Thursday, October 30, 2008

शान्ति छाएको गाऊँ (लघुकथा)


शान्ति सम्झौता स्वागतमा गरिएका ठूलाठूला झाँकी र जुलुसहरुको क्रम टुङ्गी सकेको थिएन । जताततै उत्साहका वातावरण देखिएको थियो । गाउँजान नपाएका जनता गाउँ र्फकन पाएकोमा आल्हादित थिए । सबै संसदीय पार्टी कार्यकर्ताहरु गाउँ फर्कने क्रममा थिए ।
सशस्त्र द्बण्दको सास्ती खेपेर पहिलोपल्ट उत्मुक्त श्वास फेर्न पाएका ग्रामिण भेगका जनताको यथार्थ स्थिति थाहा पाउन जनयुद्धका कमाण्डर गाउँ जाने निधो गरे । राष्ट्रसंघका प्रतिनिधि पनि साथै जाने कुरा पक्का भयो । गाउँ जाने सबै जना चढेको हेलिकप्टर डाडाखर्कको चाक्ले बारीमा धुलोको कुहिरीमण्डल पारेर उत्रियो । नेताको पूर्व आदेश अनुरुप पुराना मिलिसियाहरु हातमा फूलमाला लिएर बारीको डोरामा तैनाथ भए । पल्लावारी भरी मान्छेको कुँडुलो लागेको थियो ।
www
"कत्राकत्रा व्यारेक एक्लै उर्डाई दिन सक्थे रे ती कमाण्डरले "एकजनाले भिडमा भन्दै थियो । कतिलाई त हेरेर मात्रै पनि ठहरै पार्थे रे ती नेताले" अर्कोले तिनै नेताका बारेमा थप्यो । यसरी दन्त्यकथाका नायक बनाइएका कमाण्डर गाउँ फर्केको हर्ेन मान्छेको ठूलो भिड जम्मा भएको थियो । पत्रकारहरुको ताँतीका साथमा थुप्रै अंगरक्षक सहित कमाण्डर थाप्लेडाँडाको ओरालो लागे । ओरालोका छेवैमा झुप्रोमा एकाएक पसे त्यो हुल सहित उनी ।
www
"बसम काम्रेटहरु !" गुन्द्री आँगनतर्फ हाल्दै बुढीआमाले भनिन -"हतियार झन नौला नौला पो देखिन थालियो त ! काठमाण्डुंमा कुरा मिलेन र तपाईहरुको । रिडियाले त कुरा मिल्यो भन्थ्यो ।" ट्राईपोड सहितको ठूला भिडियो क्यामेराहरु देखेर बुढीआमाले शंका व्यक्त गरिन ।
-"कुरा मिलेकै हो आमा ! यी बन्दुक हैनन् । फोटो खिच्ने क्यामेरा हो" एउटा फुच्चे क्यामेरामेनले भन्यो ।
-"आमा गाउँमा कस्तो छ ? शान्ति भा'छ हैन त ?" कमाण्डर नेताले मख्ख पर्दै कुम उचाल्दै सोधे ।
-"असाध्यै आनन्द भा'छ अचेल । यस्तै होस बाबु । मर्ने बेलामा सुख शान्ति देखेर मर्न पाइने भो ।" बूढीआमा दाँत नभएका गीजा देखाएर मुस्कुराइन ।
-"हाम्रो पार्टीले माने शान्ति स्थापना गरेर छाड्ने भएको छ । कसैले दुःख दिएका छैनन, हैन त आमा" कमाण्डर नेताले थपे ।
"हो बाबु अब त आनन्दै भा'छ नि । अलिकमै मात्र दुःख दिन्थे यस क्षेत्रका ठुला काम्रेट, मन्त्री हुन काठमाडौं गा'छन् रे, कैलेकाँही दुःख दिने जिल्लास्तरका काम्रेट सांसद हुन उनी पनि उतै गा'छन् रे । खान र वस्न दिनुपर्छ भनेर सधैं धुरुक्कै पारेर दुःख दिने मिलिस्याहरु पनि डाँडामा वसेको क्याम्पाँ छन रे । ती कोही पनि नभएपछि हाम्रो दुख हराइहाल्यो नी ! शान्ति त आइहाल्यो नि बाबु ! आनन्द छ गाउँमा अचेल ।" बूढीआमा फेरि उसै गरी मुस्कुराइन ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

गणतन्त्रको संस्कृति (लघुकथा)


लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।
www
लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -"मैले पनि अब त्यस भू.पु.राजालाई "तँ" भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु " ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र "बिन्ति" चढायो । प्रवेश गर्न "अनुमति निगाहा" भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । "ए बले किन आईस यहाँ" । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -"मौसुफको पाऊमा दर्शन गर्न महाराज !" बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Monday, October 13, 2008

पहिलोपल्ट (कविता)


पहिलोपल्ट कसले राख्यो होला इश्वरलाई
सजाएर वजारको शोकेसमा ?
पहिलो पल्ट कुन बजारबिदले गय्रो होला
इश्वर "ब्राण्ड"को नामाकरण ?
खगोल बिज्ञान वा ज्योतिषशाश्त्रले मोडेर
"फिनिसिङ्" गरिएको इश्वरलाई हाल्न
कसले प्याकेटको डिजाइन गरे होला?
अनि पहिलोपल्ट कसले तयार पारे होला?
कुरान, वाईवल, त्रिपिटक वा पुराण जस्ता
माधक प्रचार सामग्रीहरु
लामा, पुरोहित, पादरी, मौलाना वा त्यस्तै
आक्रमक "मार्केटि‹" एजेण्टहरु
पहिलोपल्ट
कुन उत्पादकले तयार पारे होला इश्वरको
बृहद उत्पादनको "कन्भेएर वेल्ट" ?
अनि पानीजहाजमा लादे होला बिश्व बजारकालागि
पहिलोपल्ट कुन वजारशाश्त्रीले बनाए होला
कुनै भन्सारले रोक्न नसक्ने
इश्वर वितरणको यो विशाल रणनीति
पहिलोपल्ट कसले खोले होला
इश्वरको विशाल "डिपार्टमेण्टल स्टोर"
अनि नामाकरण गरे होला त्यसैलाई
मन्दिर, मस्जिद, गूम्बा वा गिर्जाघर
अब चिन्न जरुरी भैसकेको छ
ती वितेका यूगका इश्वरका थोक बिक्रेता
अर्वपति मठाधीश ब्यापारीहरुलाई
अब चिन्न जरुरी भैसकेको छ
परिभाषाहरुकै यो अन्तरमहादेशीय ब्यापारलाई
अनि ल्याउनुछ श्रम-करको अन्तराष्ट्रिय दायरामा
जीवनको संविधान भन्दा माथि कोहि हुनेछैन
आइन्दा यो हाम्रो नयाँ संसारमा


(यो मेरो नयाँ कविता हो । प्रकाशोन्मुख कविता सङ्ग्रह "अन्यथा"का लागि तयार यस कवितालाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा अनलाइन प्रकाशनमा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

साहित्यिक क्षेत्रको बायोडाटा

कुसुम ज्ञवाली
आधिकारिक नाम - फणिन्द्र ज्ञवाली
जन्म मिति - २०३०-०८-२२
जन्म स्थान - पतेल्का, रिमुवा-४, गुल्मी
इमेल - thekusum@gmail.com thekusum@yahoo.com
सम्पर्क - पोष्ट वक्स नं २३३७२, काठमाण्डौ
फोन - ५५४३६७० (आवास), ९८५१०७७३९६ (मोवाईल)

शिक्षा - स्नातक - भौतिकशाश्त्र (वि.एस्सी.), बि.सं २०५२, अस्कल क्याम्पस लैनचौर
- यन्त्रशाश्त्र, (वि.इ.) मेकानिकल, (प्रथमश्रेणी ७६.३%), बि.सं २०५७ ईन्जिनीएरिड्ग अध्ययन संस्थान पुल्चोक ईन्जीनिएरीङ्ग क्याम्पस
स्नातकोत्तर - नवीकरणीय उर्जा इञ्जिनिएरिङ् (एम.इ., विशिष्ठ श्रेणी ८८.७%), बि.सं २०६१ ईन्जिनीएरिड्ग अध्ययन संस्थान पुल्चोक ईन्जीनिएरीङ्ग क्याम्पस

पेशा - इञ्जिनिएरिङ् (लाईसेन्स नं २४७ "क" वर्ग), परामर्षदाता, प्राध्यापन, लेखन
इञ्जिनिएर, नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय, काठमाण्डौ
परामर्षदाता, एड इञ्जिनिएरिङ् कन्सल्टेन्सी, ललितपुर
प्राध्यापन, - हिमालय कलेज अफ इञ्जिनिएरिङ्, कालोपुल

पहिलो प्रकासन - आँखा, (छन्द कविता) २०४२
- सहिदले बिर्सेको गाऊँ, (लघूकथा सङ्ग्रह) २०६०, विवेक सृजनशील प्रकासन
- बेसिक कन्सेप्ट अफ इञ्जिनिएरिङ ड्रइङ् (स्नातकतह पाठ्यपुस्तक), २०५९, नेइ प्रकाशन, कुपण्डोल

सम्पादन/प्रकाशन
- सम्पादक, लघुकथा डट कम, अनलाइन साहित्यिक दैनिक प्रकासन
- सम्पादक, शब्द संयोजन, साहित्यिक मासिक प्रकासन
- कार्यकारी सम्पादक, ज्योति, साहित्यिक द्वैमासिक प्रकासन
- सम्पादक, विद्यूत सन्देश, अर्धबार्षिक म्यागाजीन
- कार्यक्रम संयोजक, पारिजात काब्ययात्रा तथा साहित्यसूधा (आइतबार र शुक्रबार राति ९.१५ बजे), नेपाल यफ.यम. ९१.८ मेगाहर्ज, रवीभवन
- कार्यक्रम संयोजक, सृजनाका स्वरहरु, रेडियो नमोबूद्ध यफ यम १०६.७ मेगाहर्ज (शुक्रबार बिहान ९‌‌,०० बजे) धुलिखेल

पूरस्कार
- प्रथम राष्ट्रिय खुल्ला लघूकथा प्रतियोगीता, २०५४, रेयुकाई नेपाल (द्वितीय)
- राष्ट्रिय खुल्ला कथा प्रतियोगीता, २०५६, पेन नेपाल (प्रथम)
- अन्तर क्याम्पस कविता प्रतियोगीता, २०५६, स्ववियू, पाटन संयूक्त क्याम्पस (प्रथम)
- अन्तर क्याम्पस वतृत्वकला प्रतियोगीता, २०५६, स्ववियू, पाटन संयूक्त क्याम्पस (प्रथम)
- प्रतियोगीतात्मक कवि गोष्ठी २०५७, झापा काठमाण्डौ सम्पर्क मञ्च (तृतीय)
- राष्ट्रिय खुल्ला कविता प्रतियोगीता, २०५८, साथी (द्वितीय)
- भानुमोति काव्य महोत्सव, २०५८, सिताराम साहित्य प्रतिष्ठान (प्रथम)
- राष्ट्रिय कविता प्रतियोगीता, २०६०, विद्युतकर्मी साहित्यिक समाज (प्रथम)

सम्मान - यूवा प्राविधिक स्रष्टा सम्मान २०६१ इञ्जिनिएरिङ् साहित्यिक समाज
- सुप्रभात काब्य सम्मान २०६५ नागार्जुन साहित्यिक प्रतिष्ठान

भाषा - नेपाली (मातृभाषा),
- अङ्ग्रेजी, हिन्दी, संस्कृत

तालिम - डिप्लोमा इन जर्नालिजम्, २०५२, नेपाल प्रेस इष्टीच्यूट

साहित्यिक सम्प्रति
- सचिव, साहित्य सन्ध्या नेपाल
- केन्द्रिय सदस्य, प्रगतिशिल लेखक सङ्घ
- सदश्य, विद्युतकर्मी साहित्यिक समाज
- कोशाध्यक्ष, स्रष्टा चैत्र ३०
- आजीवन सदस्य, नागार्जून साहित्यिक समाज

Sunday, October 12, 2008

भगवान (लघुकथा)


सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो - पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ?
भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो ।
गजल रेस्टुरेन्टमा '........... पिछे क्या हे' भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । 'किन लजाको सन्ते ?' हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्‍यो 'म बिखर्ची भएँ राजा ! बिहानदेखि केही खान पाएकै छैन '
'तैँले बियर पनि खान पाइनस - हिक्क ! हिक्क !!'
'एक गाँस पनि खान पाइनँ हजुर !'
'ला, खा ! भोड्का खा' उसले पचास रुपैयाँको नोट निकालेर दियो । सन्तेले निष्कर्ष निकाल्यो - 'मन्दिरमा भन्दा भगवान् त बरु भट्टीमा पो हुँदा रहेछन् आजकल । ए भगवान पनि यता सरेछन् अचेल '

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

ठूलो मान्छेको रोग (लघुकथा)


'बाबा ! हाम्री मालिक्नी सा'बले हाम्री आमाले झैं भात पकाउनु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो काम गर्छन् कहीँ '
'बाबा ! मालिक्नी सा'बले तपाईलेझैं कारखानामा काम गर्नु हुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि यस्तो मजदुरी गर्छन् त'
'बाबा ' मालिक्नी सा'बले हाम्रो दाइलेझैँ स्कूलमा पढाउनुहुन्छ ?'
'धत् लाटी ! ठूलो मान्छेले पनि त्यस्तो जाबो मास्टरी गर्न हुन्छ कहीँ '
'त्यसो भए रातो गाडी, ठूलो पाँचतल्ले घर र त्यत्तिका पैसा कसरी पाउनुहुन्छ त बाबा ?'
'उहाँ समाजसेवा गर्नुहुन्छ । अनि 'बिजनेश' गर्नुहुन्छ, ठूला-ठूला चीजको ।'
  
'हेलो !'
'हेलो ! सपनालाई पाउँ न ।'
'उहाँ बाहिर पाल्नुभा'छ । आधा घण्टा पछि पाल्नुहुन्छ । केही भन्नु पर्ने भए मर्जीहोस् । म यहाँको पाले ।'
'ए उही पुरानै ठाउँमा आउनु भन्नु, म त्यहीँ कालो गाडी पठाइदिन्छु ।'
  
मालिक्नीलाई अब कहिल्यै निको नहुने रोग लागेर हस्पिटलले पनि निकालिदियो भन्ने सुनियो ।
'बुवा ! मालिक्नी साहेबलाई कस्तो रोग लागेको ?'
'छोरी ! तिमीले बुझदिनौ, ठूलो मान्छेलाई ठूलो रोग लाग्छ क्या !'



(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

एकता नगर (लघुकथा)


ढुङ्गे युगमा पशुपंक्षी, मानव सबैको आपसमा खुबै झगडा परिरहन्थ्यो, एक-अर्कोबीच मारामार परिहन्थ्यो ।
मान्छेको बस्ती देखेपछि जनावर डराउँथे, बाघहरुको ओडार देखिपछि मान्छे डराउँथे । एक-अर्काबीचमा सधैँ तनाव भइरहन्थ्यो ।
यसरी एकै जङ्गलमा तनाबीच बाँच्नुपर्दा सबैलाई दिक्क लागेको थियो । बाघले प्रस्ताव राख्यो 'कस्ले कसैलाई भेदभाव नगरौँ, के कुकुर, के भेँडा, के घोडा सबै मिलेर बसौं, तेरो-मेरोको विभाजन नगरौं, मारामार नगरौं ।
सबैको मत मिल्यो । सबैले नयाँ नगर बनाए । उक्त एकता नगरमा हात्तिले ठूलाठूला रुख ओसारेर ल्यो । बाघले नङ्ग्राले कलात्मक बुट्टा हाल्यो । यसरी आ-आफूले जानेको काम गरेर एउटा सुन्दर नगर बन्यो । उक्त नगरको काम सबैले मिलिजुली गर्न थाले ।
मान्छेले अन्न उत्पादनमा ध्यान दियो । बाघले पशुपालनमा जोड दियो । यसरी मांसहारीले प्रशस्त पशुहरुलाई खाँदा ती पशुभित्र असन्तुष्टि देखा पर्दै गयो । तर आफ्ना कारणले एकता नगर नभत्कोस् भनेर कोही बोलेनन् ।
प्रशस्त खेतीको सम्भावना बढेपछि मान्छेले एकता नगरको अझ उन्नतिका लागि भनेर मतसङ्ग्रहको नाटक रचेर पुनः नगरमा विभाजनको रेखा कोर्‍यो ।
आज नगर उस्तै भताभुङ्ग र लथालिङ्ग भएको छ । तर पनि मांसहारी र शाकाहारी प्राणी बीचमा एकताका कुरा अझै पनि ती मान्छेहरु नै गर्दैछन् ।

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

नाता (लघुकथा)


'एक्सक्यूजमी !' 'ओवर हेड क्रसिङ्ग ब्रिज' मुनी धमिलो उज्यालोमा कुनै नारी स्वरले म टक्क उभिएँ । 'जाने हो ?' उसले सोधी । मैले 'हो' भनेँ । 'होटल कि कोठा ?'
'कोठा ....... । पूरै रातको एक हजार हुन्छ ?'
ऊ मसँगसँगै गई । अँध्यारो थियो, त्यति राम्ररी चिनिदैन थियो । रातिको खाली सडकमा हुइकिँदा ट्याक्सीमा बानेश्वर पुग्न कतिबेर लाग्थ्यो र ?
घरबेटीको डरले मैले सुस्त गेट खोलेँ बत्ती नबालिकन तल्लो तलाको मेरो कोठामा छिरेँ । ऊ पनि मेरो हात समातेर उभिइरहेकी थिइ । मैले मधुरो बत्ती बालेँ । रानीपोखरीबीचको जमलेश्वरको मन्दिरमा तिहारमा टीका लगाइदिँदा खिचेको फोटो मुनी उही चेहरा उभिएको थियो ! पूर्णतया नग्न अवस्थामा ।


(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

अबिराम श्रङ्खला (लघुकथा)


सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले । सबै आक्रोसित मजदुरहातहरु कसिला मुठ्ठी र 'प्लेकार्ड' होल्डरमा बदलिए ।सरकारी प्रतिनिधिको मध्यस्थतामा सम्झौता भयो । सबै 'प्लेकार्ड'हरु स्टोरमा थन्काइए ।
मजदुर साथीहरुले भन्दा व्यवस्थापनले उनको प्रशंसा ज्यादा गर्न थाल्यो । उनी एक-दुई-तीन-चार-पाँच गर्दै घरका छतहरुसँगै अग्लिँदै गए । उनको सिमेन्ट कारखाना टाट उल्टिने भयो, लिलाम गरियो । अनि आफैंले कारखाना किने ।
नयाँ कुल्लीहरु, मजदुरहरु आए, पाले नयाँ आयो । समस्या पनि नयाँ आए । इन्जिनियर पनि नयाँ आए । मजदुरहरुको हडताल पुनः शुरु भयो । स्टोरको खिया परेको चावी फोरेर भित्र पसे र मजदुरहरुले फटाफट पुरानै 'प्लेकार्ड' निकाले । धुलो झारझुर पारेर मुठ्ठी कसेर नारा लगाए 'मजदुर एकता जिन्दावाद !'


(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

सन्देश (लघुकथा)



फूलपातीको दिन म घर पुगेँ । पुग्नासाथ मेरा बालसखा शर्माको घर पुगेँ । विधवा श्रीमती र ५-६ वर्षो छोरो नफर्किने पति/पिताको आगमन पर्खेझैँ बसेको थिए ।

'आमा ! बुबा किन दसैंमा पनि घर नआ'को ?' छोराले सोध्यो ।
गहभरि आँसु पारेर आमाले भनिन् 'सानु तिम्रो बाबु शहीद हुन भो ।'
'शहिद भनेको के आमा ?' उनले धोतीको सप्कोले मुख छोपिन् ।
सानुले मसँग साध्यो 'अंकल, शहदि भनेको के हो ?'
'शहिद भनेको संसारको सबैभन्दा ठूलो मान्छे हो बाबु ।'
'मेरो बुबा ठूलो मान्छे हो अंकल ?'
'हो बाबु, सबैभन्दा ठूलो मान्छे ।' मेरो गला पनि अबरुद्ध भयो ।
'ठूलो मान्छे आफ्नो छोरालाई माया गर्दैनन् अंकल ?'
गर्छन् बाबु, आफ्नो छोरालाई मात्र होइन सबैलाई असाध्ये माया गर्छन । '
'मन्त्री अंकलभन्दा पनि ठूलो हो ?'
'हो ।'
'त्यसो भए मेरो बाबुलाई दसैंमा आउँदा मलाई लुगा ल्याइदिन भन्दिनुस् है ! मन्त्री अंकलको छोरालाई मन्त्री अंकलले के के ल्याइदिनुहुन्छ । उसले मलाई हेर्न पनि दिँदैन । कस्तो छुच्चो मान्छे ! मेरो बाबु दसैंमा आएको भए त म पनि उनीहरुले झैं पेटभरि मासुभात खान पाउथेँ नि होइन त अंकल ?'

(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

Friday, October 10, 2008

शहीदले बिर्सेको गाउँ (लघुकथा)


भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ ।

'आमा, भित्र को हुनुहुन्छ ?'

'छोरा आइस्, बाबू !' बुढी आमा भित्रबाट बोलिन् । असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन् । नियालेर हेरिन् । बरर आँसु झारेर भनिन् -'म त छोरो आएछ भनेर झुक्किएँ !' 'बास पाइन्छ आमा ?'

'बास किन नपाउनु आफ्नै छोराजस्तो नानीलाई ।' छाप्रो नछाएको दुई वर्ष भयो । पानी चुहिन्छ, श्राप नदिए है यो बूढीलाई मर्ने बेलामा । नानी मसँग यही बासी मकैको रोटी छ । नमिठो छ कसरी निल्छौं ? तर अलिकति भए पनि खाऊ है नानी, साँझको पाउनो, यो बूढीलाई पापमा नपार है !' 'छोरो कहाँ गएको नि आमा ?' मैले कुरा झिकेँ । 'जुलुस उठ्ने बर्षमेरो लुरे पल्ला गाउँका मास्टर नानीसँग देश गएको फर्केन नानी ! मलाई बिस्र्यो । तिम्लाई देखेर मास्टर नानीको झझल्को आयो । मास्टर नानी पनि सहराँ ठूला मान्छे भा'का छन् रे । उनी दुब्ला पातला थिए, तिमी मोटा छौं । उनी देश जन्ता के के जातिका कुरा गर्थे । उनी शीर ठाडो पारेर हिँड्थे । तिमी टाउको झुकाएर कुरा गर्र्छौ । फरक यति हो । ' म चुपचाप सुनिरहेँ, बढी आमा भन्दै गइन् । 'भोलि त तिमी सहराँ जान्छौं । मेरो लुरेलाई भेटेर मेरो खबर भने है नानी ! मर्ने बेलामा एकपल्ट लुरेको मुख हेर्ने धोको छ । मेरो लुरेले सहराँ ठूलो मान पा'को छ रे ! राजाभन्दा पनि ठूलो मान ! थाहा छ नानी, शहीद भएको छ रे मेरो छोरा ! पोहोरसालबाट महिनाको आठ बीस रुप्पे पठाइदिन्छ प्रधानपञ्च नानीको हात । लुरेका बाबु मुग्लान भासिएपछि घरबारी साहुले बन्धक खायो । त्यो निखन्न महिनाको पाँच बीस रुप्पेंले पुग्छ त नानी ? आमाको मुख हेर्न एकपल्ट त घर र्फकन पर्छ नि ! म भने बाटो हेरेर आशामा बाँचेकी छु । छाप्राको दुःख लुरेले बिर्से जस्तो छ नानी, लुरेलाई सम्झाइ दिए है ! पैसा र मानको अभिमानले आमाको आँसुको अपमान गर्‍यो भने समयले नराम्रो दण्ड दिन्छ ।'

म बिहान झिसमिसेमा ओरालो लागेँ । असी बर्षो बूढा आँखाले आफ्ना अगाडीका मास्टर नानीलाई ठम्याउन सकेनन । कठै बूढी आमा कहाँ हिजोको भूमिगत मास्टर, कहाँको आजको ठूलो पार्टीको बिशिष्ठ नेता तथा सांसद ! मलाई शहीदकी आमाको वेदनाले र सहयात्री लुरेको सम्झनाले पोलिरहृयो, बिझाइरहृयो निरन्तर निरन्तर।



(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)