Friday, November 7, 2008

अन्धविद्रोह (लघुकथा)


ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो। उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो। उसले गरुड पुराण र भागवत पुराण सुन्यो। अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्‍यो, देवी, महाकाली, सरस्वती, सीता, राधा, लक्ष्मी आदि आदि।

उसको उमेरसँगै रुचीहरु फेरिए। उसले भानुभक्त पढ्यो, लेखनाथ पढ्यो, देवकोटा पढ्यो, भूपी पढ्यो र पारीतात पढ्यो। उसले आमा पढ्यो र युवाहरुको गीता पनि पढ्यो। उसको कलाले नौलो मोड लियो। उसका चित्रकलामा पुन देवीका आकृति देखापरे तर मुहारमा भने आमाको छवि थियो। सयौं सरस्वतीका चित्रहरु पुन कोर्‍यो। ती चित्रमा दिदीका छविहरु उतार्‍यो। उसले कोरेका राधा र सीताका चित्रहरुमा उसका प्रेमीका आकृति लेख्यो। उसका चित्रहरुमा नौलो आयाम थपियो। ख्याति चुलिदै गयो। उसले मान सम्मानहरु पनि पाउँदै गयो। उसका कलाहरुले ठूलो मूल्य पाउन थाल्यो।

उसलाई डि.भि.पर्‍यो। उसले इसाई धर्म मान्ने निर्णय गर्‍यो। सम्पूर्ण हिन्दु पुस्तकहरु जलायो र वाइवल पढ्न थाल्यो। क्रमश आफ्ना कलाकृतिहरु पनि नष्ट गर्दै गयो। जलाउँदै गयो देवीका सरस्वती र दुर्गाका तस्वीरहरु। उसले दिदीको छवि भएका सरस्वतीका तस्वीर जलायो। प्रेयशीका छवि भएका सीताका तस्वीरहरु पनि जलायो।

आज हवाइजहाज चढ्ने दिन। उसले आमाका छवि भएका सरस्वतीका तस्वीरहरुका बाँकी अन्तिम पत्रहरु जलाउँदैछ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

No comments: