Thursday, October 30, 2008

गणतन्त्रको संस्कृति (लघुकथा)


लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।
www
लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -"मैले पनि अब त्यस भू.पु.राजालाई "तँ" भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु " ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र "बिन्ति" चढायो । प्रवेश गर्न "अनुमति निगाहा" भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । "ए बले किन आईस यहाँ" । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -"मौसुफको पाऊमा दर्शन गर्न महाराज !" बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।

(यो मेरो नयाँ लघुकथा हो । यो लघुकथा प्रकाशोन्मुख मेरो दोस्रो लघुकथा सङ्ग्रहकालागि तयार गरिएको हो ।यसलाइ कसैले प्रकाशित गर्नुपरे लेखकको अनुमति लिनुपर्दैन तर प्रकाशित गरेको वा कपी-पेष्ट गरेको बारे मेरो इमेल thekusum@gmail.com मा जानकारी दिन चाहिँ नभुल्नु होला -कुसुम ज्ञवाली)

No comments: