Sunday, October 12, 2008

अबिराम श्रङ्खला (लघुकथा)


सान्दाइ अति नै प्रतिभाशाली व्यक्ति हुन् भन्ने कुरा उनका हरेक परीक्षाफलहरुले बताउँदछन् । सिमेन्ट कारखानामा इन्जिनियर भएर गएपछि उनी सबैका आँखाका नानी भए । कुल्ली, पाले र तल्लो तहका श्रमिकको वेदना र पिरलोलाई लिएर सान्दाइले आन्दोलनको नेतृत्व सम्हाले । सबै आक्रोसित मजदुरहातहरु कसिला मुठ्ठी र 'प्लेकार्ड' होल्डरमा बदलिए ।सरकारी प्रतिनिधिको मध्यस्थतामा सम्झौता भयो । सबै 'प्लेकार्ड'हरु स्टोरमा थन्काइए ।
मजदुर साथीहरुले भन्दा व्यवस्थापनले उनको प्रशंसा ज्यादा गर्न थाल्यो । उनी एक-दुई-तीन-चार-पाँच गर्दै घरका छतहरुसँगै अग्लिँदै गए । उनको सिमेन्ट कारखाना टाट उल्टिने भयो, लिलाम गरियो । अनि आफैंले कारखाना किने ।
नयाँ कुल्लीहरु, मजदुरहरु आए, पाले नयाँ आयो । समस्या पनि नयाँ आए । इन्जिनियर पनि नयाँ आए । मजदुरहरुको हडताल पुनः शुरु भयो । स्टोरको खिया परेको चावी फोरेर भित्र पसे र मजदुरहरुले फटाफट पुरानै 'प्लेकार्ड' निकाले । धुलो झारझुर पारेर मुठ्ठी कसेर नारा लगाए 'मजदुर एकता जिन्दावाद !'


(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" नामक मेरो पहिलो लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

No comments: