोषणा गरे
लासको थुप्रो लगाउँदा पनि राजमार्गमा
सपनाहरुको यात्रा कहिल्यै
अबरुद्ध भएको मलाई थाहा छैन

स्वाधिन वस्तीका सपनाहरु
चरा जस्तै स्वतन्त्र हुन्छन
अनि उन्मुक्त कावा खान्छन
मान्छेका सुदुर सपनाका आँखाहरुमा
शीरिषका फूलका सपनाहरु
बिहानी हावा जस्तै सुमधुर हुन्छन
सहर्षस्वीकार्दै आफ्नै सहादत
सुम्सुम्याउँदै ब्यूझाउँछन
न्रि्रामा मस्त मान्छेहरुलाई
जैतुनका पातका सपनाहरु
बुद्धको समाधि जस्तै हुन्छन
मुक्तिको मार्ग निर्देश गरिरहन्छन
बाटो बिराएका निराश मान्छेहरुलाई
बैशाखी मुनाकेा सपनाहरू
परदेशीएको प्रितको वियोगान्त गीतहरु जस्ता हुन्छन
भिजाएरै परेलीहरु मान्छेहरुको
आस्थाका दृढ प्रतिक्षाहरु दिन्छन

ढुंगाहरुले कहिल्यै सपनाको दृष्य देख्दैनन्
खरानीहरुले कहिल्यै सपनाको आवाज सुन्दैनन्
सपनाको आवाज कहिल्यै खरानी पनि हुदैंनन्
सपनाहरु नदेख्नेको कुनै विश्वसनीय इतिहास पनि हुदैंनन्
सपना नसाच्नेहरुको कुनै मौलिक देश पनि हुदैन
बस्तिका करोडौं सपनाहरुले
सपनाहीन ढुंगा र खरानीहरुलाई
अबैध घोषणा गरिरहेकै बेला
आऊ तिमी पनि हामीसँगै
सपनाहरुको यस महायज्ञमा
आफ्ना सुन्दर सपनाहरु
यही प्यारो माटोमा समर्पण गरौं
सपनाहरुको गौरवशाली
इतिहासलाई समर्पण गरौं ।

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

ज्यूँदा कविहरुको लाममा (कविता)


आत्तिनु पर्दैन कविज्यू
त्यो आगोको लप्का तपाईको वस्तीमा लागेको
विनाशकारी डढेलो होइन
सदियौं देखि बाटोमा थुपारिएका
मैनकाँडाका झयाङ्गहरुमा
भरखर झोंसिएको अगुल्टो हो
संक्रमित रगत जलिरहँदा अस्पतालको इन्सिनेरेटरमा
अथवा झुप्राहरुका वस्तीमा उमंग-उर्त्र्सगमा उर्लिएका
आत्तिसवाजीहरु सँग केको डर मानिरहेको हजूर
आगो सधैं विध्वंशक हुँदैन कविज्यू
निर्माण पनि हुन्छ निषेधित फलामका वस्तीहरुमा
ए ! कविज्यू ! ढुक्क भएर आउनुहोस
हामीसँग लामबद्ध हुन !
●●●
तपाईकै आगाडि बाटैमा देखेर
छरपस्ट ढुङ्गा र भत्केका परखालहरु
डराउनु पर्दैन कविज्यू
त्यो तपाईको घर भत्केको खण्डहर होइन
कविहरुलाई थुन्ने गरेको जेल
भरखरै तोडिएको दृष्य हो
त्यो दरवार जस्तो जेल बनाउन
त्यो जेल जस्तो दरवार बनाउन
भत्काइसकिए पछि हाम्रो सानो झुप्रो
कस्तै ठूलो भुकम्पले पनि
क्षति पुर्‍याउन सक्दैन हामीलाई
खुल्ला सडकमा बस्ने बेधरहरुले
आत्तिनु पर्दैन कविज्यू
आउनुहोस ढुक्क भएर
हामीसँग लामबद्ध हुन
●●●
हामी मलामी हिडेको देखेर
अन्यथा सोच्नु पर्दैन कविज्यू
हामी अपमानित ढंगले
फाँसी हाल्दैनौ जुत्ताका तुनाहरुमा
तानाशाहको निश्प्राण शरीरलाई पनि
बदमास बादशाहका बदनाम चितालाई पनि
शालीन ढंगले आगो लगाउँछौं र फर्कन्छौं
ढाईसय वर्षको मलामीबाट
युद्ध जितेका शालिन सिपाईंहरु बनेर

युद्धसँग किन डराउने कविज्यू
कस्तै युद्धहरुमा पनि
कसैले हत्या गर्न सकेनन सपनाहरुको
कविज्यू ! आउनुहोस निर्धक्कसँग
हामीसँग लामवद्ध हुन ।
●●●
जस्तै परिणाम आएपनि
प्रयोगशालाको अनुसन्धानमा
हार वा जीत हुँदैन वैज्ञानिकको
नहिडेपछि निश्चित कही पुग्नका लागि
बाटो विराएको ठहरिन्न कविज्यू
त्यसैले छोडेर जीवनभर हिडेको बाटो
उभिदैमा हाम्रो लाममा
किन हिनताबोध गर्नुहुन्छ कविज्यू
हामी बन्दुक हौ अनन्त विस्फोटन बोकेका
हामी पड्किदा विथोलिन्न
आम झुप्रे बस्तीको अमन चयन
फलामे बन्दुकले जस्तो
हत्या गर्दैनौं कुनै श्रमजीविको
हामी निर्दयी पनि छैनौं
हामीलाई थुन्नु पर्दैन सेता कन्टेनरमा
त्यसैले,
सधैं सधैंका लागि नाघेर हिनताका
फुच्चे ढिस्काहरुलाई
निर्धक्क आउनुहोस कविज्यू
हामीसँग सगौरव लामबद्ध हुन !
●●●

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

सावधान प्रिन्टरहरू (कविता)


प्रिन्टरले संकेतका भरमा
निर्देशन र सुचनाहरू चुपचाप छापिरहन्छ
प्रिन्टरले अक्षरहरू पढ्दैन अथवा वुझदैन
मात्र निर्देशन फटाफट छाप्छ
किनकि शव्दहरू सँग
उसको कुनै सम्वन्ध हुँदैन
उसका आफ्ना शब्दहरू पनि हुँदैनन्
त्यसैले प्रिन्टरको
शब्द प्रति कुनै मोह हुदैन
प्रिन्टर सँग छाप्न हुने वा नहुनेको
कुनै विवेक विन्दु हुदैन

आदेश पाए पछि कुनै डिजिटल कोडमा
मसी भए छाप्छ
नभए पनि
छपाईको अभिनय मात्र पनि गर्छ ।
प्रिन्टरको त्यो अभिनयमा
कला हुँदैन भाव पनि हुँदैन

रगत र फोहोर पानी ऊ त्यस्तै गरेर छाप्छ
मुर्ख वा विवेकी मान्छे ऊ उस्तै गरेर छाप्छ
जीबन वा मृत्यु ऊ एकै रंगमा छाप्छ
प्रिन्टरको कुनै संवेदना हुँदैन
प्रिन्टरमा कुनै कृतिम नै भए पनि चेतना हुदैन

अक्षरहरु सुन्दर भएकै आधारमा
प्रिन्टरहरूले हिजो निगाहाको तक्मा थाप्थे
हुकुम प्रमाङ्गीको ढेडु-पगरी गुत्थे
झुप्रावाट लुटिएको वाली थाप्थे
मरेका अक्षरहरुलाई क्तिगानले विउँताएको
धामीझाँक्री नाटक गर्थे
महलमा आगो झोस्ने वासका कलमको उपेक्षा गर्न
भद्दा प्रिन्टरहरूले सुनका कलमको वक्सिस् थाप्थे
ए ! टिके प्रिन्टरहरु हो
अव कहिले लेखक दावी नगर्नै गरी
हामीले खाल्टोमा पुर्र्नु पर्छ
किनकी प्राण नभएका थोत्रा प्रिन्टरहरु
कहिलै लेखक वन्न सक्दैनन्

प्रिन्टरहरू विकाउ हुन्छन्
विकाउ वस्तुहरू कहिलै लेखक हुन सक्तैनन्
अचेल प्रिन्टरले आफुलाई
रातारात लेखक भन्न थालेका छन्
ठुल्ठुला ठेली छाप्तैमा
श्रृजनशीलताहिन बाकसहरूले
लगाउंदैमा लेखकहरूले जस्तै कपडा
हिंडदैमा लेखकहरू जस्तै सडकमा
प्रिन्टरहरू कहिलै लेखक बन्न सक्तैनन्

साबधान,
आदेश र निर्देशन मात्र लेख्नेहरू
भजन मात्र गाउनेहरू
गांठी कुरा चपाउनेहरू
हिजो स्वयमले आफुलाई
प्रिन्टर घोषणा गर्नेहरू
आज आफुलाई लेखक घोषणा गर्दैछन्
तर,
हिजोका प्रिन्टरहरू कहिलै
लेखक हुन सक्तैनन्

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

पाउजु (कविता)


फुत्किएको मालिकका खुट्टाहरुबाट
मन पर्दैन पाउजुहरुलाई
आफ्नो मसिनो आवाज
सुम्पिन्छन् मालिकहरुका पाऊमा
बेरिइरहन्छन्, टासिइन्छन्, निशर्त कुल्चिइरहन्छन्
तर पनि कहिलै दुख्दैन
पाउजुहरुको स्वाभिमान !

कहिले नीलाखुट्टाहरुमा
कहिले पहेला खुट्टाहरुमा
कहिले राता खुट्टाहरुमा
पाउजुहरु हल्लाहरुको मन्द आभाष मात्रले
निशंकोच वा निशर्त फेरिईरहन्छन्
नयाँ समयहरुसँगै अपरचित खुट्टाहरुमा
जीवनहीन पाउजूहरुलाई के मतलव नवीनताको
तर पनि निरन्तर जारी छ पाउजुहरुको
कथित नवीनताको उत्तरआधुनिक खोज

निलो बर्तमानको एन्टी क्लक यात्रामा !
पाउजुहरले व्यापार गर्छन र सेवाको अभिनय गर्छन
पाउजुहरु वेश्यावृत्ति गर्छन र राजनीतिको अभिनय गर्छन
पाउजुहरु मृत्युको अभ्यास गर्छन र जीवनको अभिनय गर्छन
खुट्टाहरुको रङ्गले फरक पार्दैन पाउजुका आवाजहरुलाई
खुट्टाका गन्तब्यहरुले बद्ल्दैन पाउजुका मनोवृत्तिहरुलाई
पाउजुले गाएका सुमधुर दासताका संगीतहरुमा
विपनामै नाचेको देख्न सकिन्छ बजारमा
स्वाधिनताको सुदूर यात्रामा निस्केका
शालीन खुट्टाहरु पनि

खुट्टामा झूण्डिनू परेकोमा पाउजुहरुले गुनासो गर्छन्
झूण्डिन चाहान्छन् टाउकोमा, गलामा वा छातिमा
सुकसुकाउँदा सरीरहरुलाई थाहा हुदैन
टाउको भित्र झुण्डिएको हुन्छ वास्तविक पाउजू
नलगाउदैमा खुट्टाहरुमा सुनका कुनै पाउजुहरु
कहिलै मुक्त हुन सक्दैनन् सरीर
नफुकाले सम्म टाउको भित्र झुण्डिएका नीला पाउजु
गणतन्त्र ब्राण्डका नयाँ एसेम्बल्ड पाउजूहरु
रातो कपडामा पनि बेरिएका हुन्छन्
टाउकामा बाधिने ती पाउजुहरु
खुट्टा लगाइने सुनका पाउजुहरु भन्दा
धेरै डर लाग्दा छन्

साढे अठारसय वर्षभन्दा पनि पुरानो छ पाउजुको इतिहास
तिमीले पढ्न अस्वीकार गरेपछि
सुनौला श्रीपेचका काला इतिहासहरु
तयार पारिएको छ पढाउन अब
सुनका पाउजुहरुको इतिहासहरु
के हामी पढ्न तयार छौ ।

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

शौचालय - १ (कविता)


देखाएर दुर्गन्धको त्रास
शौचालयमा फोहर गर्नु हुँदैन भन्छन्
थुनेर सुचारू शौचालयहरू
फोहोर गरिहेछन् उनीहरू नै बाटो-बाटोको छेउमा
खपिनसक्नु दुर्गन्ध छ भनेर
शौचालय बमले उडाउनु पर्छ भन्छन्
म बुझाउन सक्तिन बमहरूलाई
उडाउँदैमा बारूदले
कहिलै अन्त्य हुँदैन शौचालयको
वस्तीका पेटहरूबाट जन्मी रहन्छन् अनन्त शौचालयहरू
म बुझ्न सक्तिन
आपत्ति कोसँग छ बमहरूको
अब्यवस्थित फोहोरसँग वा शौचालयको भौतिक संरचनासँग

घमण्डी पहाड सम्याउन निस्केका
वस्तीका उर्जाशील युवाहरू
संक्रमणका किटाणुले थलापरेको देखिएपछि
म बुझाउन सक्तिन घरहरूलाई
नभएपछि फोहोर व्यवस्थापनको स्वचालित प्रणाली
निरन्तर फैलिइरहन्छन संक्रमक किटाणुहरू
तिमी बसेको जंगलमा हुदैनथे भनेर शौचालय
तिमीहरूलाई कसले अनुमति दियो
भत्काउन हाम्रा निरन्तर पखालिने शौचालयहरू !

सायद,
हामीले पढ्न बाँकी नै छ
शौचालयको मौलिक दर्शन
थन्क्याएर जात र लिङ्गभेदका कुरा
सबैले जानुपर्छ शौचालयमा
थाँति राखेर बनौटे शान र इज्जत
निवस्त्र हुनु पनि शालीन हुन्छ शौचालयमा
हरेक शौचालय भित्र पढ्न पाइन्छ
श्लील र अस्लिलताको एउटा सीमारेखा
लज्जा र वाध्यताका मानकहरूको सीमा
भेदभाव हुदैन त्यहाँ फाटेको मोज र पाउपोशमा
पाँचतारेका लञ्च र जङ्गली गीठ्ठा भ्याकुरमा
शौचालयले हरेकपल्ट सम्झाउँछ
शौचनिवृत्तिले आत्तुर मान्छेलाई
अनावश्यक थुपार्न सकिदैन आफ्नै पोल्टामा सबै कुरा
सकिएपछि त्यसको काम
त्याग्दा सहर्षआनन्दित हुन सिक्नुपर्छ कस्तै कुर्ची पनि

टुक्रुक्क बसेर
फ्लस प्रणाली वा धाराको टुटिले
सम्झाईरहेको हुन्छ हरेकपल्ट
आफूले गरेको फोहोरको
जिम्मेवारी लिन सक्नुपर्छ हरेक मान्छेले
अन्यथा फैलाएर दुर्गन्ध
त्यो फोहरले उदाङ्ग पार्छ
नयाँ भनिएका मान्छेको असभ्यता पनि
वा क्रान्तिकारी भनिएकाहरूको यथास्थिती

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

तुलहरूको देशमा (कविता)


बस्तीको साझा चौतारीमा
अर्को तुल झुण्डयाउन नपाईने चेतावनी लेखेर
भर्खर झुन्ड्याइएको छ
सहअस्तीत्वको नाममा एउटा अर्को नयाँ तुल
गिट्टीसँग कुटिएका हातहरूले
चियाका मुनासँग चटक्क टिपिएका यौवनहरूले
भोकमरीले थाकेका पेटहरूले
कहिल्यै भेटन नसक्ने उचाइमा
झुण्डिरहेका हुन्छन्
हात, यौवन र पेटका पक्षमा लेखिएका तुलहरू

भोकाहरूको पक्षमा टाँगिएका महँगा रङ्गनि तुलहरू
लेखिन्छन् पेट काटेर दर्जनौ भोकाहरूकै
शहरका तुलहरू
भोकका कुराहरू मात्र उठाउछन् माथिसम्म
भोक मेटाउनका लागि भोको मान्छेको
लेबि, कर वा रोयल्टी तिर्दैनन् तुलहरूले
यी सत्ताका तुलहरूको विरूद्ध
यी तुलका सत्ताहरूको विरूद्ध
किन बोल्न पनि पाईँदैन हाकाहाकी
गुनासो पनि छ वस्तीहरूको

द्रौपदीको पक्षमा लेखिएका अग्निवर्षी तुलहरू बनाउन
थाहा छैन कहिलेसम्म नाँगिरहनु पर्ने हो
थप कति पारिजातहरूले
लेखेर छात्तिमा नागरिक सर्वोच्चता
हरेक वस्तीका चोकहरूलाई
आफ्ना टाँगमुनि हाल्नुमा
गौरव गर्छन यी राता पहेँला तुलहरू
किन कसैले बोल्ने साहस गर्दैनन
यी तुलका कलाहीन नाटकको विरूद्धमा

क्यामेराका अगाडि पर्छन यी तुलका अक्षरहरू
छेकिन्छन् अक्षरभित्रका दृश्यहरू
झुण्डिएर प्रायोजित डोरीहरूमा
तुलका अक्षरहरूमाथि पर्छन
तल पर्छन अक्षरका भावनाहरू
तुलले जोड्छन् बाटोका दूई किनाराहरू
किन जोड्न सक्तैनन् फुटेका एउटै मन पनि

मैले सोध्न सक्तिन
शहरबाट तुलमा भिज्यो
अथवा तुलबाट शहरमा चुहियो
यो असंगतीको माधक झोल

मैले सोध्न सक्तिन
साँझ पार्न भट्टीमा पसेका घामहरूलाई
यी घामका तुलहरूबाट मात्र
सम्भव छैन
भोलिको विहान निर्माण गर्न ए राता तूलहरू !
फर्केनन् भने ती घामहरू
के जवाफ छ तिमीसंग

(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Thursday, October 30, 2008

शान्ति छाएको गाऊँ (लघुकथा)


शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।
www
"कत्राकत्रा व्यारेक एक्लै उर्डाई दिन सक्थे रे ती कमाण्डरले "एकजनाले भिडमा भन्दै थियो । कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले" अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हर्ेन मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।
www
"बसम काम्रेटहरु !" गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -"हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डुंमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।" ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।
-"कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो" एउटा फुच्चे क्यामेरामेनले भन्यो ।
-"आमा गाउँमा कस्तो छ ? शान्ति भा'छ हैन त ?" कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।
-"असाध्यै आनन्द भा'छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।" बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।
-"हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा" कमाण्डर नेताले थपे ।
"हो बाबु अब त आनन्दै भा'छ नि । अलिकमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा'छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा'छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।" बूढीआमा फेरि उसै गरी मुस्कुराइन ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

गणतन्त्रको संस्कृति (लघुकथा)


लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।
www
लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -"मैले पनि अब त्यस भू.पु.राजालाई "तँ" भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु " ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र "बिन्ति" चढायो । प्रवेश गर्न "अनुमति निगाहा" भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । "ए बले किन आईस यहाँ" । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -"मौसुफको पाऊमा दर्शन गर्न महाराज !" बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Monday, October 13, 2008

पहिलोपल्ट (कविता)


पहिलोपल्ट कसले राख्यो होला इश्वरलाई
सजाएर वजारको शोकेसमा ?
पहिलो पल्ट कुन बजारबिदले गय्रो होला
इश्वर "ब्राण्ड"को नामाकरण ?
खगोल बिज्ञान वा ज्योतिषशाश्त्रले मोडेर
"फिनिसिङ्" गरिएको इश्वरलाई हाल्न
कसले प्याकेटको डिजाइन गरे होला?
अनि पहिलोपल्ट कसले तयार पारे होला?
कुरान, वाईवल, त्रिपिटक वा पुराण जस्ता
माधक प्रचार सामग्रीहरु
लामा, पुरोहित, पादरी, मौलाना वा त्यस्तै
आक्रमक "मार्केटि‹" एजेण्टहरु
पहिलोपल्ट
कुन उत्पादकले तयार पारे होला इश्वरको
बृहद उत्पादनको "कन्भेएर वेल्ट" ?
अनि पानीजहाजमा लादे होला बिश्व बजारकालागि
पहिलोपल्ट कुन वजारशाश्त्रीले बनाए होला
कुनै भन्सारले रोक्न नसक्ने
इश्वर वितरणको यो विशाल रणनीति
पहिलोपल्ट कसले खोले होला
इश्वरको विशाल "डिपार्टमेण्टल स्टोर"
अनि नामाकरण गरे होला त्यसैलाई
मन्दिर, मस्जिद, गूम्बा वा गिर्जाघर
अब चिन्न जरुरी भैसकेको छ
ती वितेका यूगका इश्वरका थोक बिक्रेता
अर्वपति मठाधीश ब्यापारीहरुलाई
अब चिन्न जरुरी भैसकेको छ
परिभाषाहरुकै यो अन्तरमहादेशीय ब्यापारलाई
अनि ल्याउनुछ श्रम-करको अन्तराष्ट्रिय दायरामा
जीवनको संविधान भन्दा माथि कोहि हुनेछैन
आइन्दा यो हाम्रो नयाँ संसारमा


(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

साहित्यिक क्षेत्रको बायोडाटा

कुसुम ज्ञवाली
आधिकारिक नाम - फणिन्द्र ज्ञवाली
जन्म मिति - २०३०-०८-२२
जन्म स्थान - पतेल्का, रिमुवा-४, गुल्मी
इमेल - thekusum@gmail.com thekusum@yahoo.com
सम्पर्क - पोष्ट वक्स नं २३३७२, काठमाण्डौ
फोन - ५५४३६७० (आवास), ९८५१०७७३९६ (मोवाईल)

शिक्षा - स्नातक - भौतिकशाश्त्र (वि.एस्सी.), बि.सं २०५२, अस्कल क्याम्पस लैनचौर
- यन्त्रशाश्त्र, (वि.इ.) मेकानिकल, (प्रथमश्रेणी ७६.३%), बि.सं २०५७ ईन्जिनीएरिड्ग अध्ययन संस्थान पुल्चोक ईन्जीनिएरीङ्ग क्याम्पस
स्नातकोत्तर - नवीकरणीय उर्जा इञ्जिनिएरिङ् (एम.इ., विशिष्ठ श्रेणी ८८.७%), बि.सं २०६१ ईन्जिनीएरिड्ग अध्ययन संस्थान पुल्चोक ईन्जीनिएरीङ्ग क्याम्पस

पेशा - इञ्जिनिएरिङ् (लाईसेन्स नं २४७ "क" वर्ग), परामर्षदाता, प्राध्यापन, लेखन
इञ्जिनिएर, नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय, काठमाण्डौ
परामर्षदाता, एड इञ्जिनिएरिङ् कन्सल्टेन्सी, ललितपुर
प्राध्यापन, - हिमालय कलेज अफ इञ्जिनिएरिङ्, कालोपुल

पहिलो प्रकासन - आँखा, (छन्द कविता) २०४२
- सहिदले बिर्सेको गाऊँ, (लघूकथा सङ्ग्रह) २०६०, विवेक सृजनशील प्रकासन
- बेसिक कन्सेप्ट अफ इञ्जिनिएरिङ ड्रइङ् (स्नातकतह पाठ्यपुस्तक), २०५९, नेइ प्रकाशन, कुपण्डोल

सम्पादन/प्रकाशन
- सम्पादक, लघुकथा डट कम, अनलाइन साहित्यिक दैनिक प्रकासन
- सम्पादक, शब्द संयोजन, साहित्यिक मासिक प्रकासन
- कार्यकारी सम्पादक, ज्योति, साहित्यिक द्वैमासिक प्रकासन
- सम्पादक, विद्यूत सन्देश, अर्धबार्षिक म्यागाजीन
- कार्यक्रम संयोजक, पारिजात काब्ययात्रा तथा साहित्यसूधा (आइतबार र शुक्रबार राति ९.१५ बजे), नेपाल यफ.यम. ९१.८ मेगाहर्ज, रवीभवन
- कार्यक्रम संयोजक, सृजनाका स्वरहरु, रेडियो नमोबूद्ध यफ यम १०६.७ मेगाहर्ज (शुक्रबार बिहान ९‌‌,०० बजे) धुलिखेल

पूरस्कार
- प्रथम राष्ट्रिय खुल्ला लघूकथा प्रतियोगीता, २०५४, रेयुकाई नेपाल (द्वितीय)
- राष्ट्रिय खुल्ला कथा प्रतियोगीता, २०५६, पेन नेपाल (प्रथम)
- अन्तर क्याम्पस कविता प्रतियोगीता, २०५६, स्ववियू, पाटन संयूक्त क्याम्पस (प्रथम)
- अन्तर क्याम्पस वतृत्वकला प्रतियोगीता, २०५६, स्ववियू, पाटन संयूक्त क्याम्पस (प्रथम)
- प्रतियोगीतात्मक कवि गोष्ठी २०५७, झापा काठमाण्डौ सम्पर्क मञ्च (तृतीय)
- राष्ट्रिय खुल्ला कविता प्रतियोगीता, २०५८, साथी (द्वितीय)
- भानुमोति काव्य महोत्सव, २०५८, सिताराम साहित्य प्रतिष्ठान (प्रथम)
- राष्ट्रिय कविता प्रतियोगीता, २०६०, विद्युतकर्मी साहित्यिक समाज (प्रथम)

सम्मान - यूवा प्राविधिक स्रष्टा सम्मान २०६१ इञ्जिनिएरिङ् साहित्यिक समाज
- सुप्रभात काब्य सम्मान २०६५ नागार्जुन साहित्यिक प्रतिष्ठान

भाषा - नेपाली (मातृभाषा),
- अङ्ग्रेजी, हिन्दी, संस्कृत

तालिम - डिप्लोमा इन जर्नालिजम्, २०५२, नेपाल प्रेस इष्टीच्यूट

साहित्यिक सम्प्रति
- सचिव, साहित्य सन्ध्या नेपाल
- केन्द्रिय सदस्य, प्रगतिशिल लेखक सङ्घ
- सदश्य, विद्युतकर्मी साहित्यिक समाज
- कोशाध्यक्ष, स्रष्टा चैत्र ३०
- आजीवन सदस्य, नागार्जून साहित्यिक समाज

Sunday, October 12, 2008

भगवान (लघुकथा)


सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो - पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ?
भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो ।
गजल रेस्टुरेन्टमा '........... पिछे क्या हे' भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । 'किन लजाको सन्ते ?' हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्‍यो 'म बिखर्ची भएँ राजा ! बिहानदेखि केही खान पाएकै छैन '
'तैँले बियर पनि खान पाइनस - हिक्क ! हिक्क !!'
'एक गाँस पनि खान पाइनँ हजुर !'
'ला, खा ! भोड्का खा' उसले पचास रुपैयाँको नोट निकालेर दियो । सन्तेले निष्कर्ष निकाल्यो - 'मन्दिरमा भन्दा भगवान् त बरु भट्टीमा पो हुँदा रहेछन् आजकल । ए भगवान पनि यता सरेछन् अचेल '

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

ठूलो मान्छेको रोग (लघुकथा)


'बाबा ! हाम्री मालिक्नी सा'बले हाम्री आमाले झैं भात पकाउनु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो काम गर्छन् कहीँ '
'बाबा ! मालिक्नी सा'बले तपाईलेझैं कारखानामा काम गर्नु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो मजदुरी गर्छन् त'
'बाबा ' मालिक्नी सा'बले हाम्रो दाइलेझैँ स्कूलमा पढाउनुहुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि त्यस्तो जाबो मास्टरी गर्न हुन्छ कहीँ '
'त्यसो भए रातो गाडी, ठूलो पाँचतल्ले घर र त्यत्तिका पैसा कसरी पाउनुहुन्छ त बाबा ?'
'उहाँ समाजसेवा गर्नुहुन्छ । अनि 'बिजनेश' गर्नुहुन्छ, ठूला-ठूला चीजको ।'
  
'हेलो !'
'हेलो ! सपनालाई पाउँ न ।'
'उहाँ बाहिर पाल्नुभा'छ । आधा घण्टा पछि पाल्नुहुन्छ । केही भन्नु पर्ने भए मर्जीहोस् । म यहाँको पाले ।'
'ए उही पुरानै ठाउँमा आउनु भन्नु, म त्यहीँ कालो गाडी पठाइदिन्छु ।'
  
मालिक्नीलाई अब कहिल्यै निको नहुने रोग लागेर हस्पिटलले पनि निकालिदियो भन्ने सुनियो ।
'बुवा ! मालिक्नी साहेबलाई कस्तो रोग लागेको ?'
'छोरी ! तिमीले बुझदिनौ, ठूलो मान्छेलाई ठूलो रोग लाग्छ क्या !'



(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

एकता नगर (लघुकथा)


ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो ।
मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो ।
यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो । बाघले प्रस्ताव राख्यो 'कस्ले कसैलाई भेदभाव नगरौँ, के कुकुर, के भेँडा, के घोडा सबै मिलेर बसौं, तेरो-मेरोको विभाजन नगरौं, मारामार नगरौं ।
सबैको मत मिल्यो । सबैले नयाँ नगर बनाए । उक्त एकता नगरमा हात्तिले ठूलाठूला रुख ओसारेर ल्यो । बाघले नङ्ग्राले कलात्मक बुट्टा हाल्यो । यसरी आ-आफूले जानेको काम गरेर एउटा सुन्दर नगर बन्यो । उक्त नगरको काम सबैले मिलिजुली गर्न थाले ।
मान्छेले अन्न उत्पादनमा ध्यान दियो । बाघले पशुपालनमा जोड दियो । यसरी मांसहारीले प्रशस्त पशुहरुलाई खाँदा ती पशुभित्र असन्तुष्टि देखा पर्दै गयो । तर आफ्ना कारणले एकता नगर नभत्कोस् भनेर कोही बोलेनन् ।
प्रशस्त खेतीको सम्भावना बढेपछि मान्छेले एकता नगरको अझ उन्नतिका लागि भनेर मतसङ्ग्रहको नाटक रचेर पुनः नगरमा विभाजनको रेखा कोर्‍यो ।
आज नगर उस्तै भताभुङ्ग र लथालिङ्ग भएको छ । तर पनि मांसहारी र शाकाहारी प्राणी बीचमा एकताका कुरा अझै पनि ती मान्छेहरु नै गर्दैछन् ।

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

नाता (लघुकथा)


'एक्सक्यूजमी !' 'ओवर हेड क्रसिङ्ग ब्रिज' मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । 'जाने हो ?' उसले सोधी । मैले 'हो' भनेँ । 'होटल कि कोठा ?'
'कोठा ....... । पूरै रातको एक हजार हुन्छ ?'
ऊ मसँगसँगै गई । अँध्यारो थियो, त्यति राम्ररी चिनिदैन थियो । रातिको खाली सडकमा हुइकिँदा ट्याक्सीमा बानेश्वर पुग्न कतिबेर लाग्थ्यो र ?
घरबेटीको डरले मैले सुस्त गेट खोलेँ बत्ती नबालिकन तल्लो तलाको मेरो कोठामा छिरेँ । ऊ पनि मेरो हात समातेर उभिइरहेकी थिइ । मैले मधुरो बत्ती बालेँ । रानीपोखरीबीचको जमलेश्वरको मन्दिरमा तिहारमा टीका लगाइदिँदा खिचेको फोटो मुनी उही चेहरा उभिएको थियो ! पूर्णतया नग्न अवस्थामा ।


(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

अबिराम श्रङ्खला (लघुकथा)


सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले । सबै आक्रोसित मजदुरहातहरु कसिला मुठ्ठी र 'प्लेकार्ड' होल्डरमा बदलिए ।सरकारी प्रतिनिधिको मध्यस्थतामा सम्झौता भयो । सबै 'प्लेकार्ड'हरु स्टोरमा थन्काइए ।
मजदुर साथीहरुले भन्दा व्यवस्थापनले उनको प्रशंसा ज्यादा गर्न थाल्यो । उनी एक-दुई-तीन-चार-पाँच गर्दै घरका छतहरुसँगै अग्लिँदै गए । उनको सिमेन्ट कारखाना टाट उल्टिने भयो, लिलाम गरियो । अनि आफैंले कारखाना किने ।
नयाँ कुल्लीहरु, मजदुरहरु आए, पाले नयाँ आयो । समस्या पनि नयाँ आए । इन्जिनियर पनि नयाँ आए । मजदुरहरुको हडताल पुनः शुरु भयो । स्टोरको खिया परेको चावी फोरेर भित्र पसे र मजदुरहरुले फटाफट पुरानै 'प्लेकार्ड' निकाले । धुलो झारझुर पारेर मुठ्ठी कसेर नारा लगाए 'मजदुर एकता जिन्दावाद !'


(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

सन्देश (लघुकथा)



फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए ।

'आमा ! बुबा किन दसैंमा पनि घर नआ'को ?' छोराले सोध्यो ।
गहभरि आँसु पारेर आमाले भनिन् 'सानु तिम्रो बाबु शहीद हुन भो ।'
'शहिद भनेको के आमा ?' उनले धोतीको सप्कोले मुख छोपिन् ।
सानुले मसँग साध्यो 'अंकल, शहदि भनेको के हो ?'
'शहिद भनेको संसारको सबैभन्दा ठूलो मान्छे हो बाबु ।'
'मेरो बुबा ठूलो मान्छे हो अंकल ?'
'हो बाबु, सबैभन्दा ठूलो मान्छे ।' मेरो गला पनि अबरुद्ध भयो ।
'ठूलो मान्छे आफ्नो छोरालाई माया गर्दैनन् अंकल ?'
गर्छन् बाबु, आफ्नो छोरालाई मात्र होइन सबैलाई असाध्ये माया गर्छन । '
'मन्त्री अंकलभन्दा पनि ठूलो हो ?'
'हो ।'
'त्यसो भए मेरो बाबुलाई दसैंमा आउँदा मलाई लुगा ल्याइदिन भन्दिनुस् है ! मन्त्री अंकलको छोरालाई मन्त्री अंकलले के के ल्याइदिनुहुन्छ । उसले मलाई हेर्न पनि दिँदैन । कस्तो छुच्चो मान्छे ! मेरो बाबु दसैंमा आएको भए त म पनि उनीहरुले झैं पेटभरि मासुभात खान पाउथेँ नि होइन त अंकल ?'

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Friday, October 10, 2008

शहीदले बिर्सेको गाउँ (लघुकथा)


भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ ।

'आमा, भित्र को हुनुहुन्छ ?'

'छोरा आइस्, बाबू !' बुढी आमा भित्रबाट बोलिन् । असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन् । नियालेर हेरिन् । बरर आँसु झारेर भनिन् -'म त छोरो आएछ भनेर झुक्किएँ !' 'बास पाइन्छ आमा ?'

'बास किन नपाउनु आफ्नै छोराजस्तो नानीलाई ।' छाप्रो नछाएको दुई वर्ष भयो । पानी चुहिन्छ, श्राप नदिए है यो बूढीलाई मर्ने बेलामा । नानी मसँग यही बासी मकैको रोटी छ । नमिठो छ कसरी निल्छौं ? तर अलिकति भए पनि खाऊ है नानी, साँझको पाउनो, यो बूढीलाई पापमा नपार है !' 'छोरो कहाँ गएको नि आमा ?' मैले कुरा झिकेँ । 'जुलुस उठ्ने बर्षमेरो लुरे पल्ला गाउँका मास्टर नानीसँग देश गएको फर्केन नानी ! मलाई बिस्र्यो । तिम्लाई देखेर मास्टर नानीको झझल्को आयो । मास्टर नानी पनि सहराँ ठूला मान्छे भा'का छन् रे । उनी दुब्ला पातला थिए, तिमी मोटा छौं । उनी देश जन्ता के के जातिका कुरा गर्थे । उनी शीर ठाडो पारेर हिँड्थे । तिमी टाउको झुकाएर कुरा गर्र्छौ । फरक यति हो । ' म चुपचाप सुनिरहेँ, बढी आमा भन्दै गइन् । 'भोलि त तिमी सहराँ जान्छौं । मेरो लुरेलाई भेटेर मेरो खबर भने है नानी ! मर्ने बेलामा एकपल्ट लुरेको मुख हेर्ने धोको छ । मेरो लुरेले सहराँ ठूलो मान पा'को छ रे ! राजाभन्दा पनि ठूलो मान ! थाहा छ नानी, शहीद भएको छ रे मेरो छोरा ! पोहोरसालबाट महिनाको आठ बीस रुप्पे पठाइदिन्छ प्रधानपञ्च नानीको हात । लुरेका बाबु मुग्लान भासिएपछि घरबारी साहुले बन्धक खायो । त्यो निखन्न महिनाको पाँच बीस रुप्पेंले पुग्छ त नानी ? आमाको मुख हेर्न एकपल्ट त घर र्फकन पर्छ नि ! म भने बाटो हेरेर आशामा बाँचेकी छु । छाप्राको दुःख लुरेले बिर्से जस्तो छ नानी, लुरेलाई सम्झाइ दिए है ! पैसा र मानको अभिमानले आमाको आँसुको अपमान गर्‍यो भने समयले नराम्रो दण्ड दिन्छ ।'

म बिहान झिसमिसेमा ओरालो लागेँ । असी बर्षो बूढा आँखाले आफ्ना अगाडीका मास्टर नानीलाई ठम्याउन सकेनन । कठै बूढी आमा कहाँ हिजोको भूमिगत मास्टर, कहाँको आजको ठूलो पार्टीको बिशिष्ठ नेता तथा सांसद ! मलाई शहीदकी आमाको वेदनाले र सहयात्री लुरेको सम्झनाले पोलिरहृयो, बिझाइरहृयो निरन्तर निरन्तर।



(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)